मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले चालु आर्थिक वर्षको शुरुका छ महिनामा मुगुबाट १२ जना लागू औषधका कारोबारीलाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न क्षेत्रमा लागू औषध ओसारपसार तथा कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–१ बस्ने २१ वर्षीय रविन्द्र मल्ल, २२ वर्षकी सञ्जु भन्ने हीरा मल्ल, नेपालगञ्ज उपमहानरपालिका–२२ कार्कीधो बस्ने २४ वर्षीय पुरन महतारा, चन्दननाथ नगरपालिका–४ मालाभिड जुम्लाका २९ वर्षीय उपेन्द्रप्रसाद मल्ल र कनकासुन्दरी गाउपालिका–३ घर भई हाल छायाँनाथ रारा नगरपालिका–२ न्युरोडस्थित न्यु सोनम गेष्ट हाउस सञ्चालक ३० वर्षीय ललित बुढा भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद शाहले जानाकारी दिए । उनीहरूमध्ये ललित बुढाबाट ५१ ग्राम, हीरा मल्लबाट १० मिलिग्राम, रविन्द्र मल्लबाट २८ मिलिग्राम ब्राउन सुगर प्रहरीले फेला पारेको छ ।
जिल्ला प्रहरी प्रमुख शाहका अनुसार समुदाय र प्रहरी बीचको प्रघाट सम्बन्धका आधारमा जिल्लाका खबर अभियान्ताहरु सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुगुको सुरक्षा टोलीले स्थानीयका घर, पसल, होटल खान्तलासी गर्दै जाँदा लागूऔषध ब्राउन सुगरसमेत भेटेर उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका मध्ये केहीलाई जिल्ला प्रहरी कार्यालयको हीरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । भने छायाँनाथ रारा नगरपालिका–१ का जयन्द्रबहादुर शाही, सुजलबहादुर मल्ल, प्रकाश मल्ल, लोकेन्द्र मल्ल, दल बहादुर विक, ललितजंग विकलाई १ लाख २० हजार, एक लाख २ हजार, ५ हजार २० हजार र १५ हजार रुपैयाँ धरौटीमा छोडिएको छ ।
‘अहिले मुगुमा १५ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुले लागू औषध तथा ब्राउन सुगर ओसारपसार गर्ने कार्यमा संलग्न भएका छन् ।’ प्रहरी नायव उपरीक्षक शाहले भने, ‘यो अवस्था हेर्दा मुगु पनि लागू औषधको ट्रन्जिट प्वाइन्ट जस्तो हुने हो भन्ने सुरक्षा चिन्ता थपिएको छ ।’
जिल्लाका सबै क्षेत्रको रचनात्मक सहयोग र सूचनाका आधारमा प्रहरीले छ महिनाको छोटो अवधिमा १२ जनालाई पक्राउ गर्न सफल भएको उल्लेख गरेको शाहले आफ्नो कार्यकालसम्म मुगु जिल्लालाई लागू औषध मुक्त जिल्ला बनाउने अभियानमा आफू लागेको दाबी गरे । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले गाँउघरमा कतै झै झगडा, अस्वभाविक क्रियाकलाप र लागू औषधको कारोबार भएमा स्थानीय समितिका सदस्यहरुले सिधैं नजिकको प्रहरीमा खबर गर्ने भएकाले विभिन्न आपराधिक घटना र लागू औषधको कारोबारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन सहज भएको जिल्ला प्रहरी कार्यालय मुगुले उल्लेख गरेको छ ।
जिल्लामा भएका दुई सय ७० वटा टोल, वडा, विद्यालय, नगर/गाउँपालिका र जिल्लास्तरीय समिति गठन भएको जानाकारी दिएका जिल्ला प्रहरी प्रमुख शाहले प्रत्येक दिन गठित समितिहरुसँग मिलेर नेपाल प्रहरीले केही न केही सार्वजनिक सुरक्षा र जनचेतनामूलक कार्यक्रम गरिरहेकाले प्रहरीले लागू औषध मात्रै नभए जिल्लाका सामाजिक अपराधका घटनालाई समेत निकै कम गराउन सक्ने विश्वास व्यक्त गरे ।