काबुल : अफगानिस्तानको शान्ति प्रक्रियाका लागि नयाँ कदम एवम् फरक मार्गको खोजी गर्नुपर्ने र यसमा आफ्नो सबै खामले सहयोग रहने चीनले जनाएको छ । चीन–अफगानिस्तान–पाकिस्तान विदेशमन्त्रीहरूबीच भएको वार्तापछि चिनियाँ राज्य परिषद् सल्लाहकार तथा विदेशमन्त्री वाङ यीले सञ्चारकर्मीलाई उक्त जानकारी दिएका हुन् । वाङले भने, ‘अफगान जनता शान्ति चाहन्छन् । यसका लागि अफगानिस्तानको पुनःनिर्माण तथा विकास महत्वपूर्ण पूर्वशर्त रहेका छन् ।
’ चीनले अफगान सरकारबाट राखिएका शान्तिका लागि गरेको पहलकदमीको सदैव स्वागत गर्ने स्पष्ट पारे । उनले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अन्तर्राष्ट्रिय समुदायबाट मिलेका सहयोगको प्रशंसा पनि गरे । चीनले अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि हुने सबै प्रयासमा खुलेर सहयोग गर्ने उनले बताए ।
वाङले भने, ‘अफगानिस्तानका लागि जनताबीचको मेलमिलाप, अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र अफगानी जनतालाई पूर्णरूपमा सम्मान गरिने प्रतिवद्धता नै अन्तिम विकल्प हुनसक्छ ।’ अफगानिस्तान नेतृत्व र उसैको स्वामित्व रहेको समावेशी शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद्ले इमान्दारसाथ कार्यान्वयनमा लानुपर्नेमा वाङले जोड दिए ।
उनले अफगानिस्तानी तालिबान समूहलाई शान्तिका लागि लिइएको पहलकदमीलाई स्वीकार गर्दै यथाशीघ्र वार्ताको टेबलमा बस्न पनि आग्रह गरे । अफगानिस्तानको असल छिमेकीका नाताले चीनले अफगानिस्तानमा शान्ति, स्थायित्व र आर्थिक विकासका लागि इमान्दार प्रयास गर्न चाहेको उनले चर्चा गरे । ‘चीनले एउटा समर्थक, मध्यस्थकर्ताका रूपमा अफगानिस्तानको शान्तिका लागि काम गर्न चाहन्छ’, उनले भने ।
अफगानिस्तान शान्तिवार्ताका अफगानिस्तान, पाकिस्तान र चीनबीच काबुलमा बैठक भएको थियो । अफगानिस्तानका राष्ट्रपतिका उपप्रवक्ता शाहुसैन मुर्तज्वीले शनिवारको बैठकमा क्षेत्रीय आर्थिक विकासदेखि आतंकवादविरुद्धको विषयमा विस्तृत विमर्श भएको जानकारी दिए । बैठकमा क्षेत्रीय तनाव अन्त्य गर्ने विषयमा पनि छलफल भएको र यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिइएको थियो । उनीहरूबीच व्यापार र विकास वृद्धि गर्ने बारेमा पनि छलफल भएको थियो ।
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले पदभार सम्हालेपछि दोस्रोपटक काबुल पुगेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्तिका लागि पाकिस्तानलाई पत्र पठाएर अनुरोध गरेपछि यसले गति लिएको हो । पाकिस्तान र अफगानिस्तान आफ्नो सिमानामा सक्रिय तालिबान र आतंकवादी समूहको युद्ध विफल पार्नुपर्नेमा सहमत भए । यसअघि उनीहरूले तालिबान र आतंकवादी फैलनुमा आपसमा दोषारोपण गर्दै आएका छन् ।