काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ ।
कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेपछि सरकारले अध्यादेश ल्याउने तयारी थालेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले कोभिडसम्बन्धि कानुन संशोधन गर्नका लागि ुफास्ट ट्रयाकु बाट भए पनि अध्यादेश ल्याउने तयारी भइरहेको बताए ।
'कोरोना रोग नियन्त्रणसम्बन्धि अध्यादेशबारे सीसीएमसीमा कुरा उठेको रहेछ । भोलि साढे १० बजे बैठक बोलाएको छु । त्यो बैठकले आवश्यक छ भनेर निर्णय गरेपछि हामी अध्यादेश ल्याउँछौं,' सोमबार नै अध्यादेश आउँछ त भन्ने प्रश्नमा मन्त्री श्रेष्ठको जवाफ थियो, 'भोलि नै पनि आउन सक्छ । त्यो फास्ट ट्र्याकबाट ल्याउने हो ।'
कोरोनाले जोखिम ल्याएको र वि. सं. २०२० सालको ऐनले बाधा ल्याएको भएकाले अध्यादेशमार्फत कानुन ल्याउन लागिएको मन्त्री श्रेष्ठको भनाइ थियो । जनस्तरबाट सरकारले के काम गरेको छ भनेर प्रश्न उठ्ने तर सरकारले काम गर्न कानुनी अड्चन रहेकाले अध्यादेश ल्याउन लागिएको उनको भनाइ थियो । ‘अहिले कोरोनाले अत्यन्त जोखिम ल्याएको छ । जनताले सरकारले के हेरेर बसेको छ ? भनिरहेको छ । जनताको स्वास्थ्यको सुरक्षामा अझै गम्भीर हुनुपर्यो भनिरहेको अवस्थामा फास्ट ट्र्याकबाट स्वास्थ्य सामग्री मगाउन, त्यसको प्रक्रिया अपनाउँदा समय लाग्ने भएकाले र अन्य कार्य गर्न पनि ऐनमा बाधा भएमा त्यसलाई छिटो ल्याउने व्यवस्था गर्न अध्यादेश आउन सक्छ,’ उनले भने ।
सबैभन्दा ठूलो कुरा जनताको जीवनको सुरक्षा भएको भन्दै कोरोना महामारीलाई रोक्न अध्यादेश ल्याउन लागिएको मन्त्री श्रेष्ठको भनाइ छ । ‘मानिसको जीवन रक्षाको लागि कानुन बाधक छ भने अध्यादेश आउँछ,’ उनले भने ।
स्वास्थ्य सामग्री खरिदमा लाग्ने समय र ल्याउने देश तथा निषेधाज्ञा लगायतका कानुनी व्यवस्थामा परिमार्जन गरेर अध्यादेश ल्याउन लागिएको कानुन मन्त्रालयका अधिकारीले बताएका छन् । कानुन मन्त्रालयले तयारी सकेपछि मन्त्रिपरिषद्मा अध्यादेशको मस्यौदा पेस हुने र मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने तयारी रहेको बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै अध्यादेश जारी गर्ने र राजपत्रमा प्रकाशित गरेर लागु गर्ने तयारी भइरहेको हो । हाल संक्रामक रोग ऐन, २०२० कार्यान्वयनमा रहेको छ । यो ऐनमा अहिलेको महामारी नियन्त्रणका लागि पर्याप्त व्यवस्था नभएकाले अध्यादेश ल्याउन लागिएको हो ।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ल्याइने औषधिबारे कानुनी व्यवस्था गर्नका लागि यसअघि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ ल्याएको छ ।
संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रतिले अध्यादेश जारी गर्नसक्ने संवैधानिक व्यवस्था छ ।