सिमकोट । जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले आज राती १२ बजेदेखि वैशाख २८ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञ जारी गरिएको छ ।
सोमबार नेपालगञ्जबाट आएका ८ जना यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि यसको रोकथाम र नियन्त्रण गर्न संक्रमक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर जिल्लामा निषेधाज्ञ जारी गरिएको बताइएको छ ।
पछिल्लो समय देशकै हट स्पटका रुपमा रहेको बाँकेको नेपालगञ्जबाट जिल्ला आउने २० प्रतिशत यात्रुहरुमा संक्रमण पुष्टि भएपछि डिसिसीएमसीको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय निष्नेधाज्ञ जारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
‘जिल्ला बाहिर रहेको नागरिकहरुलाई घर पुग्ने समय पुग्ने गरेर हामीले आज (मंगलबार) राती १२ बजेपछि लागु हुने गरेर निषेधाज्ञ जारी गरेका हौं’, आचार्यले नेपालबोटसँग भने, ‘निषेधाज्ञलाई हामीले जिल्लाभर कडाईका साथ पालना गर्न सबैमा अनुरोध गर्दछौं ।’
स्थल तथा हवाई मार्ग हुँदै नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका स्थानबाट जिल्ला प्रवेश गरेकाले कम्तीमा दश दिन होम आइसुलेशनमा बस्ने मापदण्ड विपरित हिड्न थालेपछि संभावित संक्रमणको जोखिमलाई नियन्त्रण गर्न बाध्य भएर निषेधाज्ञ जारी गर्नु गरेको प्रजिअ आचार्यले बताए ।
निषेधाज्ञमा के गर्न पाईन्छ ?
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञमा अत्यावश्यक काम बाहेक अन्य काम गर्न नपाई बताइएको छ ।
निषेधाज्ञको अवधीमा स्वाथ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी फोहोरमैला व्यवस्थापन, ग्याँस पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा सञ्चालनमा आउने छन् । यसैगरी जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दुध, ग्याँस आदी) का पसल बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।
यो बिचमा बिरामी बोकेका र सुरक्षाकर्मीले प्रयोग गरेका सवारी साधनलाई आवतजावत गर्न दिइने व्यवस्था गरिएको प्रशासन कार्यालयबाट जारी गरिको आदेशमा उल्लेख गरिएको छ ।
आदेश लागु हुनु अगावै गन्तव्यमाहिडेका जिल्लाका यात्रुहरुलाई सम्बन्धित पालिकासँगको सहकार्यमा गन्तव्य पु¥याउने प्रशासन कार्यालयले जनाएको छ ।
उल्लंघन गरे ६ महिना कैद
स्थानीय प्रशासनलेजारी गरेको निषेधाज्ञ उल्लंघन गरेमा एक सय रुपैयाँ देखि ६ सय रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैदको सजाय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
‘हामी निषेधाज्ञलाई कडाईका साथ पालन गर्छौ र गराउँछौं’ उनले भने, ‘अनिार्य मास्क अभियानदेखि नै शुरु गरेको कारबाही प्रक्रिया यस (निषेधाज्ञ) अवधीमा थप कडाई हुन्छ ।’
आदेशको अवज्ञा गरे संक्रमक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रकृती हेरेर एक सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म जरिवाना तिराउने र ६ महनिासम्म कैद सजाय गराउने जानकारी आचार्यले दिए ।
थप जानकारी तलको भिडियो हेर्नुहोला