रसुवा । बाढी पूर्वानुमान महाशाखाले चिनियाँ पक्षबाट प्राप्त सूचना उद्धृत गर्दै थुनिएको नदीमा अचानक बाँध फुट्दा यो बाढी आएको जनाएको छ।
नदी थुनिएको ठाउँमा अझै केही भाग खुल्न बाँकी रहेकाले भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायम रहेको पनि महाशाखाले उल्लेख गरेको छ।
आज (बुधबार) बिहान अकस्मात आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
नदी आसपासका केही गाउँदेखि जलविद्युत आयोजनाहरू, टिमुरे भन्सार कार्यालय र थुप्रै घर तथा पुलहरूको भौतिक संरचना ध्वस्त पारेको छ। मानवीय क्षति र भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन।
'चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ,' महाशाखाले साढे १ बजे फेसबुकमा लेखेको छ।
महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीका अनुसार नदी थुनिएको ठाउँ ठ्याक्कै कुन हो भन्ने यकिन नभइसकेको बताए।
'आजको स्याटलाइट इमेज आउन बाँकी छ। इमेज आएपछि ठ्याक्कै कुन ठाउँमा नदी थुनिएको थियो भन्ने थाहा हुन्छ,' उनले भने, 'अहिलेसम्म हामीलाई नदी थुनिएको ठाउँमा अचानक बाँध फुट्दा बाढी आएको भन्ने चिनियाँ स्रोतबाट थाहा भएको छ।'
उनले थुनिएको नदी अझै खुल्न बाँकी रहेकाले जोखिम कायम रहेको पनि बताए।
उनका अनुसार पानीको बहाव सुरूको जस्तो शक्तिशाली नदेखिए पनि अहिले जहाँ जहाँ बाढी पुगिरहेको छ, त्यसले क्षति गर्ने सम्भावना उत्तिकै छ।
'बिहान जुन जोखिमको अवस्थामा थियौं, उत्तिकै जोखिमको अवस्था अहिले कायम छ। तल्लो तटीय क्षेत्रमा पनि बिहानकै जसरी सतर्क रहेर बस्नुपर्छ,' उनले भने।
बिहान करिब ८ बजे सुरू भएर अहिलेसम्म उत्पात् मच्चाइरहेको यो बाढीको कारण के हुन सक्छ भनेर हामीले भूगर्भ तथा मौसमविदसँग कुरा गरेका छौं।
भूगर्भविद श्रीकमल द्विवेदीका अनुसार लाङटाङ र मेलम्चीको उत्तरी क्षेत्रमा पछिल्लो समय धेरै पानी परेको देखिन्छ। त्यही पानीले भिजेको माटो एकैचोटि बगेको हुनसक्छ। त्यसबाहेक हिमपहिरोले नदीमा बनाएको बाँध फुटेर पनि बाढी आएको हुनसक्ने देखिएको छ।
'लाङटाङ र मेलम्चीको उत्तरी क्षेत्रमा धेरै पानी परेको थियो भन्ने सूचना आएको छ। त्यही वर्षाले ल्याएको 'वान-टाइम इभेन्ट' पनि यो बाढीको एउटा कारण हुनसक्छ,' भूगर्भविद द्विवेदीले भने, 'यसबाहेक जुन प्रकृतिको बाढी छ, यस्तो बाढी आउनुका अन्य कारण पनि हुन्छन्। अहिले नै ठ्याक्कै भन्न नसके पनि हिउँरबरफ पग्लेर वा हिमनदीले थुनेको नदीको बाँध फुटेर पनि अकस्मात् यति ठूलो बाढी आएको हुनसक्छ।'

यकिन कारण पत्ता लगाउन त्यस क्षेत्रको विस्तृत भौगोलिक अध्ययन गरिनुपर्ने उनको भनाइ छ।
मौसमविद् मीनकुमार अर्यालले हिमताल फुटेर पनि यो बाढी आएको हुन सक्ने बताएका छन्।
'तिब्बत क्षेत्रमा पानी परेको थियो, तर त्यही पानीले मात्र यति ठूलो बाढी नआउन सक्छ,' उनले भने, 'हिमताल फुटेको हुनसक्छ वा थुनिएको नदीको बाँध फुटेको पनि हुनसक्छ। यसबारे ठ्याक्कै भन्न सकिएको छैन।'
भूगर्भविद् द्विदीका अनुसार हिमाली क्षेत्रमा हिमताल फुटेर, हिउँ वा बरफ पग्लेर अकस्मात आउने ठूलो परिमाणको गेग्रानसहितको बाढीलाई 'हिमबाढी' भनिन्छ। दुई दशकअघि हिमतालको अध्ययन सुरू गर्दा यस्तो बाढी हिमताल विस्फोटनबाट मात्र आउने देखिएको थियो। तर पछिल्लो समय यस्ता बाढी अन्य कारणले पनि आउने पुष्टि भएको उनी बताउँछन्।
उनले यस्तो हिमबाढी आउनुका पछाडि मुख्य पाँच कारण रहेको बताए।
पहिलोः हिमताल विस्फोटन
हिमनदीबाट पग्लेर आएको पानी रोकिएर हिमताल बन्छ। यस्तो हिमताल फुटेर पानी तीव्र गतिमा बाहिरिने प्रक्रिया नै हिमताल विस्फोटन हो।
हिमताल विस्फोटनका विभिन्न तरिका हुन्छन्। ठूलो हिमपहिरो तालमा खस्न गए तालको पानी रोकिएको सतह (बाँध) भन्दा माथिबाट बग्न थाल्छ। यसरी बग्ने पानीको मात्रा धेरै हुन्छ। यसको बहावले बाँधमा भएका पदार्थ बिस्तारै बगाउन थाल्छ। पानीको खोल्सा जति गहिरो हुँदै जान्छ, तालबाट बग्ने पानीको मात्रा त्यति नै बढ्छ र झन् गहिरो खोल्सा बन्छ।
यसरी गहिरिँदै जाँदा खोल्साको दायाँ-बायाँबाट पनि पहिरो जान्छ र चौडाइ पनि बढ्छ। अनि, झन् धेरै पानी तालबाट बाहिरिन थाल्छ।
यसबाहेक बाँध आफै भत्केर पनि हिमताल विस्फोट हुन्छ। कमजोर बनावट र त्यसमा भएका पदार्थको क्षयीकरण तथा बाँधभित्र हुने भूमिगत जल प्रवाहबाट बन्ने स(साना छिद्रमा पानीको बहाव बढ्दै जाँदा बाँध स्वस्फूर्त रूपमा पनि भत्किन सक्छ।
केही दशकदेखि हिमताल बन्ने र तिनको आयतन वृद्धि हुने क्रम बढ्दो छ। यसले हिमताल विस्फोटन भएर त्योभन्दा तल रहेका नदी छेउछाउका क्षेत्रमा आउने बाढीको सम्भावना बढ्दै गएको द्विदीले जानकारी दिए।
'बाँध फुटेर हुने विस्फोटनबाट आउने अर्बौं लिटर पानीसँगै मिसिएर आउने थेग्रिनी (सेडिमेन्ट) ले हिमतालबाट बग्ने खोला तथा त्यसभन्दा तल्लो तटीय क्षेत्रमा व्यापक धनजनको क्षति गराउँछ,' उनले भने, 'विस्फोटनबाट आउने बहाव एकदमै शक्तिशाली हुन्छ। साधारण बाढी भन्नाले पानी मात्रै वा धेरथोर थेग्रिनी ९५/१० प्रतिशत० को बहाव भन्ने बुझिन्छ। तर यो बहावमा जति तीव्र गतिमा पानी बग्छ, उति नै ठूलो कणको थेग्रिनी बगाउने क्षमता हुन्छ।'
यस्तो बहावको असर हिमतालबाट १० देखि १०० किलोमिटरसम्म हुन्छ। धेरै तलको नदीमा भने पानी मात्र बग्न जान्छ, जुन साधारण बाढीका रूपमा बगेर जान्छ।
दोस्रो कारणः हिमनदी
उच्च हिमाली क्षेत्रमा हिउँ पर्छ तर तापक्रम शून्य डिग्री सेल्सियसभन्दा माथि जाँदैन। यस्तो बेला हिउँ जम्मा हुन थाल्छ। यो प्रक्रियामा तल्लो तहको हिउँ माथिल्लो तहको हिउँले थिचिँदै जान्छ। यसरी तल्लो तहको हिउँको घनत्व बढ्दै जान्छ र बरफमा परिवर्तन हुन्छ।
'हिउँ र बरफ दुवै पानीको ठोस रूप हो। भर्खर परेको हिउँको घनत्व ०.०१ ग्राम प्रति घनसेन्टिमिटर हुन्छ भने बरफको ०.९१७ ग्राम प्रति घनसेन्टिमिटर हुन्छ। जमेको हिउँको घनत्व यी दुईको बीचमा हुन्छ,' उनले भने, 'हिउँको तह धेरै हुन थालेपछि बिस्तारै भिरालोतिर बग्न थाल्छ। यसरी हिमनदी सिर्जना हुन्छ।'
तेस्रो कारणः बरफको बहाव
वर्षभरि नै तापक्रम शून्य डिग्री सेल्सियसभन्दा कम हुने ठाउँमा हिमनदी बाहेकको माटोमा भएको चिस्यान पनि जमेर एकै ढिक्का भएर बसेको हुन्छ। यसरी हिमनदी भएका स्थानमा बहने बरफले यू (ग्) आकारको नदी उपत्यका बनाउँछ। तर पानीको कटान क्षमता धेरै हुने भएकाले 'भी'आकारका बनेका हुन्छन्।
चौथोः उच्च हिमाली क्षेत्रमा हुने ठूलो वर्षा
उच्च हिमाली क्षेत्रमा साधारणतया अत्यन्तै कम पानी पर्छ। उदाहरणका लागि मनाङको वर्षभरिको औसत वर्षा २५० मिलिमिटर हाराहारी छ। यस्तो स्थानमा छोटो समयमा ठूलो पानी पर्दा उक्त पानीको तापक्रम बढी हुन्छ। बरफ र जमेको जमिन समेत पगाल्ने भएकाले हिमबाढी सिर्जना हुन्छ।
सन् २०१३ मा भारतको केदार क्षेत्र र नेपालको महाकाली र मेलम्ची क्षेत्रमा आएको बाढी यस्तै प्रकारको हो।
भू-उपग्रहबाट नापिएको वर्षाको तथ्यांक हेर्दा केदार क्षेत्रमा एक साता अवधिमा ५०० मिलिमिटरभन्दा बढी बर्षा भएको देखिन्छ। त्यस्तै, मेलम्ची नदीको जलाधार क्षेत्रमा पनि अत्याधिक वर्षा भएको देखियो।
मनाङमा वर्षको औसत २५० मिलिमिटर वर्षा हुने ठाउँमा २४ घन्टामा ८२.८ मिलिमिटर वर्षा हुँदा सम्मिश्रण बहाव आएको देखिन्छ।
पाँचौंः हिमपहिरो
हिमाली क्षेत्रको धेरै भिरालो स्थानमा ठूलो आयतनको हिमपहिरो आउँदा पनि हिमबाढी आउन सक्छ।
सन् २००३ को मादी र सन् २०१२ को सेतीको प्रकोप यही कारणले आएको थियो। यसरी आउने हिमपहिरोमा माथि भनिएजस्तै उच्च हिमाली क्षेत्रमा जमेर बसेको मसिनो कण पर्याप्त हुने र भिरालोपन बढी हुने भएकाले सम्मिश्रण बहावका रूपमा सजिलै तल्लो तटसम्म आउन सक्ने द्विवेदी बताउँछन्।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १६:२१