शुरोजंग पाण्डे
काठमाडौं । अध्यक्ष प्रचण्डलाई सम्बोधन र वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोधार्थ दिई ओलीले लेखेको पत्रमा गुटबन्दी गरेर आफ्नाविरुद्ध घेराबन्दी गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताले गुटबन्दी गरेको आरोप लगाएका छन् । प्रचण्डसहितका पाँच नेताले सचिवालय बैठक बोलाउन माग गर्दै बुझाएको दुई पेज लामो लिखित पत्रको जवाफ दिँदै ओलीले पनि पत्र लेखेका हुन् ।
कार्यकारी अध्यक्ष प्रचण्डलाई सम्बोधन र सचिवालयका अन्य चार नेता (झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ)लाई बोधार्थ दिई ओलीले लेखेको पत्रमा आफ्नाविरुद्ध घेराबन्दी र पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका छन् ।
‘पार्टीको बैठकअघि नै विभिन्न ठाउँमा गुटको बैठक बस्ने, एजेन्डा बनाउने र त्यही एजेन्डा बोकेर पार्टीको आधिकारिक बैठकमा आउने अभ्यास भएको छ, त्यसले पार्टीको निर्णयलाई कमजोर बनाएको छ,’ ओलीको पत्रमा उल्लेख भएको सचिवालयका एक सदस्यले बताए ।
पत्रमा ओलीले प्रचण्ड र उनीसहितका सचिवालयका नेताहरूले गुटबन्दी तथा गलत प्रचार गरेको आरोप लगाएका छन् । ‘दुई अध्यक्षबीच भएका छलफलले तय गरेका एजेन्डामा मात्र बैठक बस्ने भन्ने सहमति हो, तर अन्यन्त्र एजेन्डा बनाएर आउने मात्र होइन, नेताहरूबीच भएका छलफललाई अन्यथा अर्थ लगाई प्रचार गर्ने गरिएको छ, त्यसले पार्टीलाई कमजोर बनाएको छ,’ सचिवालयका सदस्यले पत्र उद्धृत गर्दै भने, ‘बरु पार्टीमा कार्यकारी अध्यक्षसहित अन्य नेताहरूमाथि पनि आरोप छ, आरोपको प्रत्यारोप मात्र छ, तर पार्टी विवाद कसरी समाधान गर्ने भन्ने विषयमा कुनै एजेन्डा आएको छैन ।’ सचिवालयका ती सदस्यका अनुसार प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा अन्य नेतालाई बोधार्थ छ ।
यसअघि अध्यक्ष प्रचण्डसहित पाँच शीर्ष नेताले २२ कात्तिकमा बालुवाटार पुगेर बैठक बोलाउन दुई पेज लामो लिखित पत्र बुझाउँदै ४८ घन्टाभित्र सचिवालय बैठक राख्न आग्रह गरेका थिए । ओलीलाई बुझाइएको लिखित पत्रमा प्रधानमन्त्री ओलीमा व्यक्तिवाद हावी भएको, स्थायी कमिटीका निर्णयहरूलाई निरन्तर उल्लंघन गरेको, प्रधानमन्त्रीकै कारण कर्णाली प्रदेशमा समस्या उत्पन्न भएको, कोभिड– १९ महामारी नियन्त्रण गर्न नसकेको, पर्सामा पार्टी कार्यकर्ता हत्या हुँदा गुटगत संरक्षण गरेकोलगायतका आरोप थिए । प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई बोलाएर भेटेकोमा पनि प्रचण्ड–नेपाल समूहको असन्तुष्टि छ ।
त्यस्तै, ओलीले पार्टी नेताहरूलाई समेत अपमान गर्ने शब्द प्रयोग गर्दै आएका विषय पनि उठाइएको थियो । प्रधानमन्त्रीले पार्टीका केन्द्रीय सदस्यहरूलाई सडकछाप, स्थायी कमिटी सदस्यहरूलाई हुल्लडवाज भनेर पार्टी नेताहरूको हुर्मत लिने गरी अपमान गर्ने गरेकोजस्ता विषयसमेत पत्रमा उल्लेख थियो । पाँच नेताले लेखेको पत्रमा ओलीले सरकारलाई जनमुखी बनाउन नसकेको, पार्टीलाई पनि एकताबद्ध बनाई गतिशील गराउन नसकेको तथा स्थायी कमिटीका निर्णय कार्यान्वयनमा गम्भीर नभएको आरोप छन् ।
पाँच नेताले लेखेको पत्रमा आफूमाथि लगाइएको आरोपको जवाफ दिँदै ओलीले जवाफी पत्र लेखेका हुन् । तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गर्दै लिखित पत्र बोकेर बालुवाटार गएका कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका पाँच सदस्य र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीबीच त्यस दिन पनि तिक्ततापूर्ण संवाद भएको थियो । धुम्बाराहीमा दोस्रो दिन छलफल गरेर एकैपटक बालुवाटार पुगेका नेताहरूले बैठक माग गर्दै लिखित पत्र बुझाएका थिए ।
त्यस दिन पनि प्रधानमन्त्री ओलीले जहिल्यै जाली–झेली कुरा गर्ने, मान्छेलाई भड्काउने, गुटबन्दी गर्नेलगायतका आरोप लगाउँदै प्रचण्डप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए । जवाफमा प्रचण्डले बालुवाटारमा बसेर जालझेल र चरम गुटबन्दी गर्ने गरेको आरोप लगाएका थिए । वरिष्ठ नेता नेपाल, खनाल, गौतम र श्रेष्ठले पनि ओलीको कार्यशैलीमाथि प्रश्नैप्रश्न उठाएका थिए ।
भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले पार्टी एकताको रक्षा गर्ने, पार्टी र सरकार सञ्चालनमा सकारात्मक परिवर्तन गर्ने, पार्टी र सरकारलाई विचार र नीतिका आधारमा सञ्चालन गर्ने, पार्टी र सरकार दुवैलाई विधि र पद्धतिका आधारमा संस्थागत ढंगले सञ्चालन गर्ने, सरकारलाई जनमुखी ढंगले सञ्चालन गरी सफल पार्ने तथा आगामी चैतमा पार्टी एकताको संक्रमणकाललाई अन्त्य गर्ने गरी एकताको राष्ट्रिय महाधिवेशन गर्नेसहितका १५बुँदे प्रस्ताव पारित गरेको थियो । ती निर्णय कार्यान्वयनमा समस्या देखिएपछि सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै सामूहिक पत्र लेखेका हुन् । यसबीचमा पार्टी प्रवक्ता श्रेष्ठले पनि दुई पत्र दुवै अध्यक्षलाई बैठकको माग गर्दै लेखेका छन् ।
ओलीसँग वारपारको अन्तर्संघर्ष हुने प्रचण्डको संकेत
कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको प्रस्ट संकेत गरेका छन् । बुधबार साँझ पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने युवा र विद्यार्थी संगठनका अगुवाहरूलाई पार्टीभित्रको पछिल्लो अन्तर्संघर्षबारे ‘ब्रिफिङ’ गर्दै ओलीसँगको सम्झौता सहज नभएको बताएका छन् । पार्टी एकतापछि ओली पार्टी र सरकार दुवैतर्फको नेतृत्वमा पूर्ण असफल भएको भन्दै प्रचण्डले अहिलेको अन्तर्संघर्ष पदीय लेनदन र भागबन्डाको नभएर मूलतः वैचारिक भएको दाबी गरेका छन् । प्रचण्डलाई भेट्न करिब डेढ दर्जन युवा–विद्यार्थी नेता उनको निवास खुमलटार पुगेका थिए ।
‘केपीजीले पटक–पटक पूर्वएमाले र पूर्वमाओवादीजस्तो कित्ता बनाएर पार्टी फुटाउन खोज्नुभो, तर पार्टी एकता जोगाएकै मैले र माधवजीले हो । उहाँले त वैशाखमै पार्टी फुटाउन खोज्नुभएको थियो, तर असफल भएपछि अहिले फेरि पूर्वएमाले र पूर्वमाओवादी भनेर कित्ताकाटको अधिकतम कोसिस गरिराख्नुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक विद्यार्थी नेताले भने, ‘हामीले नेकपा बनाउन खोजिरहेका छौँ, उहाँले एमाले बनाउन खोजिराख्नुभएको छ । हामी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दल सबैतिर बहुमतमा छौँ । त्यसकारण पार्टी फुटाए ओलीजीले नै फुटाउने हो । यसपटक विगतमा जस्तो उहाँसँग कुनै सम्झौताको सम्भावना छैन, दृढतापूर्वक लडिन्छ । पार्टी कमिटीले गर्ने सबै निर्णय उहाँले पालना गर्नुपर्ने हुन्छ । अब कसैलाई जतिसुकै चारो हाले पनि त्यसको कुनै अर्थ हुनेछैन ।’
उनले अहिलेको अन्तर्संघर्ष मूलतः पार्टीको विधि, नीति, सिद्धान्त र विधान मान्ने कि नमान्ने, मुलुकलाई यथास्थितिमै राख्ने कि जनताको जनवादको कार्यदिशा हुँदै समाजवादतिर लैजाने दुई समूहबीचको भएको पनि प्रस्ट्याएका थिए । ‘अहिलेको संघर्ष विधि मान्ने कि नमान्ने, मुलुकलाई यथास्थितिमा राख्ने कि समाजवादतर्फ लाने संघर्ष हो । यो कुनै नेतृत्व लिने वा दिने प्रश्नसँग जोडिएको छैन । पार्टी एकता गर्दा जनताको जनवादको कार्यदिशा अपनाउने सर्वसम्मत निर्णय भएको हो । त्यसलाई मान्ने कि नमान्ने संघर्ष हो,’ प्रचण्डको भनाइ थियो, ‘त्यसैले निरपेक्ष एकता भनेर मात्र हुँदैन । एकता हुनका लागि पार्टीको निर्णय, घोषणापत्र, विधान मान्नुपर्छ । पार्टी स्थायी कमिटीको निर्णय पालना गर्नुपर्छ, कार्यान्वयन गर्नुपर्छ भन्नेमा हाम्रो जोड हो ।’
सचिवालय बैठकमा ओली–नेपाल समूहको बेग्लाबेग्लै रणनीति
पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला शुक्रबार नेकपाको सचिवालय बैठक बस्दै छ । प्रचण्ड र नेपालसहित सचिवालयका पाँच शीर्ष नेताको लिखित अनुरोध र दुईपटकको अनौपचारिक बैठकको दबाबपछि प्रधानमन्त्रीको समझदारीमा बैठक बोलाइएको हो ।
बैठकमा प्रस्तुत हुने एजेन्डाबारे दुई अध्यक्षबीच सहमति नभएकाले प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बेग्लाबेग्लै आन्तरिक रणनीति बनाएका छन् । बैठकको एजेन्डा र छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार र अध्यक्ष प्रचण्डले निजी निवास खुमलटारमा निकट नेताहरूसँग बिहीबार बेग्लाबेग्लै परामर्श गरेका छन् ।
प्रचण्डले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग बेग्लाबेग्लै परामर्श गर्दै सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री ओलीको असफलता र स्थायी कमिटी निर्णय कार्यान्वयनका लागि उनको अवरोधक भूमिकाबारे विस्तृत रूपमै विषय उठान गर्ने तयारी गरेका छन् ।
‘हामीले विधि र निर्णयका आधारमा पार्टी र सरकार सञ्चालन नगर्दा पार्टी संकटग्रस्त भएको कुरा राखिसकेका छौँ । पार्टी र सरकारलाई विचार, नीति र सिद्धान्तका आधारमा चलाउनुपर्छ भन्दै आयौँ, तर कार्यान्वयन भएन,’ प्रचण्ड–नेपाल समूहका सचिवालय एक सदस्यले भने, ‘त्यसैले बैठकमा बहसले त राम्रै प्रवेश पाउनेछ । पहिलो बैठकमै राजीनामासम्मको विषय नउठ्ला, तर हामी त्यसमा थप सल्लाह र परामर्श गरेर अघि बढ्नेछौँ ।’
उता, प्रधानमन्त्री ओलीले भने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले प्रचण्ड र नेपाल समूहका नेताहरूले उठाउने विषयको प्रतिरक्षा र उपाध्यक्ष गौतमको सम्भावित भूमिकाबारे समेत परामर्श गरेका छन् । गौतमलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना रहेकाले सचिवालयमा उनको भूमिका विवाद समाधानमा कम्तीमा तटस्थ रहने र अन्ततः सरकारलाई नै सहयोग गर्ने प्रधानमन्त्री ओलीकोे आकलन छ ।
सर्वोच्च अदालतले राष्ट्रिय सभा सांसद र सरकारमा रहेर मन्त्रीका रूपमा काम गर्न पाउने गरी बाटो खुला गरेलगत्तै प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बधाई दिएका थिए । स्थायी कमिटीमा विवाद चर्किएका वेला समाधानका लागि ६ बुँदे रोडम्याप राखेर पार्टी एकता बचाउने भूमिका खेलेकाले पनि गौतमले अन्तर्विरोध मत्थर बनाउने काममै भूमिका खेल्ने ओलीसहित उनीनिकट नेताहरूले अपेक्षा गरेका छन् ।
बैठक बोलाउने विषयमै ओली र प्रचण्डबीच दुई सातादेखि मतान्तर रहेका कारण सचिवालयमा छलफल हुने एजेन्डा भने निश्चित भइसकेको छैन । प्रचण्डले अन्तर्विरोधका सबै विषय कमिटीले नै एजेन्डा बनाएर छलफल गर्ने भन्दै सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए भने प्रधानमन्त्री ओलीले विधानअनुसार दुई अध्यक्षले प्रस्तुत गर्ने एजेन्डामाथि गृहकार्य गरेर सहमति गरेपछि मात्रै बैठक बोलाउने अडान राख्दै आएका थिए ।
प्रवक्ता श्रेष्ठले आफूसहित पाँच शीर्ष नेताले राख्दै आएको विषयवस्तुलाई नै आधार मानेर बैठकमा मूलतः दुई विषयलाई एजेन्डा बनाएर सचिवालयमा छलफल हुन सक्ने बताए । ‘एजेन्डा के हुने विषयमा बैठकमै छलफल हुन्छ । एजेन्डा नभई बैठकमा छलफल हुने कुरा भएन,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हामीले एजेन्डा राखिसकेका छौँ । मुख्यतः दुई एजेन्डा प्रस्टै छन्, एउटा कोभिड– १९ ले पैदा गरेको स्वास्थ्य र आर्थिक संकट, अर्को पार्टी संकट र यसको निवारण । सम्भवतः यिनै विषयवस्तुमा बैठकमा छलफल हुनेछ ।’
साभार; नयाँपत्रिका