काठमाडौं । पूर्वी पहाडी जिल्लाका गाउँगाउँमा कोरोना संक्रमण फैलिने क्रम बढे पनि परीक्षण पर्याप्त हुन सकेको छैन । कोरोना जस्तै लक्षणका बिरामीको संख्या पछिल्ला दिन ह्वात्तै बढेकाले थप जोखिम निम्तिएको छ ।
इलामका ग्रामीण क्षेत्रसम्मै कोरोनाको प्रभाव देखिएको छ । गत वैशाख २८ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू गरेर आवतजावतमा नियन्त्रण गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । माइजोगमाई गाउँपालिका–४ को एउटा गाउँमा घरैपिच्छे संक्रमित छन् । संक्रमित हुनेमा २० देखि ८८ वर्ष उमेर समूहका छन् । केही दिनअघिदेखि नै गाउँमा रुघाखोकीको लक्षण देखिएर स्थानीय बिरामी पर्न थालेका थिए । यो गाउँपालिकामा १ जनाको ज्यानसमेत गएको छ ।
अहिलेसम्म परीक्षण दायरा फराकिलो बनाउन नसक्दा धेरै संक्रमित बिनापरीक्षण नै बसिरहेका छन् । लामो समयसम्म सन्दकपुर गाउँपालिकामा कोही पनि संक्रमित भेटिएनन् । तर शुक्रबार भने सन्दकपुर–१ आलुबारीमा ३ जनालाई पोजिटिभ देखियो । जिल्लाको माङ्सेबुङ, फाकफोकथुमलगायतका भित्री गाउँमा पनि संक्रमितको संख्या थपिँदै गएको छ । इलाममा अहिलेसम्म कोरोनाका कारण १६ जनाको ज्यान गइसकेको छ । जिल्लामा ६ सय ५४ जनामा संक्रमण देखिएकामा ७३ जना निको भएका छन् ।
यस्तै, कञ्चनजंघा हिमालको प्रवेशद्वार ताप्लेजुङको घुन्साका प्रत्येकजसो घरमा बिरामी छन् । स्थानीय पेमाल्हामु शेर्पाका अनुसार सुरुमा टाउको दुख्ने, रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने र झाडापखाला चल्नेजस्ता लक्षण देखिएको छ । ‘यसरी बिरामी हुन थालेको १५र२० दिन भइसक्यो, कसैको परीक्षण भएको छैन,’ उनले भनिन् ‘कोही बिरामी नै छन्, कोही निको हुँदैछन् । मचाहिँ बल्लबल्ल अलिअलि उठ्न थालेको छु ।’
गाउँपालिकाको केन्द्र तापेथोक यो बस्तीबाट एक दिनको पैदलमा छ । तापेथोकबाट घुन्सा जाँदा उकालो हिँड्नुपर्ने भएकाले डेढदेखि दुई दिनसम्म पनि लाग्छ । गाउँले सबै बिरामी हुँदा गाउँपालिका र वडाका जनप्रतिनिधि कोही पनि नआएको स्थानीयको गुनासो छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्साको पीडा यस्तो भए पनि आठराई त्रिवेणी, पाथीभरा याङवरक र सिरिजंगा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष भने स्वास्थ्यकर्मी लिएर वडा–वडामा पुगेका छन् । गाउँमा संक्रमित निकै बढेको पाइएको सिरिजंगा गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए ।
आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाका अनुसार प्रत्येक वडामा परीक्षण गरेर त्यहीअनुसारको नियमन सुरु गरिएको छ । पाथीभरा याङवरकका अध्यक्ष केशर मेन्याङ्बोले संक्रमित भएको क्षेत्र छुट्याएर सिल गर्न थालेको बताए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले ४ सय ७१ जना संक्रमित छन् । ८६ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
धनकुटामा पनि समुदायस्तरमा संक्रमण तीव्र फैलिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबारसम्म जिल्लामा ७ सय ५६ जना संक्रमित छन् । तीमध्ये एक महिनाको अवधिमा पाँच सयभन्दा बढी संक्रमित थपिएका हुन् । सक्रिय संक्रमित ४ सय ९० छन् । संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका क्षेत्रमा सुरुवाती समयमा ह्वात्तै संक्रमण बढे पनि पछिल्लो समय अन्य पालिकाका ग्रामीण क्षेत्रमा तीव्र रूपमा संक्रमण फैलिएको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागार्इंले जानकारी दिए । चौबिसे गाउँपालिका, सहिदभूमि गाउँपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, पाख्रिबास नगरपालिका, साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिका बढी प्रभावित छन् ।
हेलिकप्टर चार्टर गरेर अस्पताल
खोटाङमा राम्रो उपचार व्यवस्था नहुँदा संक्रमित हेलिकप्टर चार्टरमार्फत सुविधा सम्पन्न अस्पताल जान बाध्य भएका छन् । तीन दिनदेखि दिक्तेल अस्पतालमा उपचाररत दिक्तेल–१ का ६४ वर्षीय पुरुषलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनले ३ लाख ५० हजार रुपैयाँमा चार्टर गरेको उनका आफन्तले बताएका छन् । उनको काठमाडौंस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
ऐंसेलुखर्क–३ का संक्रमित पनि हेलिकप्टर चार्टर गरेरै थप उपचारका लागि काठमाडौं गएका छन् । गत जेठ १ गते कोरोनाले ज्यान गुमाएका ७८ वर्षीयका तीन आफन्त ३ लाख २० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरी काठमाडौं गएका हुन् । जिल्लाका सबै पालिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । बिहे, भोज, पर्व, निर्माणका काममा भीडभाड हुनुले संक्रमण फैलिएको हो ।
अझै पनि जमघटका गतिविधि नरोक्ने हो भने थप जोखिम निम्तिने स्थानीय हेमविक्रम राईले बताए । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार जिल्लामा ५ सय ५० जनामा संक्रमण देखिएको छ । यसमध्ये ४ सय ९६ जनामा सक्रिय संक्रमण देखिएको छ । उनीहरूमध्ये ४ सय ५६ जना होम आइसोलेसनमा र ३१ जना विभिन्न स्वास्थ्य संस्थाहरूको आइसोलेसनमा छन् । कान्तिपुर