काठमाडौं । प्रतिनिधिसभामा पुगनपुग दुई तिहाइ बहुमत पाएको रास्वपाबाट सभामुख बनेका डोलप्रसाद अर्यालमाथि पदीय भूमिका बिर्सेको आरोप सामान्यजस्तै भइसकेको छ।
सभामुखका रुपमा निष्पक्ष कामभन्दा पनि रास्वपाका उपसभापतिकै मानसिकतामा अर्यालले काम गरेको आरोप विपक्षी दलहरुले खुलमखुल्ला लगाउँदै आएका छन्।
मिडिया, सामाजिक सञ्जाल हुँदै संसद बैठक र रोष्ट्रमबाटै सभामुखको भूमिकाप्रति आक्रोश पोख्नु सामान्य जस्तै भइसकेको छ। तर, सोमबार अर्याल एकाएक भिन्न रुपमा प्रस्तुत भए। रास्वपा सभापति रवि लामिछाने उपस्थित भएको संसद बैठकमा उनले सरकारलाई जावफदेही बनाउने विपक्षीको अपेक्षाअनुसारका निर्णय सुनाए।
रुलिङ एक: पंसदका प्रश्न उत्तरमा प्रधानमन्त्रीले सहभागि हुनु
विपक्षी दलहरुले संसद सुरु भएदेखि नै निरन्तर उठाउँदै आएको माग अर्यालले पूरा गरिदिए।
विपक्षीले प्रतिनिधिसभा नियमावलीको पालना गराउन रुलिङ हुनुपर्ने माग राखेर प्रत्येक दिन संसद अवरोध गरे पनि उनले सुनेको नसुन्यै गरेर टार्दै आएका थिए। सोमबार सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा सांसदले सोधेका प्रश्नोत्तरमा सहभागी हुन रुलिङ गरे।
प्रतिनिधिसभामा नियमावली २०८३ ले प्रत्येक महिनाको पहिलो हप्ताको पहिलो दिन प्रधानमन्त्री संसदमा प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुनुपर्ने व्यवस्था छ। त्यसको कार्यान्वयनका माग गर्दै विपक्षी दलहरुले संसदमा आन्दोलन गरे पनि सभामुख अर्यालले दबाउँदै आएका थिए।
भदौ महिनाको पहिलो दिनमै अर्यालले भने, ‘नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’
तीन महिनादेखि विपक्षीहरुले उठाउँदै आएको माग अर्यालले पूरा गरिदिए पनि विपक्षीका सांसदहरुले पत्याउन सकेनन्। रुलिङ भएपछि विपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृतिका अधिकांश सांसद बसे पनि सांसद अर्जुन नरसिंह केसी र पद्या अर्याल भने अलमलिएका थिए। अरु सांसदले हाम्रो माग अनुसार रुलिङ भयो अब बसौँ भनेर सम्झाएपछि मात्रै केसी र अर्याल आफ्नो कुर्सीमा बसेका थिए।
नियम ५६ मा प्रधानमन्त्री हरेक महिनाको पहिलो हप्ताको एक दिन संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने व्यवस्था छ।
चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले संसदलाई निरन्तर हेप्दै आएका थिए। जेठ १७ गते आकस्मिक रुपमा सदनमा उपस्थित भएर नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएका दिएका शाहलाई त्यसपछि पनि सदनप्रति जवाफदेही बनाउन सकिएको थिएन।
प्रधानमन्त्रीलाई सदनमा ल्याउन अर्याल तीनपटक उनलाई निम्तो दिन सिंहदरबारस्थित कार्यकक्षमै पुगेका थिए। सभामुखको सचिवालयका अनुसार उनले जेठ ७ गते, साउन १३ गते र साउन २६ गते प्रधानमन्त्री शाहलाई भेटर सदनमा आउन आग्रह गरेका थिए।
रुलिङ दुईः तीन दिनभित्र सरकारलाई जवाफ दिन निर्देशन
सभामुख अर्यालले सोबार नै अर्को महत्वपूर्ण विषयमा सरकारलाई रुलिङ गरे। विदेशमा कामको सिलसिलामा मृत्यु भएका नागरिकहरुको शव ल्याउन ढिलाइ भएको बारे उनले तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिए।
अघिल्ला बैठकमा सरकारका काम कारबाहीप्रति सांसदले आवाज उठाउँदा सुनेको नसुन्यै गरेका सभामुख अर्यालले सोमबार रास्वपा सांसद आशिका तामाङ र नेकपाका गोपाल शर्माले ध्यानाकर्षण गराउनेबित्तिकै तीन दिनभित्र जवाफ दिन भनेका हुन्।
सांसद शर्माले जाजरकोट भूकम्पबाट पीडित रुकुम, जाजरकोट र सल्यान लगायतका क्षेत्रका नागरिकप्रति सरकार जिम्मेवार नभएको बताएका थिए। उनले भने, ‘गत २२ गते मैले सरकारलाई ९ दिनको अल्टिमेटम दिएर कम्तिमा जवाफ देओस् भनेर जवाफ खोजेको थिएँ सभामुख महोदय ! सल्यान, रुकुमका सांसदहरु, जाजरकोट समेतका जनप्रतिनिधिको हिसाबले मैले साझा आवाज बोलेको हुँ। तर अहिलेसम्म त्यसको जवाफ नआएको हुनाले म घटनाहरुप्रति, पछिल्ला घटनाहरुप्रति संवेदनशील भएर अलिकति पुनर्विचार गरेर अहिले बोलेको हुँ सभामुख महोदय। सभामुखको तत्काल यसबारे समय तोकेर रुलिङ जाओस्।’
त्यस्तै सांसद तामाङले धादिङका सन्तोष रायको शव कम्बोडियाबाट नेपाल ल्याउन नसकेको भन्दै आक्रोश पोखेकी थिइन्।
‘मलाई लाग्थ्यो, सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ। तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोकाढोकामा धाएर कहिलेसम्म हिँड्ने सभामुख महोदय ! उनले भनिन्, ‘यो कस्तो विधिको शासन हो सभामुख महोदय ! कि त विदेशमा अलपत्र परी मरेका जति यो देशको नागरिक होइन भनेर सभामुख महोदयले, यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरुन्त लाश झिकाउनु पर्यो।’
रुलिङ तीनः संसद दुरुपयोगमा खरेललाई रोक
सभामुख अर्यालले सोमबार नै संसदको महत्वपूर्ण समय पार्टीको प्रचारमा प्रयोग गर्ने रास्वपा सांसद सुलभ खरेललाई रोके। आकस्मिक समयमा पार्टीले उम्मेदवार चयनका लागि काम सुरु गरेको बताएका खरेललाई अर्यालले अप्रासंगिक कुरा गरेको भन्दै बीचमै रोके।
खरेलले भनेका थिए, ‘देशभरिबाट योग्य, विज्ञ, ऊर्जाशील युवाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको अब अबको दिनमा हुँदै गरेको स्थानीय तहको चुनाव र प्रदेशको चुनावमा उम्मेद्वारीको छनोट र मनोनयनको लागि भनेर आफ्नो पार्टीले क्यानडिडेट क्लब चलाउँदै छ। त्यसका लागि म पार्टीलाई धन्यवाद दिन चाहन्छु।’
सभामुख अर्यालले उनलाई रोक्दै भने, ‘माननीय सदस्यले आकस्मिक समय माग्नुभएको थियो। त्यसकारणले माननीय सदस्यको यो विषय कहिँ पनि आकस्मिक देखिँदैन। त्यसकारणले बसौँ माननीय सदस्य। बसौँ।’
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३ १७:२८