सुर्खेत, १५ असोज । मुख्यमन्त्री शाही अनुपस्थित हुँदा संसद् अवरुद्ध गर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शाही पनि संसद्मा नियमित उपस्थित भएनन् । जनताको प्रतिनिधित्व हुने संसद्मा उनी जम्मा ८३ वटा बैठकमा मात्र सहभागी भए । चौथो अधिवेशनमा महŒवपूर्ण बैठकमा पनि उनी सहभागी भएनन् ।
कर्णाली प्रदेशको आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि छलफल चलिरहेको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही असार ७ गते संसद् बैठकमा अनुपस्थित भएर हुम्ला पुगे । उनी सरकारको कामभन्दा पार्टीको बैठकमा हेलिकोप्ट चढेर हुम्ला पुग्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले संसद् अवरुद्धसमेत गरे । मुख्यमन्त्री शाही संसद्मा ३५ दिनमात्र उपस्थित भए । उनीजस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा ६९ वटा बैठकमा सहभागी भए । उनी मात्र होइन कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले संसद्लाई प्राथमिकता नदिने गरेका छन् । उनीहरू संसद्मा अनुपस्थित भएर सामान्य कार्यक्रम वा पार्टीको बैठक तथा भेलामा सहभागी हुने गरेका छन् । जनताबाट चुनिएर आएका सांसद नै संसद्मा जनप्रतिनिधिको रूपमा जनताको प्रतिनिधित्व गर्छन् । संसद्मा भोकदेखि रोगसम्म र अभावदेखि अपेक्षासम्म सांसदले जनताको प्रतिनिधिकारूपमा कुरा राख्छन् । सोहीअनुसार सरकारले आफ्ना नीति तथा कार्यक्रममा समेट्छ । तर कर्णाली प्रदेशमा भने मुख्यमन्त्री, मन्त्री र अन्य सांंसदले संसद्लाई भन्दा अन्य कामलाई प्राथमिकता दिएको देखिन्छ ।
कर्णाली प्रदेशसभाको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो । त्यसयता कर्णाली प्रदेशको चौथो अधिवेशन २०७६ असोज १० गतेसम्म एक सय नौपटक बैठक बस्यो । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री शाही पहिलो अधिवेशनको कूल २२ बैठकमध्ये १६ वटा बैठकमा सहभागी भए भने दोस्रो अधिवेशनका ४१ बैठकमध्ये ११ वटा बैठकमा सहभागी भए । हिउँदे अधिवेशनको १३ बैठकमा जम्मा एकपटक मात्रै बैठकमा सहभागी भए र चौथो अधिवेशनका ३३ औं बैठकमध्ये जम्मा सात बैठकमा मात्रै उनी सहभागी भएका संसद् सचिवालयले जनाएको छ । यसरी हेर्दा प्रदेशसभाको पहिलो अधिवेशनदेखि नै मुख्यमन्त्री शाहीको उपस्थिति न्यून देखिन्छ ।
बैठकमा मुख्यमन्त्री शाही मात्रै नभएर प्रदेशका अन्य मन्त्रीहरू पनि नियमित बैठकमा उपस्थित हुँदैनन् । सचिवालयका अनुसार मुख्यमन्त्रीपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको उपस्थिति पनि कम छ । सचिवालयको तथ्यांकअनुसार मन्त्री बुढा जम्मा ७० दिन संसद् बैठकमा उपस्थिति भएका छन् । मन्त्री बुढा पहिलो अधिवेशनमा १८ पटक, दोस्रोमा २५ दिन, हिउँदेमा तीन दिन र चौथोमा २४ पटक बैठकमा उपस्थित भए । प्रदेशसभा बैठकमा मन्त्रीहरू मात्रै नभएर सांसदहरू पनि नियमित उपस्थित छैनन् । तथ्यांकअनुसार बैठकमा सत्तापक्ष, प्रतिपक्षका प्रमुख सचेतक, सचेतकदेखि अन्य सांसदहरू कोही पनि सबै बैठकमा उपस्थित भएका छैनन् ।
कुन सांसदको कति उपस्थिति
बैठकमा सभामुख राजबहादुर शाहीबाहेक अन्य कोही सांसदहरू पनि नियमितरूपमा उपस्थित भएका छैनन् । सभामुख शाही सबै बैठकमा उपस्थित भएका छन् भने उपसभामुख पुष्पा घर्ती बिष्ट सातवटा बैठकबाहेक अन्य सबै एक सय दुईवटा बैठकमा सहभागी भएकी छिन् । बैठकमा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक जीवनबहादुर शाही ८३ बैठकमा उपस्थित भएका छन् भने सचेतक हिमबहादुर शाही ८७ बैठकमा उपस्थित भएका छन् । यस्तै सत्तापक्षका प्रमुख सचेतक गुलाब जंग शाह ९७ वटा बैठकमा उपस्थित भएका छन् भने सचेतक सीताकुमारी नेपाली ८५ वटा बैठकमा उपस्थित भएकी छिन् । यस्तै अन्य सत्तापक्ष एवम् प्रतिपक्ष दलका सांसदहरू यामलाल कँडेल ७५ बैठक, धर्मराज रेग्मी ८०, करवीर शाही ८९, अम्मरबहादुर थापा ९९, यज्ञबहादुर बिसी ८९, चन्द्रबहादुर शाही ९३, ठम्बरबहादुर विष्ट ९१ पटक र सोशीला शाही ९७ वटा बैठकमा उपस्थित भएका छन् ।
यस्तै सांसद सुशीलकुमार थापा ९९, रातो कामी ९७, राजु नेपाली १०४, मीनासिंह रखाल १०५, वीरबहादुर शाही ८६, बिन्दमान बिष्ट ९६ र बदमी क्वारी बोहोरा ८०, पद्मा खड्का १०३, पदमबहादुर रोकाया ९३, देवी ओली १०३, दिनबन्धु क्षेष्ठ ९१, दानसिंह परियार ९२, झोवा विक १०१, गोपाल शर्मा ७७, गणेशप्रसाद सिंह १०२, कौशीलावती खत्री ८९, कृष्णा शाह ९०, कुर्मराज शाही ९५, अमृता शाही १०४ पटक बैठकमा उपस्थित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।