काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए वर्तमान सभापति शेरबहादुर देउवालाई पार्टी सभापतिका रुपमा नस्विकार्ने चेतावनी दिएका छन् ।
क्रियाशील सदस्यता छानबिन विवाद समाधानका लागि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौेडेलले सो चेतावनी दिएका हुन् । सभापतिले महाधिवेशन हुन्छ, हुन्छ, भने पनि महाधिवेशन गराउन ठोस अग्रसरता नदेखाएको आरोप उनले लगाए ।
नेता पौडेलले महाधिवेशन हुन नसके वर्तमान पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र देउवा नेतृत्वको केन्द्रीय समिति ‘बदर’ हुने चेतावनीसमेत दिए ।
‘मैले पहिलेदेखि भन्दै आएको छु विचार गर्नुहोला । कुनै जालझेलले हुदैन । भदौ २३ सम्म महाधिवेशन गर्न नसके पार्टीको वैधानिकतामाथि प्रश्न उठ्नेछ । त्यतिबेला न सभापति, न केन्द्रीय समिति, न जिल्ला न क्षेत्र, हामी कोही कुनै पदमा रहदैनौ,’ बैठकमा पौडेलले भने ।
पौडेलले महाधिवेशन गर्छु भन्ने तर क्रियाशील सदस्यताको फाइल लुकाउने काम बन्द गर्नसमेत सभापतिलाई चेतावनी दिए ।
‘महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ भन्ने, तर काम केही नगर्ने रु समायोजनका नाममा कहाँ कति थप्दा जितिन्छ, जिल्ला छानी–छानी मान्छे हाल्ने रु हामीलाई लिस्ट हेर्न पनि नदिने, यो अराजकता मान्दैनौ’, पौडेलले भने ।
पौडेलको भनाइमा सभापति देउवाले लामो प्रतिक्रिया दिएनन् । उनले ‘महाधिवेशन गर्नी हो, हुन्छ हुन्छ’ मात्रै भनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । देउवा लामो समय बैठकमा नबसी बाहिरिएका थिए ।