कालिबहादुर थापा
हुम्ला । जिल्लाको श्रीनगर खाद्य डिपोले कुहिएको चामल बिक्री गरेको फेला परेको छ । डिपोबाट गएको आइतबार वितरण गरिएको चामलमध्ये अधिकांश कुहेको फेला परेको हो ।
आफूले डिपोबाट खरिद गरेर ल्याएको ३० किलोग्रामका २ वटा बोरामध्ये सबै चामल खानै नमिल्ने गरी कुहिएपछि वितरित चामल कुहिएको पत्ता लागेको अदानचुली–२ का हर्क भण्डारीले जानकारी दिए । ‘घरमा खाद्यान्नको समस्या भएर खाद्यबाट चामल लिएको थिएँ ।’ उनले भने, ‘बेलुका भात पकाउन भन्दै चामलको बोरा खोल्दा त पुरै चामल डल्ला परेर खानै नमिल्ने रहेछ ।’ मैले ल्याएको ल्याएको बोराको पुरै चामल कुहिएको देखिएपछि खाद्य डिपोबाट सँगै चामल ल्याएका रतन भण्डारीकोमा पुगेको जानकारी दिएका भण्डारीले भने, रतनले ल्याएको बोराको चामल पनि त्यस्तै कुहिएको रहेछ ।’
दुवै बोराको चामल कुहेको भएपछि डिपोले बिक्री गरेको सबै चामल कुहिएको ठहर गर्दै त्यसका बारेमा जानकारी दिन आफू दश मिनेटको पैदल दूरीको रहेको श्रीनगर खाद्य डिपोमा पुगेको उनले जानकारी दिए ।
ढिला गरेर सुदूरपश्चिम प्रदेशको धनगढी हुँदैं अदानचुलीको श्रीनगर पुगेको उक्त चालम कुहिएको फेला परेपछि अहिलेसम्म केही डिपोमै फिर्ता गरिएको छ । सुदूरपश्चिमको धनगढी मार्तडी हुँदै श्रीनगर पुगेको ३ सय क्वीन्टल मध्ये स्थानीयलाई बिक्री गरिएको एक सय क्वीन्टल चामल अधिकांश खान योग्य नभएको पाइएको छ । सरकारको ढुवानी अनुदानमा खाद्य संस्थानले बिक्री गरेको उक्त चामल लिएकामध्ये चार जनाले चामलको बोरा नै फिर्ता गरेको नेपाल खाद्य संस्थान श्रीनगर डिपो हुम्लाका प्रमुख चन्द्रबहादुर पुनले स्वीकारे । चामल कुहिनुमा ढुवानीको जिम्मा लिएका ठेकेदारको भएको उल्लेख गरेका डिपो प्रमुख पुनले कर्णालीपत्रसँग भने, ‘डिपोमा चामल ढुवानी भएर आउने बित्तिकै हामीले बिक्री गरेका हौं । यसमा खाद्य संस्थानको कुनै संलग्नता छैन ।’ खान अयोग्य भएको गुनासोका आधारमा आफूले चामल फिर्ता लिएको जानकारी दिएका उनले कति चामल कुहिएको छ भन्नेमा आफूले भन्न सक्ने अवस्थामा नरहेको बताए ।
उता चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले आफ्ना कारण चामल कुहिएको भन्ने खाद्य संस्थान श्रीनगर डिपोको भनाईप्रति असहमती व्यक्त गरे । चामल कुहिने अवस्था नेपाल खाद्य संस्थानकै कारण आएकाले उसले नै जिम्मा लिनुपर्ने जिकिर गरेका ठेकेदार नन्द महताराले संस्थान मार्तडी शाखाले दिएको चामल जस्ताको तस्तै आफूले श्रीनगर डिपोसम्म पु¥याएको दाबी गरे । ‘नेपाल खाद्यले उल्टै मलाई फसायो ।’ उनले भने, ‘म अदानचुलीकै बासिन्दा हुँ । मैलाई कुहिएको चामल ल्यायो भनेर स्थानीयस्तरमा गलत प्रचार गर्ने काम भयो ।’
खाद्य संस्थानले नै कुहिएको चामल बिक्री गरेपछि सरकारी अधिकारीमाथि कारबाही हुन्छ की हुँदैन भन्ने जिज्ञासामा नेपाल खाद्य संस्थानका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले खान नमिल्ने गरी गएको चामल विक्री वितरण नगरेर अलग्गै राख्न श्रीनगर डिपोलाई निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘हुम्ला÷जुम्ला जस्ता विकट ठाउँका नागरिकले हामी (खाद्य संस्थानका स्थानीय डिपो) ले जस्तो दियो त्यस्तै लिन सक्छ त्यसमा हामी सजक रहनु पर्छ ।’ कथमकदाचित स्थानीय डिपोले पुरानो भएर बिक्री वितरण गरेको रहेछ भने आफ्नो कर्मचारीलाई कारबाही गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
उपभोक्ता संरक्षण ऐन २०७५ ले खान नमिल्ने खाद्यान्न विक्री वितरण गरे वा गराए ३ वर्षदेखि ५ वर्षसम्म जेल र ३ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।