सिमकोट । नेपालको भ्रमणमा रहेका गैरआवसीय भारतीय अस्ट्रेलियाका अशोक पर्मलाले पशुपतिनाथ र मुक्तिनाथको दर्शन गरे। उनीसहित तीन जनाको टोली नेपाल हुँदै कैलास मानसरोवर परिक्रमा गर्न जान काठमाण्डू आएको थियो। उनीहरू यो साता रसुवागढीतिर जाने योजनामा थिए।
तर मङ्गलवार सबेरै तिब्बतबाट नेपाल प्रवेश गरेको भीषण बाढीका कारण नेपाल र चीनबीचको प्रमुख नाका अवरुद्ध भएको छ। तिब्बत प्रवेश गर्ने नाकामा अवस्थित मितेरी पुल बगेपछि नेपाल र चीनबीच सडक सम्पर्क भङ्ग भएपछि उनलाई आफ्नो तीर्थयात्राको योजना बिथोलिने पो हो कि भन्ने डर लागेको थियो।
तर उनले केही महँगो विकल्प रोजे। केरुङ नाका हुँदै तिब्बत प्रवेश गर्नुको सट्टा उनी हिल्साबाट मानसरोवर जान उनी बुधवार नेपालगन्ज उडेका छन्।
'सुरुमा हामी तीन जनासहित अमेरिका, यूके र नेपालका गरी १२ जनाजतिको समूहसँगै जान लागेका थियौँ। तर खराब मौसमका कारणले पुल भत्किएपछि केहीले योजना परित्याग गरे। अहिले हाम्रो समूहमा अस्ट्रेलियाका तीन र एक जना यहाँका छन्।'
उनले वैकल्पिक मार्ग रोजेर यात्रा गर्दा हवाई उडानको खर्च बढेको र आफूले यात्राका लागि छुटाएको समय पनि बढाउनुपर्ने अवस्था आएको उनी बताउँछन्।
'यसबाट केही असहजता पनि भएको छ। किनभने हामीले आफ्नो फर्किने उडानहरूको समय फेरबदल गर्नुपर्ने हुन्छ। उचाइमा यात्रा गर्नुपर्ने छ, तपाईँ आँफै सोच्न सक्नुहुन्छ अन्तिम बेलामा निर्णय बदल्नु कति कठिन हुन्छ।'
'हामी यहाँ एउटा उद्देश्यले आएका हौँ। अनि हामी 'कोरा' परिक्रमो पूरा गर्न चाहन्छौँ। हामी अस्ट्रेलियाबाट यहाँसम्म आयौँ, त्यही भएर म यो यात्रा पूरा नगरी फर्किन चाहिनँ। हिन्दू भएका नाताले कैलास पर्वतसम्म पुग्नु ठूलो पुण्य हो। नजाने निर्णय लिनु ज्यादै पीडादायी हुन्थ्यो त्यही भएर मैले परिवारसँग सल्लाह गरेर यात्रा कायम राख्ने निर्णय लिएँ।'
कोही वैकल्पिक मार्ग रोज्दै, कोही यात्रा रद्द गर्दै
मङ्गलवार बिहान एक्कासि आएको बाढीले रसुवागढीमा रहेको मितेरीपुल बगाएपछि कैलास मानसरोवर जाने उद्देश्यसहित नजिकै बास बसेका पर्यटकहरूलाई उद्धार गर्नुपरेको थियो।
नेपाल पर्यटन बोर्डले सबै पर्यटकहरूलाई रसुवा-केरुङ रूट प्रयोग नगर्न भन्दै चेतावनी नै जारी गरेको थियो।
असोशिएसन अफ कैलास टूर अपरेटर्सका अध्यक्ष विमल नहर्की भन्छन्, 'कैलास मानसरोवर जानका लागि नेपाल आउन विमानस्थल पुगेर बोर्डिङ हुन लागेका कति यात्रीहरूलाई अहिले हामीले उतै रोक्नुपर्यो। कति दिनसम्म बाटो फेरि सञ्चालन हुँदैन। कुन नाकाबाट जान चीन सरकारले हामीलाई अनुमति दिन्छ, त्यो अझै स्पष्ट छैन। हजारौँ यात्रीहरू आउँदा आउँदै रोकिएर उतै बसेका छन्।'
धार्मिक आस्था जोडिएको हुनाले धेरै जनाले समय तालिका मिलाएर भ्रमणलाई निरन्तरता दिने अपेक्षा गरेका उनले केरुङ नाका हुँदै तिब्बत प्रवेश गरेर मानसरोवर जाने ध्याउन्नमा रहेका कतिपय पर्यटकहरू यो विपद्मा फसेका र त्यसपछि उनीहरूले यात्रा स्थगित गरेका बताउँछन्।
'आइसकेका मानिसहरू पनि यहाँबाट टिमुरे पुगेका थिए र भोलिपल्ट बिहान सीमा पार गर्ने भनेर बसेका थिए। तर बाढी गइदियो। उनीहरू फर्किएर आफ्नो गन्तव्यतर्फ लागेका छन् भन्ने पनि मैले सुनेको छु,' नहर्कीले भने।
कोभिड महामारी र त्यसपछि भारत र चीनबीच सीमा क्षेत्रमा चर्किएको तनावका माझ भारतीय नागरिकहरूका निम्ति कैलास मानसरोवरको परिक्रमा यात्रामाथि चीनले रोक लगाएको थियो।
दिल्ली र बेइजिङका उच्च अधिकारीहरूबीच तनाव कम गर्ने दिशामा प्रगति भएसँगै यो साल भारतीय स्थलमार्गबाट निश्चित कोटा तोकेर तीर्थयात्रीहरूलाई कैलास मानसरोवर यात्रा खुलाउन चीन सहमत भएको थियो।
यता नेपालतर्फ चल्तीमा रहेका रसुवागढी र हिल्सा नाका प्रयोग गर्दै यस वर्ष २०,००० भन्दा बढी भारतीय पर्यटकलाई मानसरोवर पुर्याउने उद्देश्यमा पर्यटन व्यवसायीहरू थिए। त्यसबाहेक काठमाण्डूबाट ल्हासासम्म हुने सोझो उडानबाट पनि केही पर्यटकहरू त्यसतर्फ जान्छन्।
अशोक पर्मलाजस्ता केहीले आफ्नो जीवनको असाधारण तीर्थयात्रालाई निरन्तरता दिने निर्णय गरे पनि नेपाल हुँदै मानसरोवर जाने कैयौँ पर्यटकहरूले उक्त विपद्लगत्तै यात्रा रद्द गर्न थालेका पर्यटन व्यवसायीहरू बताउँछन्।
असोसिएशन अफ कैलास टूर अपरेटर्सका महासचिव समेत रहेका एल्पाइन कैलास ट्रेकका म्यानेजिङ डाइरेक्टर प्रदीप पण्डित पछिल्लो विपद्का कारण उल्लेख्य रूपमा कैलास मानसरोवर जाने पर्यटकहरूको सङ्ख्या घट्न सक्ने चिन्ता व्यक्त गर्छन्।
'मे महिनामा सीजन सुरु हुँदाबाटै पर्यटकहरू पठाउन थालेको भए हामी ५०,००० जनालाई यो साल पनि पठाउन सक्थ्यौँ। तर जुन महिनाको अन्त्यमा आएर मात्रै यो खुल्यो। अनि अहिले जुलाई लाग्दालाग्दै बाढीले पुल बगायो। तातोपानी नाका पनि खुलेन र हिल्साबाट मात्र पठाउनुपर्यो भने धेरै ठूलो सङ्ख्या हुँदैन।'
उनले मनसुनमा हवाई उडानहरू पनि मौसमका कारण नियमित नहुने भन्दै वैकल्पिक नाका खोलिए मात्र प्रभावित भएका पर्यटकहरूलाई त्यहाँ जाने प्रबन्ध मिलाउन आफूहरूले सक्ने बताए।
स्थलमार्गहुँदै केरुङ नाकाबाट चीन प्रवेश गर्न अनुमति लिएका पर्यटकहरूलाई अन्य नाकाबाट प्रवेश गर्न सहज बनाउन 'रूट पर्मिट' व्यवस्थापन गर्ने प्रयास थालिएको भए पनि केही प्रगति नभएको पण्डितले सुनाए।
'अर्को स्थलमार्ग खुलेन भने हेलिकप्टरबाट हिल्सासम्म पुग्नुपर्छ। त्यसो हुँदा खर्च पनि बढ्छ। रसुवागढीबाट योजना गरेको भन्दा करिब १ लाख भारतीय रुपैयाँभन्दा धेरै खर्च त्यहाँबाट जाँदा हुन्छ।'
पर्यटन व्यवसायीहरूका अनुसार रसुवागढीबाट कैलास मानसरोवर जाने पर्यटकहरूले यात्रा प्याकेजका लागि कम्तीमा २ लाख भारतीय रुपैयाँ र हवाई मार्गबाट हुम्ला हुँदै जानेहरूले कम्तीमा ३ लाख भारतीय रुपैयाँ खर्च गर्दै आएका छन्। नेपाली पर्यटन व्यवसायीहरूले करिब ५,००० डलरसम्मको यात्रा प्याकेज कैलास मानसरोवरका लागि रहेको बताउने गरेका छन्।
मे महिनादेखि सेप्टेम्बर महिनाबीचको समयलाई कैलास मानसरोवर तीर्थयात्रामा जाने समय मानिन्छ। सन् २०१९ मा झन्डै ५०,००० पर्यटकहरू नेपाल हुँदै त्यहाँ गएको पर्यटन व्यवसायीहरू बताउँछन्।
सिमीकोटमा चहलपहल
स्थलमार्ग अवरुद्ध भएलगत्तै मानसरोवरका लागि हेलिकप्टरमार्फत् हुम्ला जाने पर्यटकहरूको सङ्ख्या वृद्धि हुन थालेको व्यवसायीहरूले बताएका छन्।
हाल हुम्लामा रहेका कैलास भिजन ट्रेकका सञ्चालक सागर आचार्यले भने, 'आज मात्रै नेपालगन्जबाट १८ देखि २० वटा हेलिकप्टर उडान भएको छ। भोलि गाडीबाट र हेलिकप्टरबाट २०० जना आउने कुरा छ।'
उनले सिमीकोट पुगेका पर्यटकहरू हिल्सासम्म हेलिकप्टरमा जाने र त्यहाँबाट ताक्लाकोट हुँदै मानसरोवरतर्फ प्रस्थान गर्ने बताए।
'तर हेलिकप्टरबाट हामी एक सीजनमा ८,०००(९,००० जनाभन्दा बढी तीर्थयात्रीलाई कैलास पठाउन सक्दैनौँ। हवाईमार्गबाट हाम्रो क्षमता सीमित छ।'
असोसिएशन अफ कैलास टूर अपरेटर्सका अध्यक्ष विमल नहर्की आफूहरूले मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय राखेर कैलास मानसरोवर जाने तीर्थयात्रीहरूलाई सहज बनाइदिन सरकारलाई अनुरोध गरेको बताउँछन्।
'कोरोला नाका हाम्रा लागि उत्तम विकल्प हुन सक्छ किनभने चिनियाँ भूभागतर्फ उहाँहरूले सबै तयारी गर्नुभएको छ। हाम्रोतर्फ पनि बाटो पुगिसकेको छ। एउटा अध्यागमन स्थापना गरेर यसलाई सञ्चालन गर्न सकियो भने एकैपटकमा कालीगण्डकी कोरिडोरदेखि पोखरा, मुक्तिनाथसम्म पनि पर्यटकहरूलाई लिएर जान सक्थ्यौँ।'
'त्यस्तो हुँदा पर्यटकको नेपालमा बस्ने अवधि पनि धेरै हुन्छ र हामीले बढी फाइदा पाउँछौँ। कोरोलाबाट एकैदिनमा हामी तिब्बत पुग्न सक्छौँ।'
नेपाल सरकार के गर्दै छ ?
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेका अनुसार नेपालमा अन्य पर्यटकीय चहलपहल कम हुने बर्खा यामको छेकोमा कैलास मानसरोवरको दर्शन गर्न निस्किने पर्यटकहरूले केही दिन नेपालमा बिताउने हुँदा पर्यटन क्षेत्र केही लाभान्वित हुने गरेको छ।
कतिपय पर्यटकहरूले पशुपतिनाथ र मुक्तिनाथको पनि भ्रमण गर्ने र उनीहरूको नेपाल बसाइको अवधि केही लम्बिने गरेको उनी बताउँछन्।
व्यवसायीहरूका अनुसार पर्यटकहरूले गर्ने ठूलो खर्च भने चीनतर्फ नै केन्द्रित हुन्छ। तर 'अफ-सीजन' मा नेपालका होटल, यातायत र वायुसेवा प्रदायकहरूले पनि कैलास मानसरोवर पर्यटनबाट फाइदा लिने गरेको पाइन्छ।
अहिलेको विपद्पछि खोज तथा उद्धारमा केन्द्रित हुनुपरेकाले कैलास मानसरोवर प्रवेश गर्ने वैकल्पिक मार्गबारे आफूहरूले चिनियाँ पक्षसँग छलफल आरम्भ गर्न बाँकी रहेको अधिकारीहरू बताउँछन्।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भने, ूकैलास मानसरोवर गएर फर्किएका २०० जनाजति केरुङमा आइसक्नुभएको थियो। उहाँहरूलाई तातोपानीको रूटबाट नेपाल पठाउने काम सुरु भइसकेको छ।ू
उनले हाल मानसरोवर दर्शन गरेर फर्कने क्रममा रहेका सबै तीर्थयात्रीहरू अब तातोपानीको रूट हुँदै नेपाल फर्कनेबारे चिनियाँ पक्षसँग सहमति भएको पनि उल्लेख गरे।
निरौला भन्छन्, 'भारतीय र अन्य पर्यटकहरू काठमाण्डू आएर यता आउने तयारीमा पनि हुनुहुन्छ। यो उद्धारको काम टुङ्गोमा पुर्याएपछि त्यसमा (चिनियाँ पक्षसँगको छलफलमा) हामी प्रवेश गर्छौँ।'
व्यवसायीहरूका अनुसार रसुवागढी हुँदै कैलास पुगेका १,००० जनाभन्दा बढी पर्यटक अहिले पनि त्यस क्षेत्रमा छन् र उनीहरूलाई तातोपानी नाका हुँदै फिर्ता ल्याइने छ।
चीन सरकारले भारतीयहरूलाई कैलास मानसरोवर भ्रमणमा रोक लगाउनुअघिसम्म नेपाल हुँदै उक्त पवित्र तीर्थस्थल जाने पर्यटकहरूको ठूलो हिस्सा भारतीयहरूको रहेको बताउँछन्।
त्यसपछिका वर्षमा पश्चिमा देशहरूमा नागरिकता लिएका गैरआवासीय भारतीयहरू ठूलो सङ्ख्यामा नेपाल हुँदै उक्त धार्मिक स्थलको भ्रमण गर्ने गरेको पाइन्छ।
पर्यटन व्यवसायीहरूले हाल उपलब्ध गराउँदै आएको प्याकेजअन्तर्गत रसुवा हुँदै कैलास मानसरोवर जाने पर्यटकहरूले साधरणतया कम्तीमा तीन दिन नेपालमा र १० दिन तिब्बतमा बिताउने गरेका थिए।