असार ३१, काठमाडौं । सम्पत्तिको स्रोत खुलाउनुपर्ने भएपछि अहिले प्रहरीमा चेक बाउन्सका उजुरी घटेको छ।
यसअघि दैनिक ६० देखि ७० वटासम्म उजुरी आउने प्रहरीमा अहिले त्यो क्रम घटेर १५ वटामा सीमित भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। उनका अनुसार १० लाखभन्दा बढी रकमका चेक बाउन्स उजुरीमा प्रहरीले त्यसको स्रोत खोज्छ।
मिटर ब्याज, ढुकुटी र जुवामा लगानी गर्नेहरू पनि आउन थालेपछि त्यसको स्रोत खोज्न थालिएको प्रहरीले जनाएको छ।
‘१ करोड रुपैयाँसम्मको चेक बाउन्सका उजुरी पर्न थाले। अनुसन्धान गर्दै जाँदा कसैले मिटर ब्याजमा त कसैले ढुकुटीमा लगानी गरेको भेटियो’, उनले भने, ‘प्रहरीले लेनदेन मुद्दा हेर्दैन। वास्तविक पीडितको मुद्दालाई प्राथमिकतामा राखेका छौं।’
प्रहरीमा उजुरी दिन मिल्ने भन्दै जुवाडेले पनि चेकमा कारोबार गर्न थालेको पाइएको छ। ‘हुँदाहुँदा अब जुवाडेले पनि चेकमा कारोबार गर्न थालेका छन्’, उनले भने, ‘प्रहरीको काम जुवाडेको पैसा उठाउने होइन नि।’
मिटरब्याजी र ढुकुटी खेलाउनेले बैंकसँग ऋण लिएर कारोबार गरेको कागजपत्रसमेत बनाउने जुक्ति लगाउन थालेका छन्। ‘म परिसर प्रमुख भएर आउँदा चेक बाउन्सका २ हजार ५ सय उजुरी पेन्डिङमा रहेछन्’, उनले भने, ‘मैले उजुरी हेरेर सम्पत्ति स्रोत खोज्न भनेपछि गलत आसय राखेर चेक बाउन्स गराउनेले चेक फिर्ता लिए।’ धेरै रकम ठगिएको भनेर प्राथमिकतामा राखेर अनुसन्धान गर्दा वास्तविक पीडितलाई झनै पीडा हुने गरेको उनले बताए।
प्रदेश प्रमुखका पत्नीदेखि पूर्वमन्त्री, पूर्वसचिव, सुरक्षा निकायका पूर्वप्रमुखसमेत परिसर धाउने गरेका छन्। अधिकांशको अनुसन्धान गर्दा मिटर ब्याज वा ढुकुटीमा जोडिने गरेको परिसरले जनाएको छ। ढुकुटी खेलाउनेले पहिल्यै चेक लिने र समयमा किस्ता नबुझाए बैंकमा पुगेर तीनपटक बाउन्स गरी प्रहरीमा उजुरी दिने गरेका छन्। जुवा र मिटरब्याजका हकमा पनि यही लागू हुन्छ।
‘१० लाखसम्मका उजुरी आउँदा वास्तविक पीडित हो कि होइन भनेर अनुमान लगाउन सक्छौं’, एसएसपी सुवेदीले भने, ‘तर, एकै व्यक्तिले २६ वटासम्म चेक बाउन्स गरेर उजुरी दिन ल्याएपछि शंका गर्ने ठाउँ प्रशस्त हुन्छ।’