सुर्खेत । छाउगोठ भत्काउने अभियानअन्तर्गत एक महिनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लामा एक हजार ९ सय ६५ वटा छाउगोठ भत्काइएका छन् ।
नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा स्थानीय प्रशासन कार्यालयले अगुवाईमा सञ्चालन गरेको छाउगोठ भत्काउने अभियानअन्तर्गत कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट र सल्यान जिल्लामा भएका छाउगोठ भत्काइएका हुन् ।
अभियानअन्तर्गत सुर्खेतमा सबैभन्दा बढी एक हजार छ सय ७१ छाउगोठ भत्काइएको नेपाल प्रहरी प्रदेश कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाले जानकारी दिए । उनका अनुसार दैलेखमा दुई सय ५९, जाजरकोटमा १३, कालीकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएको छ ।
‘हामी (नेपाल प्रहरी), स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरी प्रशासको सहयोगमा छाउगोठ भत्काउने अभियान प्रदेशका सबै जिल्लामा थालिएको छ ।’ उनले भने, ‘अहिलेसम्म स्थानीयले भनेको आधारमा हामीले छाउगोठ भत्काउने अभियान थालेका छौं । एकिन कति छाउगोठ छन् भनेर तथ्यांक पनि संकलन गरिरहेका छौं ।’ सुर्खेत जिल्लाको बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा सबैभन्दा बढी छाउगोठ रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका छाउगोठ भत्काउने अभियानका नेतृत्वकर्ता नवराज शर्माले बताए । ‘जिल्लाभर हामीले दुई हजार दुई सय छाउगोठ रहेको अनुमान गरेका छौं ।’ उनले भने, ‘अब सुर्खेतमै पाँच सय जति छाउगोठ भत्काउनै बाँकी छन् ।’
कालीकोटको नरहरीनाथ र सान्नी त्रिवेणी गाउँपालिकामा सबैभन्न्दा बढी एक सय छाउगोठ रहेको अनुमान गरेको जिल्ला प्रशासन कार्यालय कालीकोटका सूचना अधिकारी बमबहादुर नेपालीले जानकारी दिए । अध्ययनका क्रममा जुम्लामा छुट्टै छाउगोठ नरहेको र घरको छुट्टै कोठामा महिलाहरु छाउ भएमा बस्ने गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् ।
पाँच जिल्लामा चेतनामूलक कार्यक्रम स्थानीय प्रशासनको अगुवाईमा कर्णाली सरकारले प्रदेशका पश्चिम रुकुम, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लाहरुमा छाउगोठसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको छ ।
सम्बन्धित जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरीका स्थानीयस्तरमा भएका युनिटहरू मार्फत् अहिले छाउगोठमा बस्न हुन्न भन्ने जानकारी दिन अभियान सञ्चालन गरिएको नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालयका प्रमुख पूर्णचन्द्र जोशीले बताए । ‘अहिले प्रदेशका पाँच जिल्लामा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ ।’ उनले भने, ‘बाँकी पाँच जिल्लामा जनचेतनामूलक काम भइरहेको छ ।’
सरकारको केन्द्रीय नीति अनुसार जुम्ला जिल्लामा छुइ प्रथाविरुद्ध महाअभियान सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । ‘धामीझाँक्री, पुरोहित, महिला अगुवालगायत आम नागरिकसँग छलफल गरेर अहिले छाउप्रथा हटाउने अभियानलाई सार्थक बनाउन नियमित रुपमा अनुगमन गर्ने गरेका छौं ।’ उनले भनिन्, ‘हामीले छाउप्रथा हटाउनका लागि महायज्ञको काम लगाउने तयारी गरेका छौं ।’
दैलेख जिल्लामा छाउप्रथा हटाउनका लागि छाउगोठ भत्काउनेदेखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । ‘जनचेतनामूलक कार्यक्रम र छाउगोठ भत्काउने अभियानसँगै सञ्चालन गरेका छौं ।’ उनले भने, ‘छाउप्रथा अन्त्यका लागि जिल्लामा सबै किसिमका पहल थालिएको छ ।’
संसदमा महतको विरोध
गजेन्द्रबहादुर महत
जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेका वेला जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले प्रतिनिधि सभामा यसको विरोध गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद महतले गृह मन्त्रालयले छाउगोठ भत्काउने नाममा जनताका घर भत्काइरहेको आरोप लगाउँदै सरकारको छाउगोठ भत्काउने अभियानको विरोध गरे ।
बैठकमा बोल्दै सांसद महतले गृह मन्त्रालयले भ्रष्टहरूको संरक्षण गर्ने र जनताको घर भत्काउने काम गरेको आरोप लगाएका हुन् । ‘हाम्रो गाउँ घरतिर एउटा उखान छ, ‘काम नपा बुहारी, कुकुरको पुछ कनाउ’ । अहिले गृह मन्त्रालय यस्तै छ ।,’ उनले भने, ‘छाउगोठको नाममा हाम्रा घर भत्काइएका छन् । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठ जना मान्छेको मृत्यु भएको छ । होटल भत्काउँदै हिँड्ने ? हजारौँ मान्छेको बसमा दुर्घटना भाछ । बस भत्काउँदै, आगो लगाउँदै हिँड्ने ? यो पनि तरिका कहीं हुन्छ ?’ स्थानीय नागरिकमा यसप्रतिको धारणाका बारेमा अन्य रचनात्मक काम ल्याउन उनले आग्रह गरे ।