हुम्ला । आफ्नै रैथाने चार्ड नभए पनि पछिल्लो समय कर्णालीका हिमाली जिल्लाका गाउँगाउँमा आफ्नै चार्डका रुपमा मनाउन थालिएको छ ।
जिल्लामा आएका सरकारी कर्मचारी, प्रहरी, नेपाली सेनाले भित्र्याएको तिहार अहिले हरेक घरको पर्वका रुपमा मनाउन थलिएको हो । ‘गतवर्ष गाउँका अधिकांश दिदी बिहिनीले भाइटीका लगाएको देखेपछि म पनि यो वर्ष भाइटीका लगाउने सुरमा छु ।’ अदानचुली १ का परे थापाले भने, ‘पोहोरसम्म भाइटीकामा सुनसान हुने गाउँ तिहारको चहलपहलले यो वर्ष दुइ दिन अघि नै रमाइला भएका छन् ।’
तिहारको भाइटीका र द्यौसी, भैलो रेडियोबाट सुनेका शोरुकोट गाउँपालिका भिइ मुगुका रन्न बुढाले भाइटीका लगाउन थालेको यो दोस्रो वर्ष हँुदैंछ । उनी भन्छन्, ‘भाइटीकाको दिन घरको सबै काम छोडेर दिदीबहिनीको घरमा जान थालेपछि म पनि टीका लगाउन थाले ।’
कालीकोटको खडाचक्र नगरपालिकाकी उपमेयर विजया बिष्टलाई अहिले तिहार निकै राम्रो चार्डका रुपमा लाग्न थालेको दशक बढी भयो । ‘२०४२ सालसम्म अहिलेको जस्तो तिहार र भैलो–द्यौसी खेलिन्नथ्यो,’ रारा भ्रमणबाट फर्किदैं गरेकी ५४ वर्षीया बिष्ट भन्छिन्, ‘सरकारी कर्मचारी र सेना, पुलिसले कर्णालीमा तिहारको माहोल भित्र्याए ।’ जुम्लामा अध्ययन गर्ने बेला २०३८ सालमा पहिलो पटक तिहारमा टीका लगाएको देखेकी बिष्टको दिदिबहिनीले दाजुभाइलाई लगाइदिने टीका अब कुनै कर्मचारी, सेना र प्रहरी विशेषको मात्रै नहरेको प्रतिक्रिया छ ।
केही स्थानीय चार्ड र पुर्णिमा केन्द्रित हुने साबिकको कर्णालीका गाउँबस्ती अहिले तिहारको समयमा समेत रंगिला हुन थालेको गाउँबाट भर्खर सिमकोट पुगेका हुम्लाका प्रतिनिधि सभा सदस्य छ्रक्कबहादुर लामाले जानकारी दिए ।
वर्षका १२ वटै पूर्णिमा कर्णालीका लागि चाडपर्व हुने गरेको बताएका सांसद लामा पुसे पूर्णिमामा खेलिने भैलो रैथाने भए पनि बढ्दो सांस्कृतिक प्रभावले तिहारको कात्तिके भैलो पनि उत्तिकै महत्व भएको बताए । २०४२ सालसम्म हुम्लामा कसैले तिहार नमनाएको दाबी गर्ने लामा २०४६ को राजनीतिक परिवर्तनसँगै तिहारले हुम्लामा प्रवेश पाएको बताउँछन् ।
‘तत्कालिन सरकारी कर्मचारीको प्रभावबाट जिल्लामा तिहार मनाउन शुरु भएको हो ।’ उनी भन्छन्, ‘कर्णालीका बौद्धमार्गी लामा समुदायले भुव, ल्होसार र खसहरूले भुव, पिठायो, भैलो (पुषे पुर्णीमामा) सगँै दसैं मान्ने रैथाने परम्परा हो ।’
लामा थप्छन् ‘हुम्लामा तिहार मनाउन थालेको झण्डै तिन दशक भएपनि सबैतिर तिहार मनाउन थालेको दश वर्षपनि पुगेको छैन ।’
तिहार बढ्दो सांस्कृतिक प्रभावले भित्रिएको आगन्तुक चार्ड भएको जुम्लाका रमानन्द आचार्यकोे दावी छ । ‘पाहुनालाई देउता मान्ने र पाहुनाको आनीबानी राम्रो मान्ने कर्णालीको संस्कारका कारण पनि कर्णालीमा गएका शिक्षक, कर्मचारी, प्रहरी, सेनाबाट तिहार भित्रिएको हो । आचार्य भन्छन्, ‘जुम्लाको सिंजा उपत्यका र वरपरका खस बस्तीमा परापूर्वकालदेखि नै भाइटीका लगाउने चलन अहिलेको जस्तो थिएन ।’
लामा समुदायमा पनि भाइटीका
बैद्धमार्गी लामा समुदायमा पनि तिहारको प्रभाव बढ्दै गएको छ । लामा समुदायमा आफैं दिदीभाइबीच भाइटीका लगाउने काम नभए पनि नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी र जिल्लाकै अन्य समुदायले ‘धर्म दाजुभाइ’ मानेर टीका लगाउने प्रचलन बढ्दै गएका हो । मितेरी सम्बन्धले तिहारको भाइटीका लगाउने चलन लामासमुदायका गाउँगाउँमा पुगेको छ । दसैं–तिहार अब खस आर्यको मात्र नभई लामा समुदायमा पनि विस्तार हुँदै गएको छ ।’ पूर्वमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा भन्छन् ‘भाइटीका बौद्धमार्गी लामाहरूको आफ्नो चाड नभए पनि सूचना र सञ्चारको बढ्दो प्रभावले अब आफ्नै जस्तो भइसक्यो ।’