काठमाडौं । नेकपा एमालेका युवानेता योगेश भट्टराईले युथफोर्स र अखिल फोर्स जस्ता समाजमा आतंक फैलाउन गठन गरिएका बाहुबली संगठन तत्काल खारेज गर्नुपर्ने बताएका छन् ।
पार्टीमा विवाद चर्किंदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट सांसद महेश बस्नेतले क्षितिज थेवेको अध्यक्षतामा युथफोर्स गठन गरेका छन् । बरिष्ठ नेता माधव नेपाल पक्षले त्यसको काउन्टरमा टपेन्द्र शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरेको छ ।
यस्ता फोर्सको औचित्य नभएकाले तत्काल खारेज गर्नुपर्ने धारणा भट्टराईको छ । भट्टराई सामाजिक संजालमा लेखेका छन्–ऐतिहासिक र गौरबशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौं युवाहरुलाई राजनीतिक र बैचारिक शिक्षा मार्फत् पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य के छ ?
समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्यत यस्ता बहुबली समूहहरु तत्काल खारेज गर्नुपर्दछ ।
अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नुपर्दछ । के काम हुन्छन् जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथ फोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्षे हिंसाको प्रतिवाद यिनै अखिल र युवासंघले गरे ।

पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जथ्था प्रयोग गर्न खोजेको हो रु यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नुपर्दछ ।
शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रन दिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होइन । तसर्थ यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु, भट्टराईले लेखेका छन् ।