मुगु । लामो समयको खडेरीले गहुँ बाली छर्न कर्णाली प्रदेशका हिमाली जिल्लाका किसानलाई हिमपात कुर्नु पर्ने बाध्यता छ । खडेरीले सुकेको माटोमा गहुँ छर्दा नउम्रने डरले मुगु, हुम्लालगायतका हिमाली क्षेत्रका किसानले हिउँ (वर्षा) कुर्नु परेको हो ।
गएको असोजदेखि राम्रोसँग पानि नपरेको मुगुको खत्याड, शोरु, हुम्लाको अदानचुली, सर्केघाड, चंखेली गाउँपालिकाका किसानले हिउँ (वर्षात) नपरेपछि कात्तिक अन्तिममा छर्ने गहुँबाली अहिलेसम्म छरेर सकाएका छैनन् ।
‘पानी नपरेकाले ढिलोमा कात्तिकको अन्तसम्म गहुँ बाली छर्ने काम सकिन्थ्यो तर यो वर्ष निकै ढिला भएको हो ।’ गहुँ छर्न खेतमा निस्केका खत्याड गाउँपालिका–७ का चम्फासिंह थापाले भने, ‘यो वर्ष हिउँ कुर्दै हिउँद सकिएला जस्तो भयो ।’ उनीजस्तो यतिवेला मुगु र हुम्लाका किसान पाखो बारी र खेतमा हिउँदे बाली गहुँ जौ र उवा छर्ने कामको चटारोमा छन् । पानी नपरेकाले कात्तिक पहिलो साता छर्ने गहुँबाली यो वर्ष मंसिरको अन्तमा पुगेको भिई बैनागाउँका दलवीरे कार्कीले जानकारी दिए ।
कोदो, सिमी, मकै र आलुलगायतका कात्तिकमा पाक्ने बाली भित्र्याए लगत्तै गहुँ बाली छर्नुपर्ने भए पनि यो वर्ष ढिला भयो । आकाशे पानीको भरमा छर्ने गहुँबाली पनी नै नपरेपछि स्वतः ढिला हुने नै भयो खत्याड–७ का जसीराम भियालले भने, ‘हिउँद लाग्दा पनि हिउँ नपरेपछि हामीलाई गहुँ छर्न ढिला भएको हो ।’
हिमाली क्षेत्रमा हिउँदको चिसो शुरु नहुँदै गहुँ बाली बारीमा छरिसक्नु पर्ने बाध्यता हुन्छ । समयमा नछरे समयमा नपाक्ने समस्या भए पनि हिउँ नपरेकै करण यो वर्ष गहुँ छर्न ढिलाई भएको स्थानीय किसानहरूले बताउने गरेका छन् । अहिले खत्याड गाउँपालिकाको सुकााढिक, गम्था, रातापानी, श्रीकोट, आम, सेरी, कोटडाडा, तलि बगरलगायत वस्तीका किसानलाई जौं र गहुँ छर्ने चटारो छ । चाडबाड सकिएको र धेरै चिसो नभएकाले बालबालिकादेखि वृद्धसम्मलाई बाली लगाउने कामले छोएको छ । खत्याड गाउँपालिका, सोरु गाउँपालिका छायाँनाथरारा नगपालिका र मुगुम कामारोङ गाउँपालिकामा सिचाइँ सुविधा नहुने अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेती गरिन्छ । हिउँदमा जिल्लाका अधिकांश क्षेत्रमा हिमपात हुने भएकाले हिउँ पर्ने आशामै गहुँ छर्न बिलम्ब भएको हो ।
हिमपात वा वर्षात् भएपछि जमिनको चिस्यान लामो समयम्म कायम रहने बारीमा छरेको बिऊँ छिटो उम्रिने, हुर्कने र उत्पादन बढ्ने भएकाले पनि किसानले हिउँ कुर्न परेको जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख केबी रोकायाले जानकारी दिए । ‘खेतीपाती गरेर जीवननिर्वाह गर्ने अधिकांश किसान अहिले खेतबारीमै व्यस्त छन् ।’ उनले भने, ‘सिचाइँ सुविधा नभएका केही उच्च लेकाली वस्तीमा वर्षमा एक बाली मात्र लाग्छ, ती वस्तीमा पनि हिमपात हुने आशाले किसानले बाली लगाउन शुरु गरिसकेका छन् ।
यता छाँयानाथरारा नगरपालिकाको रुगा र खत्याड गाउँपालिकाको हयाङलुका स्थानीयले पनि हिमपातकै पर्खाईमा गहुँ छर्न नसकेको उनको भनाइ छ । कृषि विकास कार्यालय मुगुका अनुसार हिमाली क्षेत्रमा जति बढी हिमपात भयो उति बढी अन्नबालीको उत्पादन हुन्छ ।