काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रेसजगत् संक्रमणकालीन अवस्थामा रहेकाले समस्या देखिएको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रेसमाथि हुने गरेका घटना, सरकार र प्रेसबीचको समस्या संक्रमणकालको कारण देखिएको बताउनुभयो । उहाँले समस्या औँल्याउदै गर्दा समाधानका लागि आफूले पहलकदमी लिने, आफू प्रेस मुद्धामा सकारात्मक रहेको बताउनुभयो ।
काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वायत्तताका पक्षमा उभिदाँ र गल्ती कमजोरी औँल्याइदिँदा काउन्सिलमाथि प्रहार भएको बताउनुभएको छ ।
उहाँले पटकपटक काउन्सिलको स्वायतत्ता खोस्न खोजिएको भन्दै त्यस्ता कदमका विरूद्ध न्यायालय गुहार्नुपरेको बताउनुभयो । सरकारले जोखिमपूर्ण अवस्थामा दायित्व निर्वाह गरिरहेको काउन्सिलको बजेट कटौती, पुरस्कार वितरण रोक्का र बोर्ड बैठक तथा वार्षिकोत्सव कार्यक्रममा तालुकदार सम्पर्क मन्त्रालयका पदाधिकारीलाई सहभागी हुन नदिइएकोमा आपत्ति जनाउनुभयो । राज्यका तीनवटा अङ्गलाई खबरदारी गर्ने चौथोे अङ्गलाई अङ्गभङ्ग गराउँदै हिँड्न नहुने धारणा राख्नुभयो ।
संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखेर कानुनमार्फत् चाहिँ कस्न खोजिएको भन्दै श्रेष्ठले संविधान उदार र कानुन कडा गर्दा समस्या भएको बताउनुभयो । ‘यदि हामी यति कञ्जुस हुन्थ्यौँ भने संविधानमा किन पूर्ण प्रेस स्वतन्त्रता भन्ने वाक्य राखेको ?’ अध्यक्ष श्रेष्ठले सभामुख अग्नि सापकोटासँग जिज्ञासा राख्नुभयो ।
सरकारले हरेक वर्ष वैशाख २५ गतेका दिन १० जना पत्रकारलाई राष्ट्रिय र वरिष्ठ पत्रकारिता पुरस्कार वितरण गर्दै आएकोमा कोरोनाको कारण देखाउँदै यसवर्ष रोकिएको तर अन्य क्षेत्रको हकमा भने पुरस्कार र पदकमा दोहोरो मापदण्ड देखाइएकोमा असन्तुष्टि व्यक्त गर्नुृभयो । राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिमा प्रेस काउन्सिलका अध्यक्ष र पत्रकार महासङ्का अध्यक्षसमेत सदस्य रहने व्यवस्था छ ।
कोरोनाका कारण पत्रपत्रिका प्रकाशन बन्द भएको र सञ्चारमाध्यम धरासायी भएको बेला काउन्सिलले वर्गीकरण टुंग्याएर नतिजा तयार पारेपनि सरकारले रोकेका कारण यसपटक नतिजा सार्वजनिक गर्न नसकिएको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले सरोकारवालाको राय, परामर्शबिना मिडिया काउन्सिललगायत विधेयकहरु ल्याउँदा विवाद उठेको बताउनुभयो । उहाँले लोकतन्त्रमा जसको लागि कानुन बनाउन खोजिएको हो, त्यसमा सरोकारवालाको सहभागिता अनिवार्य हुनुपर्ने उल्लेख गर्नुभयो ।
५१ औं वार्षिकोत्सवको दोस्रो चरणको महासंघ सभाहलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले भन्नुभयो, ‘लोकतान्त्रिक मुलुकमा सरकारले काउन्सिल चलाउँदैन, नेतृत्व हटाउँदैन, हस्तक्षेप एवं नियन्त्रण पनि गर्दैन । काउन्सिलले आचारसंहिता नियमन गर्ने हो । मन्त्रालयमातहत शाखा बनाउन खोजे हामीलाई स्वीकार्य हुँदैन, त्यस्तो काउन्सिलमा पत्रकारको सहभागिता रहन्न ।’
पछिल्लोपटक पत्रपत्रिका वर्गीकरण सम्परीक्षण समितिका अध्यक्ष, सूचना विभागका महानिर्देशक वर्गीकरण बैठकमा सहभागी नहुनु र वर्गीकरणसम्बन्धी काम नगर्नु भन्ने आदेशले काउन्सिलको स्वायत्तता र प्रेसमाथि हस्तक्षेप प्रष्ट देखिएको भन्दै आचार्यले काउन्सिलमार्फत मिडियालाई नियन्त्रण खोजेकोमा महासंघको आपत्ति प्रकट गर्नुभयो । बिहान ११ बजे पहिलो चरणमा वार्षिकोत्सव समारोह तथा पुरस्कार वितरण कार्यक्रमअन्तर्गत शीतलनिवासमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल आचारसंहिता पुरस्कार वितरण भएको थियो ।
विभिन्न पुरस्कार वितरण
यसवर्ष पाल्पाको तानसेन नगरपालिकाले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार पूर्व राजदुत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई प्रदान गरिएको छ । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी १ लाख ५१ हजार रुपैयाँ छ ।
१ लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ भने ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिएको छ ।
त्यस्तै २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ)लाई दिइएको छ ।
यस्तै, १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार यस वर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिराहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ)लाई दिइएको छ ।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाई प्रदान गरिएको छ ।