धुन्चे । आज (बुधबार) दिउँसो साढे ३ बजे भोटेकोसी शान्त भइसकेको थियो। सुकेर फेरि पहिलेकै आकारमा फर्किसकेको थियो। बाँकी थियो त केबल उसले बिहानभरि मच्चाएको विनाशलीला।
हेलिकप्टरको झ्यालबाट हेर्दा भोटेकोसीका सहायक खोला तथा खोल्सा कञ्चन देखिन्थे। छेउका पहाडबाट भुइँमा बजारिएका झरनाका दृश्य अझै पनि सुन्दर नै लाग्थे। तर, नदीको किनारका गाउँ, बजार, पुल र जलविद्युत् आयोजनाहरूको चिनो समेत बाँकी थिएनन्।
फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति पटक–पटक तल देखाउँदै भनिरहेका थिए, ‘यहाँ पुरै बस्ती थियो, त्यहाँ जलविद्युत् आयोजना थियो।’
उनी केहीबेर मौन हुन्थे अनि आफैँलाई सच्याएझैँ थप्थे, ‘अहिले त केही छैन।’
नुवाकोटको बट्टार कटेर रसुवाको स्याफ्रुबेसी, टिम्मुरे हुँदै नेपाल–चीन सीमासम्म पुग्दाखेरी भोटेकोसी किनारका मान्छेले भोग्नुपरेको दुर्दशाको भयानक तस्बिर देख्न सकिन्थ्यो। सयौँ बेपत्ता छन्। बस्ती नै उजाडिएका छन्।
त्यसबाहेक यसले दशकौँ समय र खर्बौँ रुपियाँ खर्चेर गरिएको निर्माण गरिएको विकास पूर्वाधारको नियति पनि बताउँथ्यो।
नदी किनारमा वर्षौं लगाएर बनाइएका सडक, पुल, विद्युत् आयोजना, प्रसारण संरचना केही बाँकी छैनन्। देशको महत्त्वपूर्ण पूर्वाधार छिनभरमै तहसनहस भएका छन्। जसको लेखाजोखा तत्काल गर्न सकिने स्थिति छैन। तर पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोसी बाढीले दुई खर्ब रुपैयाँ हाराहारीको भौतिक क्षति पुगेको प्रारम्भिक जानकारी दिएका छन्।
कतै नदीमाथि जोडिएको पुलको नामोनिसान छैन, कतै सडक नदीमै मिसिएका छन्। बलिया पक्की घरहरू पनि गेग्रानमा आधाभन्दा बढी गाडिएका छन्। कुनै समय मानिसको चहलपहल हुने टिमुरे बजार अहिले खोला र ढुंगामाटोको थुप्रोबीच हराएको छ। माथिबाट हेर्दा लाग्छ( यहाँ कुनै बस्ती थियो भन्ने प्रमाणसमेत बाढीले आफूसँगै बगाएर लगेको छ।
यी संरचनासँगै मानिसको वर्षौंको श्रम, लगानी र भविष्य पनि लेदोमा बगेको छ।
नुवाकोटको विदुर, त्रिशूली, बेत्रावती बजार भएर रसुवाको स्याफ्रुबेसी, टिम्मुरेदेखि नेपाल-चीन सीमा नाकासम्म केही बाँकी देखिँदैन। न बाटो सद्दे छ, न पुलको नामोनिसान छ। न त कुनै पनि जलविद्युत् परियोजनाको आकृति देखिन्छ। नेपाल-चीन जोड्ने पासाङ ल्हामु राजमार्गको अधिकांश भाग बाढीले तहसनहस बनाइदिएको छ।
भोटेकोसी पछ्याउँदै जतिजति माथि पुगिन्छ, त्यति नै सघन विनाश देखिन्छ।
सिंगै बस्तीहरूलाई माटो र ढुंगाले पुरिदिएको छ। स्याफ्रुबेसीमा खोलासँग जोडिएका कुनै पनि बस्ती सद्दे छैनन्। अहिले हेर्दा खोला मात्रै देखिन्छ।
टिमुरे बजार त लगभग पूरै नष्ट भएको छ। बाढीबाट जोगिएका मान्छे अग्लो भाग खोज्दै पाखो चढिरहेका छन्। गाउँघर जोड्नेदेखि राजमार्ग जोड्ने पक्की पुल कुनै बाँकी छैनन्। १९ वटा मोटरेबल पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएको छ।
नेपाल(चीन नाकामा रहेका कुनै पनि संरचना अस्तित्वमा छैनन्। न नेपालतर्फको भन्सार कार्यालय र यार्ड अस्तित्वमा छ, न चीन तर्फका विशाल संरचना।
२०८२ असारमा बाढीले नै बगाएको मितेरी पुल फेरि बगाएको छ। गत पुसमा मात्रै बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो।
न रहे जलविद्युत् परियोजना, न जोगिए प्रसारणलाइन
त्रिशूली बजार नजिकैको त्रिशूली जलविद्युत् आयोजनाको ड्याम मात्रै देखिन्छ। त्यसमा जमेको पानीमा बाढी पसेर धमिलिएको छ। नुवाकोट र रसुवामा निर्माण भएका र निर्माणाधीन अरु कुनै पनि जलविद्युत् आयोजना आँखाले देखिएनन्। सबैलाई बाढीले लपेटेको छ वा गेग्रानले थिचेको छ। सबस्टेसनदेखि खोला छेउका विद्युत् पूर्वाधार केही बाँकी छैनन्। सञ्चार सम्पर्क बिच्छेद छ।
नुवाकोटमा सरकारी लगानीमा बनेर सञ्चालनमा रहेको २५ मेगावाट क्षमताको सोलार आयोजनामा क्षति पुगेको देखिन्छ। एउटा भागको सोलार प्यानल सद्दे देखिए पनि बाँकी प्यानहरू सबै बाढीले बगाएको छ।
बाढीले नदी बेसिनमा विद्युत् प्राधिकरण, प्राधिकारणका सहायक कम्पनी र निजी प्रवर्द्धकहरूबाट सञ्चालित १२ वटा उत्पादन केन्द्रमा ठुलो क्षति पुगेको देखिन्छ। जसका कारण ती उत्पादन केन्द्रहरू बन्द भएर कुल ४३१.१ मेगावाट प्रणालीबाहिर छ।
रसुवागढी, सालासंगी (सान्जेन), माथिल्लो सान्जेन, सान्जेन, चिलिमेलगायत कुनै पनि जलविद्युत् परियोजना बाढीबाट जोगिन सकेनन्। यस्तै, लाङटाङ, माथिल्लो त्रिशूली-३ ए, माथिल्लो मैलुङ, मैलुङ, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्र सद्दे देखिंदैनन्। यी जलविद्युत् आयोजनाहरूको पूर्वाधार सबै बाढीले थिचिदिएको छ।
विद्युत् पूर्वाधारमा पूर्ण क्षति पुगेकाले हाल रसुवामा पूर्णरूपमा विद्युत् अवरुद्ध छ। नुवाकोटमा भने आंशिकरूपमा बिजुली अवरुद्ध बनेको छ। यस्तै, बाढीले विभिन्न स्थानमा ११ केभीका पोलहरू तथा ट्रान्सफर्मरहरूमा क्षति पुगेको छ।
खोला नजिक रहेका प्रसारण लाइन पनि क्षतिग्रस्त बनेका छन्।
त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द गरिएको छ। बाढीले समुद्रटार-त्रिशूली १३२ केभी, चिलिमे-त्रिशूली ६६ केभी, चिलिमे हब(त्रिशूली ३ बी हब( मातातीर्थ २२० केभी प्रसारण लाइन अवरुद्ध छन्। त्रिशूली(बालाजु ६६ केभी प्रसारण लाइन बाढीका कारण अवरुद्ध बन्न पुगेको छ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ २१:३४