सत्तापक्षमा ३८ सदस्य, विपक्षी गठबन्धनमा सभामुखबाहेक ४१ जना, मुख्यमन्त्री पोखरेलको राजीनामा आइतबारसम्म पनि नआए प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि समावेदन गर्ने र अविश्वास प्रस्ताव ल्याउने विपक्षीको तयारी
बुटवल । लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद गुमेको छ । जनता समाजवादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे प्रदेशसभा सदस्यबाट शुक्रबार पदमुक्त भएका हुन् । सन्तोषकुमार रूपन्देही र विजयबहादुर बाँकेबाट प्रत्यक्ष तथा कल्पना अर्घाखाँचीबाट समानुपातिक सांसद थिए । उनीहरू पदमुक्त भएसँगै शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
पार्टीको नीतिविपरीत सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई गत मंगलबार जसपाको केन्द्रीय कार्यकारिणी समितिले पार्टीबाट निष्कासन गरेको थियो । जसपा संसदीय दलले बिहीबार प्रदेशसभामा निष्कासनसम्बन्धी पत्र दर्ता गरेको थियो । उनीहरू पदमुक्त भएको सूचना शुक्रबार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेका हुन् । पार्टी सदस्य नरहेको व्यक्ति प्रदेशसभा सदस्य हुन नसक्ने भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ ९२० प्रदेशसभा नियमावली, २०७४ को नियम १९१ अनुसार पदमुक्त गरिएको सचिव पुनले बताए ।
लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेकामा एमालेका अमरबहादुर डाँगी र दृगनारायण पाण्डेले राजीनामा दिइसकेका छन् । माओवादीबाट एमालेमा प्रवेश गरेका दधिराम न्यौपाने र दिनेश पन्थी पनि यसअघि नै पदमुक्त भइसकेका छन् । जसपाका ३ सदस्य पदमुक्त भएपछि प्रदेशसभा ८० सदस्यीय भएको छ । जसमा एमालेका ३८ जना छन् । नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनमा भने ४१ सदस्य (सभामुखबाहेक) छन् ।
अध्यादेशमार्फत बजेट ल्याएर आयु लम्ब्याएको एमाले नेतृत्वको सरकार सहज रूपमा बाहिरिने मनस्थितिमा देखिँदैन । यसअघि जस्तै शुक्रबार पदमुक्त भएकालाई अदालतबाट पुनर्बहाली गराएर सरकार जोगाउने कसरतमा मुख्यमन्त्री पोखरेल लागिपरेका छन् । पदमुक्त दधिराम न्यौपाने र दिनेश पन्थीको पुनर्बहाली गराउने र जसपाका सांसद पुर्मती ढेंगा मगरलाई फ्लोर क्रस गराउने अन्तिम योजनासमेत सरकारको छ । एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले विपक्षीले सडकमा बहुमत दाबी गरेकै भरमा सरकारबाट नबाहिरिने बताए । कानुनतः अझै पनि आफ्नो पक्षमा बहुमत रहेको उनको दाबी छ । ‘पदमुक्त सांसदहरूको निवेदनमा अदालतको राय के हुन्छ, त्यो हेरेर मात्रै सरकारको अल्पमत र बहुमत देखिनेछ,’ उनले भने ।