पर्वत । पर्वतको जलजला गाउँपालिकाले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ ।
संघीय सरकारले जलजला गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गर्न अनुमती दिएपछि गाउँपालिकाले तयारी थालेको हो । गाउँपालिकाका अनुसार माझफाँटमा औद्योगिक ग्राम स्थापनाका लागि जग्गा व्यवस्थापन गरि बोलपत्र आव्हान भइसकेको छ ।
औद्योगिक ग्राम स्थापनाका लागि सबै प्रक्रिया थालिएको छ । गाउँपालिकाले माझफाँटमा २५० रोपनी सार्वजनिक जग्गा व्यवस्थापन गरी औद्योगिक ग्राम बनाउनका लागि बोलपत्र आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । शर्माका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उक्त बजेटबाट चालु आर्थिक वर्षमा कम्पाउण्ड वाल, गेट र समथर जग्गा निर्माणका लागि बोलपत्र आह्वान गरिएको उहाँले बताउनुभयो । पौष मसान्तसम्म ठेक्का सम्झौता गरी निर्माणको काम थालिने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
गाउँपालिका भित्र रहेका साना तथा घरेलु उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन संघीय सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने योजना अगाडि सारेको हो । स्थापना हुन लागेको औद्योगिक ग्राममा हेल्थपोष्ट, चमेना गृह, कार्यालय भवन, प्रदर्शनी हल, सुरक्षा गार्डको भवन, अग्नी नियन्त्रण, बैंक लगायतको व्यवस्था गरिने छ । यसका साथै १७ वटा प्लट निर्माण गरिने छ । सडक, पेटी क्षेत्र, शौचालय, फोहोरपानीको शुद्धीकरण क्षेत्र र पानी ट्याङकी लगायतका पूर्वाधार निर्माण हुनेछन् ।
यसैगरी औद्योगिक ग्राम भित्र लोडिङ अनलोडिङ क्षेत्र, पार्कीङ र हरियाली क्षेत्र निर्माण गरिने छ । औद्योगिक ग्राम स्थापना भएसँगै साना तथा घरेलु उद्योग स्थापना गर्न चाहने व्यक्ति जग्गाको कारण खुम्चिनु पर्नेछैन, प्रमुख प्रशासकीय अधिकृत शर्माले भने ‘औद्योगिक ग्राम स्थापना गर्ने सरकारको राम्रो कार्यक्रम हो । यसले गाउँपालिका भित्र साना तथा घरेलु उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्दछ ।’ स्थानीय खाद्य, बनजन्य तथा कृषिजन्य उत्पादनमा औद्योगिक ग्रामले जोड दिने शर्माले जानकारी दिए ।