काठमाडौं । सत्तारुढ दल र प्रतिपक्ष पार्टी आन्तरिक किचलोमा अल्झीएका बेला संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलमा अहिलेको व्यवस्थाविरुद्ध प्रदर्शन भएको छ ।
राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएकाहरुको समूहले गणतन्त्र र संघीय शासन र धर्मनिरपेक्षता व्यवस्थाविरुद्ध प्रदर्शन गरेका हुन् ।
राजतन्त्र र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजी माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न स्थानबाट जुलुस निकालेर माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा घन्काएका थिए ।
बबरमहल, सिंहदरबार, थापाथलीसहितका स्थानमा गरिएको कडा सुरक्षाको बावजुद उनीहरु माइतीघरमा जम्मा भएर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधरसँग नजिक रहेका नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष विपीन कोइराला पनि सहभागी थिए ।
आगामी मंसिर २० गते राजावादीहरुले बृहत् प्रदर्शन तयारी स्वरुप यो प्रदर्शन गरिएको बताइएको छ। पछिल्लो समय देशका प्रमुख सहरमा वर्तमान व्यवस्था विरोधीको सडक उपस्थिति देख्न सकिन्छ ।
यसअघि काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज, मकवानपुरको हेटौंडा र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको थियो ।