जुम्ला । खस सभ्यताको उद्गमस्थलका रुपमा चिनिएको जुम्लालाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य बोकेको ‘सिंजाको १० वर्षे पर्यटन गुरु योजना (सन् २०१२ देखि २०२२)’ कार्यान्वयन अभावमा अलपत्र परेको छ ।
कर्णाली भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्न, खष भाषा संरक्षण गर्ने, जुम्लाको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित तत्कालीन जिल्ला विकास समिति जुम्लाले तयार पारेको गुरु योजना कार्यान्वयन गर्ने निकायको अभावमा अलपत्र परेको हो।
जुम्लालाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित उद्देश्यले २०६५ सालमा उक्त गुरु योजना निर्माण गरिएको थियो ।
गुरु योजना कार्यान्वयन भएको भए हाल कर्णालीमा मात्रै १५ लाख बढी पर्यटक भित्रिसकेका हुने सिंजाबासीको अनुमान छ । लामो प्रयासमा निर्माण भएको गुरु योजना कागजमा मात्रै थन्क्याउने काम भएकाले भाषिक र सांस्कृतिक महत्व अनुसार सिंजामा पर्यटकको आवागमन निकै कम भएको स्थानीय दिपेन्द्र उपाध्यायले बताए । सिंजाको पूर्वाधार निर्माणदेखि पर्यटकलाई आकर्षित गर्ने खालका गतिविधि गुरु योजनामा समावेश थिए ।’ उनले भने, तर सिंजालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वको क्षेत्रका रुपमा स्थापित गर्ने योजना नैं कार्यान्वयन नभएपछि अहिले अनुसन्धान बोहक अन्य पर्यटकको आवागमन निकै कम भएको छ ।’
सिंजा क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटकीय हिसाबमा विकास गर्न तत्कालीन जिल्ला विकास समिति जुम्लाले तयार पारेको गुरुयोजना कार्यान्वयन नभएको सिंजाका पुर्णप्रसाद धितालले बताए । उनले देशकै ऐतिहाँसिक क्षेत्रका रुपमा रहेको सिंजा क्षेत्र खष भाषाको उद्गमस्थल र खस सांस्कृतिको भरिपूर्ण सिंजाको प्रचार प्रसार र विकासलाई समग्र पर्यटन प्रवद्र्धन तथा कर्णाली क्षेत्रको आर्थिक समृद्धिसँगै जोडेर तयार पारिएको गुरुयोजना अहिले कुन कुनामा थन्किएको छ भन्ने कुरा कसैलाई थाहा नभएको गुनासो गरे ।
‘कर्णाली रारा पर्यटन वर्ष २०७५’ र ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यान्वयन गर्ने सन्दर्भमा जिल्लाका सरोकारवाला निकायले पुरानो ‘सिंजाको दश वर्षे पर्यटन गुरु योजनाको बारेमा सोध्ने काम भयो,’ उनले भने, ‘गुरु योजना कहाँ छ ? र किन कार्यान्वयन भएन भन्ने बारे कसैले अगुवाई लिन नसक्दा गुरु योजना कागजमै सीमित रहेको हो ।’
तत्कालीन अवस्थामा जिल्लाको कार्यकारी भूमिकामा रहेको जिल्ला विकास समितिले अपनत्व गरेको गुरु योजनाको कार्यान्वयन र यसका बारेमा थप छलफल नहुँदा र जिल्ला समन्वय समितिको भूमिका समन्वयकारी मात्रै भएकाले पनि गुरु योजनाको कार्यान्वयनमा खासै कसैले पनि चासो नदिएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले जानकारी दिए ।
यस्तो थियो गुरु योजनाको प्रथामिकता
सिंजाको १० वर्षे पर्यटन गुरु योजनाको पहिलो प्रथामिकता भनेकै खस भाषा र सभ्यतालाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन पहिलो नम्बरमा उल्लेख थियो । जस अनुसार सिंजा उपत्यकामा मात्रै तीन सय चार वटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने, जुम्लाका रैथाने भाषा, संस्कृतिको संरक्षण र प्रचार गर्दै पर्यटक भित्र्याउने विषयलाई गुरु योजनाले आफ्नो प्राथमिकतामा राखेको थियो ।
गुरुयोजनामा सिंजा क्षेत्रमा चारलेन सडक निर्माण, तटबन्ध निर्माण, ओझेलमा परेका मठमन्दिरको पुर्ननिर्माण तथा व्यवस्थापन, खस संग्राहलय निर्माण, खास सभ्यतामा स्नातकोत्तर अध्ययन गर्ने कलेजको स्थापना, पर्यटक बिरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, धार्मिक मठमन्दिरको संरक्षण गर्ने, पशु चौपायाको संरक्षणस्थल निर्माणलगायतका विषयलाई गुरुयोजनाले निकै ठूलो महत्वका साथ अघि सारेको थियो ।
त्यस्तै, कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफाको गरुड नुहाउनी मन्दिर, वाणगङ्गा मन्दिर, छरिएका बेवारिसे अवस्थाका ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचिन वस्तीका भग्नावशेषको संरक्षण हुन नसक्दा सिंजा पर्यटकीय गन्तव्यको जिर्णोद्धार तथा पुन निर्माण गर्ने भनिएको थियो तर नयाँ संविधान अनुसार कार्यकारी अधिकार पाएका स्थानीय तह र प्रदेश सरकारले यस गुरु योजनाको कार्यान्वयनमा चासो नदिएकाले सिंजा क्षेत्रमा अपेक्षित रुपमा पर्यटकहरूलाई भित्र्याउन नसकिएको हो ।