कार्तिक ६, काठमाडौँ । साझा यातायातले मंगलबार विद्युतीय बसको परीक्षण गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार (आज) बिहान उद्घाटन गरे । उक्त बसमा चढेर ओली पुल्चोकस्थित साझा यातायातको कार्यालयबाट सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए ।
एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको पाँच वटा विद्युतीय बस लुम्बिनी एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म साझा यातायात प्रालीको व्यवस्थापनमा काठमाडौं उपत्यकामा गुडाउन लागिएको हो ।
यसलाई काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिएको छ । काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने सुरुवात साझाले नै गरेको थियो । साझा यातायात आफैंले विद्युतीय बस भित्र्याउन पहल गरिरहेको प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले जानकारी दिए ।
कस्तो छ विद्युतीय बस ?
साझा यातायातले पाँच वटा बिजुली बस सुरुमा विभिन्न रुटमा गुडाएर परीक्षण गर्नेछ ।
त्यसपछि उपयुक्त रुट तोकेर सञ्चाल न गरिनेछ । प्रमुख कार्यकारी अधिकृत तुलाधरका अनुसार बसमा २० जना यात्रु सिटमै बसेर यात्रा गर्न सक्छन् । उभिएर यात्रा गर्न ओपन स्पेस पनि छ । यो बसमा अशक्त आपांग पनि सजिलै चढ्न सक्छन् । किनकी अपांगहरुलाई ह्वील चियर राखेर अटोमिटक रुपमा बसभित्र ल्याउन सकिने लिफ्ट सिस्टम जडान गरिएको छ । सिटका छेउमा चार्जका लागि यूएसबी पोर्टहरु राखिएका छन् । बसभित्र एसीको सुविधा छ ।
यो बस धेरै लमो छैन । लुम्बिनिी विकास कोषले पर्यटकहरुलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी क्षेत्रमा लैजान ल्याएकाले बस छोटा छन् ।
वातावरणीय दृष्टिले विद्युतीय बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । विद्युतीय बस धुवाँरहीत हुने भएकाले यसको प्रयोगलाई सरकारले पनि जोड दिएको छ ।
साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितका अनुसार बसहरु लुम्बिनी क्षेत्रमा सञ्चालन गरिने भएपनि भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नबनेसम्म राजधानीकै खाल्डखुल्डीरहित सडकमा सञ्चालन गरिने छ ।