विराटनगर । लक्षणसहितका कोरोना संक्रमित थपिदै गएपछि प्रदेश १ सरकारले विराटनगरमा स्थापना गरेको कोभिड अस्पताल (कोशी कोभिड १९ उपचार केन्द्र)लाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ ।
यो अस्पताल पूर्ण क्षमतामा सञ्चालन आएसँगै अब भेण्टिलेटरसहित १ सय ८० जनाले एकैपटक सेवा पाउनेछन् । शुक्रबारबाट अस्पताल पूर्णरुपमा सञ्चालनमा आएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री उषाकला राईले अनुगमन गर्दै अब करिब २ सय बिरामीको उपचार एकैपटक गर्न सकिने बताए ।
‘यसअघि ३२ शैया आइसीयूसहित ८० शैया मात्रै सञ्चालनमा थियो, ुमुख्यमन्त्री राईले भने ‘अब १ सय ८० शैया भेण्टिलेटरसहित सञ्चालनमा ल्याएका छौँ ।’ संक्रमितको संख्या बढिरहेकाले लक्षण भएकालाई राख्न पूर्र्ण क्षमतामा अस्पताल सञ्चालन भएको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् ।
कोभिड अस्पतालमा गत वर्षको कोरोना संक्रमण बढेको समयमा शैया विस्तार भएपनि संक्रमणको विस्तार कम भएसँगै त्यसमा अन्य पूर्वाधार जडानको काम हुन सकेको थिएन । अहिले सो कामलाई प्राथमिकता दिदै अन्य उपकरण जडानको काम पनि भएको छ । ‘मुख्य कुरा अक्सिजनसहितको कक्ष स्थापनालाई जोड दिएका छौँ, लक्षण देखिएकालाई आवश्यक पर्ने सबै संरचना निर्माण भएको छ,’ मुख्यमन्त्री राईले भने ।
पहिलेको अस्पताल प्रदेश सरकारले मात्रै स्थापना गरे पनि अहिले सँगै रहेको ब्लकमा नागरिक केयर सेन्टरको सहयोगमा थप शैया राखेर क्षमता बढाइएको हो । नयाँ सबै शैयामा अक्सिजनको पाइप जडान गरि सकिएको छ । अस्पतालका संयोजक बैजनाथ साहका अनुसार अहिलेनै २१ थान भेन्टिलेटरयुक्त शैया पनि सञ्चालनमा आइसकेको छ ।
नयाँ स्थापना गरिएको ब्लकमा थप ५ थान भेन्टिलेटर जडान गरिएको छ । कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मनिटरसहित ५० शैयाको आइसियु र त्यतिकै संख्यामा एचडियु शैयाहरु तयारी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ ब्लकमा विस्तार भएको अस्पतालमा ‘हाई फ्लो नोजल क्यानुला’ १५ थान रहेको र त्यसबाट बिरामीलाई ५० लिटरसम्म अक्सिजन प्रवाह गर्नसक्ने सामाजिक विकास मन्त्री राईले जानकारी दिइन् ।
मन्त्री राईका अनुसार अस्पताललाई आवस्यक पर्ने अक्सिजन उत्पादन गर्न अस्पताल परिसरमानै अक्सिजन प्लान्ट राख्ने प्रकृया पनि मन्त्रालयले सुरु गरेको छ । ‘अहिले बाहिरबाट ल्याएर अस्पतालमा भएका विरामीलाई अक्सिजन प्रवाह गरिरहेका छौँ, अब अस्पताल परिसरमानै अक्सिजन प्लान्ट राखेर अक्सिजनको आवस्यकतालाई पुर्ति गर्ने तयारी छ,’ उनले भनिन् ।
अस्पतालमा आवस्यक पर्ने विद्युतको लागि अस्पताल परिसरमानै नयाँ ट्रान्सफर्मर जडान गरिएको र २ सय ५० केभिएको जेनेरेटर जडानसँगै त्यसको अर्थिङको काम पनि सकिएकाले उपकरण सञ्चालनमा कुनै बाधा नहुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अस्पताल पूर्र्ण रुपमा सञ्चालन भएसँगै ठुलो सख्यामा कर्मचारी आवस्यक पर्ने भएकाले त्यसको व्यवस्थापनमा पनि प्रदेश सरकार लागेको मुख्यमन्त्री शेरधन राईले बताए । आाइसीयु, एचडियु र भेन्टिलेटरसहितको सेवा विस्तार गर्दा अस्पताललाई स्वास्थ्यकर्मी र कर्मचारीहरुको धेरै आवश्यकता पर्ने मुख्यमन्त्री मन्त्री राई बताउँछन् ।
‘अहिले ३३ जना जनशक्ति कार्यरत रहेका छन्, ४ जना मेडिकल अधिकृत र सेकेण्ड अनकल ड्युटीका लागि थप २ जना गरी ६ जना चिकित्सक कार्यरत भएकाले सबै जनशक्ति थप गर्दै अस्पताल पूर्णरुपमा सञ्चालन गछौँ, सबै प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने । स्वास्थ्यकर्मी बाहेक अन्य कर्मचारी १२ जना र सरसफाईतर्फ ८ जना अहिले पनि कार्यरत छन् ।
एउटा भेन्टिलेटर सुचारु राख्न न्यूनतम ६ देखि ८ जना जनशक्ति आवश्यक हुने र सोही अनुपातमा जनशक्ति व्यवस्थापन गर्न अस्पतालले पनि सुझाव दिएकाले मुख्यमन्त्री सँगको समन्वयमा यसको व्यवस्थापन गर्न मन्त्रालय लागेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की बताउँछन् ।