सुनसरी । डिजेबाजा विवादले निम्तिएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्युपछि अशान्त बनेको सुनसरी कप्तानगन्जमा सामाजिक एकता कायम गर्न सर्वपक्षीय आह्वान भएको छ । जिल्लास्थित सर्वदलीय र सर्वपक्षीय बैठकदेखि राष्ट्रिय मानव अधिकार आयोग र दलका शीर्ष नेताहरूले सामाजिक सद्भाव भड्किन नदिन अपिल गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको छ । त्यस्तै, घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयबाट गठन भएको छानबिन समितिलाई सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काले सामाजिक सद्भाव र शान्तिसुरक्षा कायम गर्नका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय भएको बताए । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगले शान्तिसुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । सरकारले कोशी प्रदेश प्रहरी प्रमुखदेखि सुनसरी सिडिओ र प्रहरी प्रमुखसम्मको सरुवा गरेर नयाँलाई जिम्मेवारी दिएको छ ।
आइतबार साँझ डिजेबाजा विवादमा देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्ज नयाँबजार क्षेत्रमा झडप निम्तिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज– ४ का युवक ओमप्रकाश मेहताको ज्यान गएको थियो भने २४ घाइते भएका थिए । घाइते हुनेमा नौजना युवा, १० प्रहरी र ५ सशस्त्र प्रहरीका छन् ।
परिस्थिति थप भड्किन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज र हरिनगराका सीमावर्ती बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लंघन र तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन सोमबार अपराह्नबाट नेपाली सेनासहित अतिरिक्त सुरक्षा बल परिचालन भएको छ ।
कप्तानगन्जका युवाहरू डिजेबाजागाजासहित साउने सोमबार बिहानै कोशी ब्यारेजबाट जल ल्याएर स्थानीय शिव मन्दिरमा चढाएर पूजाको तयारीमा थिए । त्यसका लागि उनीहरूले आइतबार साँझ एउटा पिकअप भ्यानमा डिजेबाजासहितको टोली तयार गरेका थिए । ब्यारेजतर्फ बोलबम यात्रा निकाल्नुअघि राति ८ बजेतिर केही युवा मन्दिरमा पूजा गर्न लागेका थिए । केही युवा बाहिर डिजेबाजाको गीतमा नाचगान गर्दै थिए । त्यहीवेला करिब तीन मिनेटको दूरीमा रहेको अर्को बस्तीबाट आएका २०–३० जनाको समूहले ‘हाम्र्रो टोलतिर फर्काएर किन डिजे बजाएर होहल्ला गरेको रु’ भन्दै विवाद गरेका थिए । उनीहरूले डिजेबाजा राखेको गाडीमा तोडफोड प्रयास पनि गरेका थिए । त्यसपछि दुवैतर्फ ठुलो होहल्ला भएको थियो ।
नजिक प्रहरी नहुँदा र सुरक्षाकर्मी आउँदासम्म झडपको अवस्था निम्तिसकेको थियो । केही पसलमा तोडफोड र आगजनीका भइसकेको थियो । मोटरसाइकल पनि जलाइएका थिए । स्थिति उग्र बनेपछि देवानगन्ज इलाका प्रहरी र नजिकै रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बेसक्याम्पबाट आएको टोलीले हवाई फायर गरेर भिडलाई तितरबितर पारेको थियो ।
राति ९ बजेतिर लोडसेडिङ भएपछि गोली चलेको थियो । घटना हुँदा सुनसरीका सिडिओ रहेका सहसचिव वासुदेव घिमिरेले झडपको स्थिति नियन्त्रणमा लिनेक्रममा कसैले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफमा प्रहरीले गोली चलाउनुपरेको बताए । उनले गोली चलाउने आदेश कसले दियो र फिल्डमा कसरी गोली चल्यो भन्नेबारे जानकारी नभएको बताए । ‘पब्लिकबाट गोली चलेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको रहेछ, गोली नेपाल प्रहरीले कि सशस्त्र प्रहरीले चलायो भन्ने जानकारी भइसकेको छैन,’ उनले भने ।
देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवले एसपी र सिडिओको आदेशविना गोली चल्न नसक्ने बताए । ‘आदेश नदिईकन तलको प्रहरीले गोली नै चलाउँदैन । यसैले सिडिओ र एसपी नै दोषी छन् । उनीहरूलाई निलम्बन गर्नुपर्छ । भिडलाई नियन्त्रण गर्ने धेरै उपाय थिए । तर, प्रहरीले न त लाठीचार्ज गर्यो न त अश्रुग्यास नै हान्यो । खालि २५ राउन्ड अन्धाधुन्ध गोली हान्यो । यो दुःखद घटना हो । मृतकलाई क्षतिपूर्ति र घाइतेको पूर्ण उपचार हुनुपर्छ,’ उनले भने ।
घटनाको सूचना पाएपछि आइतबार राति नै घटनास्थल पुगेर अवस्था बुझेका र विराटनगरका अस्पतालमा उपचाररत घाइतेको अवस्था बुझेका सुनसरी ३ बाट निर्वाचित रास्वपा सांसद लालविक्रम थापाले प्रहरीले हतारमा अन्धाधुन्ध गोली चलाउँदा घटना भएको बताए । ‘सुरक्षा नेतृत्वलाई तत्काल निलम्बन गरेर मात्र छानबिन अगाडि बढाउनुपर्छ,’ उनले भने ।
दुई दिन शोकबिदा
एक युवाको मृत्यु भएपछि देवानगन्ज गाउँपालिकामा दुई दिन शोकबिदा दिइएको छ । गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार गाउँपालिकाअन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाबाहेकका अन्य आवश्यक कार्यालयमा शोकबिदा दिने निर्णय गरिएको बताए ।
आइतबार घटना हुँदा सुनसरी प्रहरी प्रमुख केशवकुमार थेबे बिदामा थिए । उनी चार दिनदेखि बिदामा भएकाले जिल्लाको सुरक्षा कमान्ड डिएसपी चन्द्रबहादुर खड्काले सम्हालेका थिए । त्यस्तै, सशस्त्र प्रहरी सुनसरी– ४ नम्बर गणका गणपति एसपी श्यामकुमार कार्कीसहित केही बेसक्याम्पका कमान्डर पनि गृहमन्त्री सुधन गुरुङको स्थलगत भ्रमणपछि तस्करी विवादमा ३० असारमा छानबिनका लागि हेडक्वार्टर तानिएका थिए । केही दिन अघिदेखि नै कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे पनि बिदामा थिए । डिआइजी घिमिरेको नेतृत्व एसएपी योगेन्द्रसिंह थापाले सम्हालेका थिए ।
डिआइजीदेखि डिएसपीसम्म हटाएर छानबिन समिति गठन
सुनसरी घटनाबारे गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीको प्रदेश प्रमुखदेखि जिल्ला प्रमुखसम्म हटाएर छानबिन समिति गठन गरेको छ । सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठन गरिएको पाँच सदस्यीय समितिमा सुरक्षा निकायका प्रतिनिधि छन् । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको गृह मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।
गृहले कोशीका डिआइजी विनोद घिमिरेको सरुवा गरी त्यहाँ प्रहरी प्रधान कार्यालयका शेखर खनाललाई खटाएको छ । त्यस्तै, सुनसरीका सिडिओ वासुदेव घिमिरेलाई गृह मन्त्रालयमा तानेर संखुवासभामा कार्यरत सहसचिव ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ । नेपाल प्रहरीका एसपी केशव थेबेको स्थानमा एसपी पुष्पराज मल्ललाई खटाइएको गृह मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई सुनसरीमा जिम्मेवारी दिइएको छ । यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक ९डिएसपी० नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डिएसपी मदन नाथलाई पठाएको छ ।
सुनसरी घटना र आगामी चुनौतीबारे छलफल गर्न सोमबार साँझ केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बसेको थियो । बैठकमा आगामी दिनमा यस्ता घटना नदोहोरिने गरी सुरक्षाकर्मी परिचालन गर्नुपर्ने विषयमा छलफल भएको एक अधिकारीले बताए ।
शान्तिसुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन
सुनसरी घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पनि सूक्ष्म अनुसन्धान थालेको छ । आयोगले सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान गर्दै शान्तिसुरक्षालाई मजबुत बनाउन निर्देशन पनि दिएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै आयोगले अनुसन्धान गरी दोषी पत्ता लगाउन भनेको छ । ‘उक्त घटनापश्चात् सुनसरीमा देखापरेको कमजोर शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘साथै, शान्तिपूर्ण रूपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन आयोग राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवं सर्वसाधारणलाई अनुरोध गर्दछ ।’
प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३ ११:१५