कार्तिक ३०, बागलुङ । भारतिय सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिकहरुले पेन्शनमा फेरी सास्ती बेहोर्न बाध्य भएका छन् ।
केही बर्ष अघि सम्म बागलुङ बजारको पेन्सन क्याम्पबाट सिधै पेन्शन बुझ्दै आएका धौलागिरीका भुपु सैनिकहरुले अहिले भने बैकंमा लामो समय लाइन लाग्नुपर्ने प्रक्रिया अपनाइएको छ । जसका कारण उमेरले बृद्ध बृद्धा भएका भूपु सैनिक र तिनका परिवारलाई बैंकमा लामो समय लाइन बस्नुपर्दा निकै ठुलो सास्ती बेहोर्नु परेको बागलुङको धम्जाका जितबहादुर बिकले बताए ।
यसअघि सदरमुकाम स्थित सैनिक बोर्डमा आएर पेन्सन पट्टा देखाएपछि पेन्सन बुझ्ने गरेका थिए । हरेक बर्ष ६÷६ महिनामा बोर्डले पेन्सन बितरण गथ्र्यो । बोर्डको कागजात मिलाएपछि मात्र फेरी बैंकमा घण्टौं लाईन बसेर खाता ‘अपडेट’ गर्नुपर्ने बाध्यता पेन्सनरहरुलाई छ । गत बैशाखदेखि पेन्सन बैंकमा पठाउने निर्णय गरेको थियो । पेन्सन पाउनका लागि सदरमुकाममा मात्र शाखा भएको एसबिआई र एभरेष्ट बैंक तोकिएको छ । हरेक बर्षको एकपटक पेन्सनकर्ता जिउँदै छु भन्ने प्रमाण जुटाउन सैनिक बोर्डमा अनिवार्य आउनुपर्ने व्यवस्थाले सास्ती भोग्नु परेको गलकोटका ज्ञानबहादुर थापाले गुनासो गरे । नियमित सदरमुकाम आउन साथी चाहिने, सदरमुकाम आउजाउ गर्न हजारौं खर्च हुने समस्याले उनीहरुमा असन्तुष्टि छ ।
बोर्डले एक पटकमा एकलाख रुपैयाँ भन्दा धेरै रकम झिक्न समेत नदिने व्यवस्था गरेको छ । ‘एक लाख बढी रकम झिक्दा पटक–पटक आउनुपर्ने बाध्यता भयो’ थापाले भने, ‘बुढेसकालमा आफ्नै पैसा झिक्न पनि दुःख पाईएको छ ।’ ‘बैंकमा राख्दा रकम सुरक्षित त भयो, तर चाहिएको बेला झिक्न हजारौं खर्चेर आउने समस्या छ’ म्याग्दी अर्थुगेंका बिरबहादुर थापाले भने, ‘ग्रामीण क्षेत्रबाट सहयोगी लिएर आउने झण्झटबारे बुझ्ने काम भएन ।’ गाउँ तहमा पुगेका सबै बैंकबाट रकम झिक्ने व्यवस्था गरेर मात्र यो व्यवस्था लागू गर्न उनले आग्रह गरे । जिल्ला सैनिक बोर्ड बागलुङले भने पेन्सन बितरणको समयमा धेरै जनशक्ति लागेको, बुढाबुढीको पैसा ठगिने वा चोरिने समस्या हुने गरेकोले यो व्यवस्था गरेको बताएको छ ।
केही समयअघि भारतीय सेनाका समाज कल्याण प्रमुख बागलुङ आएर बैंकबाट पेन्सन बितरण घोषणा गरेका थिए । उक्त घोषणापछि पेन्सन खातामा पठाउन थालेको हो । ‘अहिले शुरुवात भएर बैंकमा केही समय लाइन बस्नुपर्ने बाध्यता देखिएको छ,’ जिल्ला सैनिक बोर्ड बागलुङ प्रमुख पुर्णबहादुर थापाले भने, ‘अब बोर्डले भारतीय बैंकसँग कारोवार भएका एसबिआई र एभरेष्ट बैंकका थप शाखा बिस्तार गर्न भनेको छ, र त्यस अनुसार बिहु, हटिया, म्याग्दीको बेनी लगायतका स्थानमा शाखा बिस्तारको योजना पनि अघि बढाएको छ, यो सास्ती छिट्टै सहजतामा बदलिनेछ ।’ जिल्ला सैनिक बोर्डमा दर्ता भएर पेन्सन थाप्ने धौलागिरी अञ्चलका ७ हजार भन्दा धेरै छन् । क्षेत्रगत आधारमा बागलुङ, पर्वत र म्याग्दीकालाई १२ दिनसम्म लगाएर पेन्सन वितरण गरिन्थ्यो । जसमा बर्षमा ७० करोड रुपैयाँ बढी रकमको पेन्सन वितरण हुने गरेको बोर्डले जनाएको छ ।