हुम्लाका ठकुरी वस्तिहरुमा गौरा पर्वको निक्कै रौनक बढेको छ । ढकुरी बस्तिीको एक मात्रै ठूलो विशेष धार्मिक महत्व बोकेको गौरा पर्व स्थानीय कल्चरको रुपमा मनाइदै आएको छ । हुम्लाको नाम्खालगाउँपालिका बाहेक अन्य छवटा गाउँपालिकाका सवै जसो ठकुरी बस्तिमा यो पर्व निक्कै तामझामका साथ मनाइने गरिन्छ ।
धार्मिक विधि तथा परम्परा अनुसार सम्पुर्ण गाउलेहरुले मान्दै आएको एक जना नायकको (गौरा पर्वका लागि मुख्य मान्छे) छतमा सवै स्थानीयहरु उपस्थिती भएर सो पर्व मनाएर गौरा र महेश्वर भित्र्याइँने गरिन्छ । व्रतालु महिलाले धान, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्परा अनुसार भित्र्याइने चलन रहेको सिमकोट गाउँपालिका वार्ड नम्वर ७ डाडाफयाँका स्थानीय कृष्ण बहादुर शाहीले बताए ।
स्थानीय कल्चर अनुसार गाउँका कन्या कुमारीहरुले गाउँ भन्दा केही टाढा गएर गौरा बनाएर ल्यएपछि दुई दिनदेखि बर्त बसेकी महिलाहरुले भगवतीको पूजाअर्चना गर्ने पचलन रहेको शाहीले जानकारी दिए । त्यस्तै पुरुषले ढाल तरवार खेल्ने र व्रत बसेकी महिलाहरूले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर पुराना भाका लयमा रमाउने गर्दछन् ।
महेश्वर (शिव) लिनका लागि पुरुषहरू जाने गर्दछन् भने गौरा लिनका लागि कन्य कुमारीले लिने चलन रहेको छ । पूजा गर्दा अक्षताका रुपमा ‘बिरुडा’ (गहुँ, मास, गंहुत, गुराँस र कला) पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन रहेको स्थानीयले बताएका छन् ।
पर्व सकिए लगतै गौरा र महेश्वरलाई पुरुष र कन्याकुमारीको सहकार्यमा एकान्त ठाउँमा लगेर राख्ने कार्य गरिन्छ । पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउने गरिएको उपहासको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किम्वदन्ती छ ।