नयाँदिल्ली : भारतको नयाँदिल्लीमा विश्व स्वास्थ्य संगठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीले स्थानीय बासिन्दालाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदूषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् ।
दीपावलीअघि नै शहरमा बाक्लो तुँवालोले ढाकिएपछि यहाँका बासिन्दामा त्रास फैलिएको छ । दीपावली मनाउँदा पटाका पड्काइने भएकाले वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएका छन् ।
प्रदूषण कम गर्न शहरभित्र भइरहेका निमार्णकार्यलाई नियन्त्रण गरिएको छ । सबै विद्यालयहरूमा तीन दिन बिदा दिइएको छ ।
भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटका पड्काउन आदेश दिएको छ तर धार्मिक आस्थाका कारण हुने गतिविधिमा त्यस प्रतिबन्ध लागू गर्न निकै कठिन हुने उनीहरूको विश्वास छ । भारतीयहरूले दीपावलीलाई ‘असत्यमाथि सत्यको विजय’ हुने संकेतका रूपमा मनाउने गर्छन् ।
विश्व स्वास्थ्य संगठनले १४ भारतीय शहरलाई अतिप्रदूषित सूचीमा राखेको छ । दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ । भारतीय शहरहरूमा पछिल्ला केही वर्षयता वायु प्रदूषणको मात्रा निकै बढेको बताइने गरेको छ ।
भारतीय राजधानी दिल्लीमा छिमेकी राज्यहरू पञ्जाब तथा हरियाणाका किसानहरूले जमिनको उर्वराशक्ति बढ्ने विश्वासका साथ खेत सफा गर्ने क्रममा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बरमा वायुको गुणस्तर खस्कने गरेको भारतीय अधिकारीको बुझाइ छ ।
राजधानी दिल्लीमा बढेको प्रदूषणमा कमी गर्न भारत सरकारले पटक पटक नियन्त्रणका योजना सार्वजनिक गरे पनि सवारी साधनको अत्यधिक चाप र अव्यवस्थित शहरीकरण साथै औद्योगिकीकरणले यस कार्यमा चुनौती दिने गरेको छ ।
प्रदूषण कमी गर्न र प्रदूषणमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय संघसंस्था, नागरिकहरूले जनचेतना सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।, एएफपी