माइजोगमाई : माघे सक्रान्तिको अवसरमा इलामको माइ र जोगमाई खोलाको दोभानमा लाग्दै आएको माइबेनी मेला यस बर्ष पनि लाग्ने भएको छ l
मेलालाई मध्यनजर गर्दै विद्युत र खानेपानीको ब्यवस्था गरिसकिएको र अस्थायी चर्पी निर्माण गर्ने काम भइरहेको मेला व्यवस्थापन समितिका अध्यक्ष तथा माइजोगमाई गाउँपालिका वडा नं ४ का अध्यक्ष गणेश कुमार राईले जानकारी दिए ।
मेलामा आउने पर्यटक तथा धर्मावलम्वीहरुको सुविधालाई मध्यनजर गर्दै खोला वारपार गर्नका लागि जोगमाई खोलामा अस्थायी पुल , सवारी पार्किङ्गका लागि तीन स्थानमा पार्किङ्ग स्थल तयार गरिएको राईको भनाई छ । मेलामा व्यवसाय संचालन गर्नका लागि जग्गा दर्ता गर्ने क्रम जारी रहेको उनले बताए । मेलामा व्यापार व्यवसाय संचालनका लागि जग्गा अनिवार्य दर्ता गर्नुपर्ने र प्रतिमिटर तीन सय ५० रुपैँयाका दरले शुल्क तिर्नुपर्ने उनले बताए ।
मेलालाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य शिविर समेत रहने छ । मेलालाई व्यवस्थित र सभ्य बनाउनका लागि मेला व्यवस्थापन समितिका साथै विभिन्न उपसमिति र स्वयमसेवकहरु सक्रिय भएर लाग्ने अध्यक्ष राईले बताए ।
मेलालाई मर्यादित, सुरक्षित र झै— झगडा मुक्त बनाउन माइबेनी मेला प्रवेश गर्ने सबै प्रवेशद्धारहरुमा सुरक्षाकमी परिचालन गरिने छ ।
माई र जोगमाईको संगम स्थल
जोगमाई र माई खोलको दोभानमा रहेको माइबेनी इलामका तीन स्थानिय तह इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको संगम स्थल हो । माइबेनी इलाम जिल्ला कै महत्वपूर्ण धार्मिक स्थल पनि हो । हरेक बर्षको माघेसक्रान्तिमा यस ठाउँमा मेला लाग्ने गरेको छ ।
स्थानिय उत्पादित कृषि उपज तथा कला संस्कृतिको प्रचार प्रसार गर्ने साथै धार्मिक आस्थालाई बचाइराख्ने उदेश्यले मेला आयोजना गरिँदै आएको छ । फराकिलो खेत र खोला बगरमा लाग्ने मेला पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै गएको छ ।
उक्त मेलामा इलाम, झापा, पाँचथरका साथै भारतको पश्चिम बंगाल सिक्क्मि, दार्जिलिङ्ग, मिरिक लगायतका क्षेत्रबाट पर्यटक तथा दर्शनार्थीहरु आउने गरेका छन । यसरी आएका धर्मावलम्बीहरुले जोगमाई र माइ खोलामा स्नान गरी त्यसै स्थानमा रहेको माइ भगवती मन्दिरमा पूजाआजा गर्ने गरेका छन् ।
यसरी पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । यस बर्ष करबि १० देखि १५ हजार दर्शनार्थी तथा पर्यटकहरु आउने मेला व्यवस्थापन समितिको अनुमान रहेको छ भने मेलाबाट करिब एक लाख रुपैँया राजस्व संकलन गर्ने मेला व्यवस्थापन समितिको लक्ष्य रहेको छ ।
विभिन्न प्रकारका तरुल, सुन्तला, बदाम र उखुलाई माइबेनीको प्रशिद्ध खानेकराका रुपमा लिइन्छ ।
माइबेनी जिल्लाकै प्रख्यात मेला भए पनि बर्षमा तीन चार दिन रमझम हुने र बर्ष भरि सुनसान हुने गरेको छ ।
मेलामा कृषि प्रदर्शनीको आयोजना
मेलामा कृषि प्रदर्शनी समेत आयोजना गरिने भएको छ । गत बर्ष झैँ यस बर्ष पनि कृषि प्रदर्शनी रहने माइजोगमाई गाउँपालिकाको कृषि शाखा प्रमुख अनिशा राईले बताइन् । प्रदर्शनीमा जिल्ला भरीका किसानहरुलाई सहभागी गराइने र उत्कृष्ट किसानहरुलाई पुरस्कृत समेत गरिने राईको भनाई छ ।
मेलामा खाद्यान्नबाली, दलहनबाली, फलफूल र तरकारीबाली समाबेश गरिने र प्रदर्शनीका लागी आगामी पुस २९ गते दर्ता गरी माघ १ गते विहान ८ बजे सम्म राखिने उनले जनकारी दिइन् ।
विदाबारे निर्णय
माघेसक्रान्तिका दिन माइबेनी मेलालाई मध्यनजर गर्दै माइजोगमाई गाउँपालिकाले स्थानिय विदा दिँदै आएको भए पनि यस बर्ष विदा दिने निर्णय भइनसकेको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेतले जानकारी दिए । “ विदा सम्बन्धि निर्णय भइसकेको छैन आगामी आइतबार हुने कार्यपालिकाको बैठकले आवश्यक निर्णय गर्नेछ ।”— बस्नेतले भने ।