काठमाडौं । पाटी एकता गम्भीर मोडमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डबीच आजपनि ( मंगलबार) भनाभन भएको छ ।
शुरुमा पार्टी मुख्यालय धुम्बाराहीका लागि तय भएपनि अन्तिममा आएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन भएको हो ।
बैठकको शुरुमै प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि नेकपाभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको आरोप लगाएपछि जवाफमा प्रधानमन्त्री ओलीले थप आक्रोस पोखेपछि बैठकमा विवाद भएको हो ।
बैठकमा दुई अध्यक्ष पार्टीको वैचारिक लाइन, नीति र एजेण्डामा भन्दा पनि व्यक्तिगत र राजनीतिक खिचातानीमा रुमल्लिरहेको उनीहरुले ल्याएको प्रस्तावबाट झल्किएको कतिपयले टिप्प्णी गर्दै आएका छन् ।
यही प्रतिवेदनका कारण र झाँगिएको विवादका बीच अब पार्टीको भविष्य के होला भन्ने अन्योलता कायमै रहेको बेला मंगलबार सचिवालय बैठक बसेको हो । सोही बैठकमा ओली र प्रचण्डबीच फेरि भनाभन भएको हो । एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान ओलीले राखेका थिए भने आफ्नो मन्तव्यका क्रममा पनि प्रचण्डमाथि शब्दबाणले घोचपेच गरेका थिए ।
बैठकमा प्रधामन्त्री ओलीले प्रचण्डको प्रस्तावका कारण थप समस्या भएको भन्दै बाहिरबाटै सहमति खोजिनुपर्ने भन्दै बैठक छल्ने कुरा गरेका थिए । उनले जतीगर्दापनि सहमती नभएपछि बैठकबाहिरबाट समस्याको समाधान गर्ने बताएपछि प्रचण्डले प्रतिवाद गरेका थिए । बैठक कसैले पछि छल्न नमिल्ने र बैठकबाट निस्किने निचोडलाई सबैले मान्नुपर्ने बताएपछि दुई अधयक्षबीच भनाभनको अवस्था सिर्जना भएको थियो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताए । उनका अनुसार बैठकमा प्रचण्ड र ओलीले आफ्नो धारणा राख्नुका साथै पार्टी विभाजन हुन नदिन सबैले प्रतिवद्धता जनाएका थिए ।
स्थायी कमिटी बैठक सर्दैनः नेकपा प्रवक्ता
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले १८ मंसीरका लागि तय भएको पार्टीको स्थायी कमिटी बैठक नसर्ने बताएका छन्।
बुधबार पनि सचिवालय बैठक बस्ने भएपछि बिहीबारका लागि तय स्थायी कमिटी बैठक बस्छरबस्दैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले पूर्वनिर्धारित बैठक नसर्ने बताएका हुन्। “१८ गते स्थायी कमिटीको बैठक पूर्वनिर्धारित छ। यसलाई बदल्ने कुनै निर्णय भएको छैन”, प्रवक्ता श्रेष्ठले भने।
पार्टीको एकताको रक्षा र पार्टीमा देखा परेको समस्याको कारण पहिल्याउँदै समाधाको दिशातिर जानेगरी छलफल अघि बढाउने प्रयत्न रहेको उनले बताए। उनका अनुसार मंगलबार बालुवाटारमा बसेको सचिवलाय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल शुरू भएको छ।
“अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रस्ताव र अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल शुरूआत भएको छ”, प्रवक्ता श्रेष्ठले भने, “छलफल सकिएको छैन। बैठक भोलिक एक बजे फेरि बस्नेछ।”
यसबीचमा नेताहरूबीच अनौपचारिक छलफल, अन्तर्क्रिया र सम्वाद जारी रहने पनि उनले बताए। आजको बैठकमा अध्यक्ष ओली र दाहालले आफ्ना धारणा राखेका थिए। अरु नेताले पनि सामान्य टिप्पणी गरेको र बाँकी छलफल भोलिको बैठकमा हुने उनले बताए।
“छलफल प्रारम्भ भएको छ। त्यसमा कमरेड प्रचण्ड र कमरेड केपी शर्मा ओलीले मुलतः आफ्नो धारणाहरू राख्नुभएको छ। अरु कमरेडहरूले पनि सामान्य टिप्पणी गर्नुभएको छ। पार्टीको समस्या र समाधानका विषयमा केन्द्रित भएर गम्भीर छलफल हुन बाँकी छ”, बैठकपछि प्रवक्ता श्रेष्ठले बालुवाटारमा सञ्चारकर्मीहरूसँग भने।
उनले राजतन्त्रका पक्षमा गरिएको आन्दोलनको कुनै अर्थ नरहेको पनि टिप्पणी गरे। “प्रतिगामी शक्तिहरूले फेरि नेपालमा सफलता प्राप्त गर्ने नसोचे हुन्छ”, प्रवक्ता श्रेष्ठले भने, “केही कमि कमजोरी भएका छन् भने त्यसको समीक्षा गरेर हामी अगाडि बढ्छौं तर, जनताबाट विस्थापित शक्तिले फेरि पुनर्स्थापित हुने कुनै सोंच नबनाए हुन्छ।”