काठमाडौं । कोरोना भाईरसको महामारी फैलिएको चीनको हुवेई प्रान्तमा रहेका नेपाली लिन आज नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० त्यसतर्फ जाने भएको छ । हुवेई प्रान्तका विभिन्न शहरबाट नेपाल फर्कन चाहने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज आज अपरान्ह अपरान्ह २ः४५ बजे चीन जान लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार आज हुवेई उडेको जहाज नेपाली लिएर आईतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन ।
निगमका पाइलट चीन जान मानेनन् भन्ने समाचारको निगमका प्रवक्ता अर्चना खड्काले खण्डन गर्दै यो समाचारमा कुनै सत्यता नरहेको बताइन । उनका अनुसार जहाजका सबै कर्मचारी इमान्दारीपूर्वक सेवामा खटिन तयार छन । बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ ।
हुवेई प्रान्तका विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीहरुलाई वुहानमा भेला गरिनेछ । चीनबाट ल्याइने विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ । चीनको हुवेइ प्रान्तको वुहानलगायतका शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।
चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो । अहिले चीनको २२ प्रान्त तथा विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिसकेको बताइन्छ । चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस संक्रमण नभएको प्रमाणित भएपछि मात्रै सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ शैयाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।