लमजुङ — एउटै नम्बर अंकित १ हजार रुपैयाँका नक्कली नोट लम्जुंको बेंसीसहरका बजारमा छ्यापछ्याप्ती देखिए पछि नेपाली नोट पनि नक्ली भएको खबर बाहिर आएको छ ।
एकै दिनको अघिपछि उक्त नोट बजारमा भेटिएपछि आर्थिक कारोबारमा संलग्न ग्राहक तथा वित्तीय संस्थामा त्रास फैलिएको हो ।
एउटै नम्बरका उक्त नोटमा अघिल्लो भागको दायाँतर्फ ‘च’ को मुनी २५ र ३१४१४३ र बायाँ तर्फ ‘च’ को मुनी २५ र ३१४१३४ अंकित छ । बेंसीसहर–८ शेराका ईश्वरकुमार श्रेष्ठले अन्नपूर्ण बचत तथा ऋण सहकारीबाट १ हजार रुपैयाँका १ सय नोट रहेको १ लाख रुपैयाँको प्याक लगेर राष्ट्रिय वाणिज्य बैंकमा लैजाँदा बैंकले प्याकमा एउटा नक्कली नोट फेला पारेको बताए ।
उनका अनुसार उक्त नोट सनराइज बैंकको छाप सहितको टाँचा लागेको थियो । बैंकका प्रबन्धक मानबहादुर खत्रीका अनुसार ग्राहकले सुन चुक्ता गर्न आउँदा उक्त १ लाख रुपैयाँको प्याकभित्र उक्त नोट परेर आएको हो । ‘नक्कली नोट जफत गरेर राखेका छौँ । राष्ट्रबैंकमा पठाउँछौं’ उनले नेपालबोटसँग भने ।
मेगा बचत तथा ऋण सहकारीका प्रबन्धक सुमन सेवदीका अनुसार बजारमा किस्ता संकलन गरेर आएका बजार प्रतिनिधिबाट १ हजार रुपैयाँका २ वटा नक्कली नोट सहकारीमा आइपुगेको छ । दुवैको एउटै नम्बर रहेको छ ।‘मंगलबार र बिहीबार लगातार बेंसीसहर क्षेत्रबाट उठाइएको किस्ता रकममा नक्कली नोट पर्न आएको छ । यसलाई खिचेर राखेका छौँ। बैंकमा बुझाउँछौँ ।’ उनका अनुसार नक्कली नोटमा लालिगुराँसको छायाँ छैन ।
स्टीकरमा एनआरबी ९नेपाल राष्ट्र बैंक० लेखिएको छैन । पेपर क्वालिटी कमजोर छ । ‘फिल्डका साथीहरुले पैसा उठाएर ल्याएपछि आफैँ गन्छौँ। गन्दागन्दै नोटमा शंका लाग्यो। अनि हेर्दा नक्कली रहेछ’ उनले भने ।
बुधबार बेंसीसहरकै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाबाट जम्मा गर्ने भनी रिलायन्स फाइनान्समा बुझाएको रकममा १ हजार रुपैयाँको नक्कली नोट परेको छ ।
फाइनान्सका प्रबन्धक विशाल जोशीका अनुसार बिहीबार उक्त रकम फेला परेको हो । नवील बैंकका सहायक प्रबन्धक नारायणप्रसाद आचार्यले ग्राहकले बुझाएको रकममा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको तर, कसले बुझाएको हो भनी थाहा नभएको बताए ।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले नक्कली नोटकको बिगबिगीले व्यवसायीलाई समस्या परेको बताए । ‘नक्कली नोट बजारमा देखिएको छ। पैसा आउने ग्राहकबाट व्यवसायीलाई हो। कसले कसरी ल्याउँछन र दिन्छन थाहा हुँदैन’ उनले भने, ‘छामेर पत्ता लगाउनुपर्ने, सबैको ख्याल नपुग्न सक्छ ।’
बैंकमा सक्कली नक्कली छुट्याउने मेशिन नहुँदा समस्या परेको उनले बताए । ‘बैंकमा भीड छ । त्यही भीडमा १ लाख रुपैयाँको नोटमा एउटा नक्कली नोट जाने गरेको पाइएको छ’ उनले भने, ‘कहाँबाट कसरी आयो, यसले त्रास फैलाएको छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले यसबारे औपचारिक जानकारी नभएको बताए। ‘बजारमा हल्ला छ । तर, उजुरी कसैले लिएर आएको छैन’ उनले भने। उजुरी लिएर आएमा यसबारे कारबाही अघि बढाउने उनले बताए ।