मंसीर १६, वाशिङ्टन । अमेरिकाको राष्ट्रपति पदमा पहिलोपटक एक हिन्दू महिलाले उम्मेदवारी दिने तयारी थालेकी छिन् । अमेरिकाकी प्रथम हिन्दू सांसद तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन लागेकी हुन् ।
उनले यस विषयमा अमेरिकामा बसोवास गर्ने नेपाली तथा भारतीय मूलका मतदातासँग राय मागेकी छिन् । ३७ वर्षकी तुलसीले हवाइ राज्यबाट ४ पटकसम्म सांसद पदमा निर्वाचन जितिसकेकी छिन् । उनी अमेरिकाकी प्रथम हिन्दू सांसद हुन् ।
तुलसीले हरेक पटक चुनाव जित्दा विशाल अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेकी छिन् । राजनीतिमा आउनुभन्दा अगाडि उनी सैनिक थिइन् । अमेरिकी सेनामा रहँदा उनी १२ महिनासम्म इराकमा तैनाथ भइसकेकी छिन् ।
यदि उनले उम्मेदवारीको घोषणा गरिन् भने अकेरिकामा इतिहास बन्नेछ । अहिलेसम्म अमेरिकी राष्ट्रपति पदमा कुनै पनि हिन्दूले उम्मेदवारी दिएका छैनन् । यदि उनले राष्ट्रपति निर्वाचन जितिन् भने एकैपटक ३ रेकर्ड बन्नेछन् । निर्वाचित भएमा उनी अमेरिकाकी प्रथम हिन्दू राष्ट्रपति, प्रथम महिला राष्ट्रपति र सबैभन्दा कम उमेरकी राष्ट्रपति बन्नेछिन् ।
अघिल्लो बिहीबार केही हिन्दू अमेरिकीहरुले भारतीय तथा नेपाली मूलका अगुवाहरुलाई इमेल पठाउँदै अमेरिकाको राष्ट्रपति पदमा हिन्दू उम्मेदवारको सम्भावनाबारे राय मागेका छन् । साथमा यो पनि सोधिएको छ कि इतिहासमा पहिलोपटक यस्तो हुँदा अमेरिकामा बसिरहेका भारतीय तथा नेपाली मूलका व्यक्तिहरुमा यसको कस्तो असर पर्छ ।
आज आइतबार तुलसीले यस विषयमा भारतीय तथा नेपाली मूलका अगुवाहरुसँग कन्फ्रेन्स कल गर्ने सम्भावना छ । यसमा उनले एक दिन्दू नेता र महिला नेताको रुपमा आफ्नो राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीबारे चर्चा गर्न सक्ने बताइएको छ ।
तुलसी गबार्डको जन्म अमेरिकाको समोआमा एक क्याथोलिक परिवारमा भएको थियो । उनकी आमा ककेशियन हुन् । उनकी आमाले हिन्दू धर्म अपनाएकी थिइन् । तुलसी २ वर्षकी हुँदा उनको परिवार हवाइ सरेको थियो । पछि तुलसीले पनि हिन्दू धर्म अपनाइन् । २०१२ मा पहिलोपटक उनी हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन् । तुलसी प्रथम अमेरिकी सांसद हुन् जसले भागवत गीताको नाममा शपथ लिएकी थिइन् । तुलसी नेपाली तथा भारतीय मूलका अमेरिकीहरुमाझ लोकप्रिय छिन् । यहुदी अमेरिकीपछि भारतीय मूलका अमेरिकी समुदाय अमेरिकामा सबैभन्दा प्रभावशाली र धनी समुदाय मानिन्छ ।
-एजेन्सीको सहयोगमा