काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना एमसीसीको कुरा छिराएर गठबन्धन भाड्न खोजिएको आरोप लगाएका छन्।
शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस र कम्युनिष्टको गठबन्धन भाड्न खोजिएको जिकिर गरे। कसले भाड्न खोज्यो भन्ने नखुलाए पनि एमसीसीको कुरा छिराएर भाड्न खोजिएको आरोप लगाए।
“कांग्रेस र कम्युनिष्ट भनेर भत्काउन पनि खोजिँदै छ,” दाहालले भने, “तपाईंहरूले देखिरहनु भएकै छ, फर्मानका फर्मान घोषणा भएका छन् एमालेभित्र। अनेक प्वाल खोजेर हान्न खोजिँदै छ।”
त्यसको उदाहरणका रुपमा उनले एमाले उपाध्यक्ष भीम रावलको राजीनामाको विषयलाई प्रस्तुत गरे। गठबन्धन बनाउँदा राम्रोसँग लागेका रावलले सांसदबाट राजीनामा दिएको प्रशंग निकाल्दै दाहालले भने, “यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरू नपत्याउँदो किसिमले ढल्दिनु भयो। राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरू पनि ढले। त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरू भएका छन्।”
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा असहमति जनाउँदै रावलले ३ साउनमा सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा बुझाएका थिए। तर, नेता र कार्यकर्ताले दबाब दिएको भन्दै ८ साउनमा राजीनामा फिर्ता लिएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ मन्त्रीहरूले लापरबाही नगरेर काम गर्नुपर्ने बताए। जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।