माघ २६, चरिकोट । तीन दिनदेखि लगातार परेको हिमपातले पश्चिमी दोलखाको शैलुङ डाँडाको जनजीवन समेत प्रभावित बन्दै गएको छ ।
हिमपतासँगै पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको शैलुङ डाँडामा आन्तरिक पर्यटकको घुईँचो लाग्न थालेको छ।
शैलुङ गाउँपालिकाले मुडेदेखि शैलुङको मनगाउँसम्मको मोटर बाटो मर्मत गरेसँगै ३ हजार ४ सय २० मिटर उचार्इमा रहेको शैलुङ डाँडामा पुग्ने आन्तरिक पर्यटकको घुईँचो लाग्न थालेको हो।
शैलुङ आसपासमा सुविधा सम्पन्न नयाँ होटल सञ्चालनकालागि गाउँपालिकाले आह्वान पनि गरेको छ। शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले पहिला आउनेले पहिला नाफा कमाउँछु भन्ने नीति अवलम्बन गरिएको बताए।
राजधानीबाट १ सय ५ किलोमिटरको दूरीमा रहेको मुडे बजारबाट दाहिने मोडिएर करिब १७ किलोमिटरको दूरीमा शैलुङ पुगिन्छ। शैलुङको झोर, मनगाउँ, बाघखोर, भैंसी, खोलाखर्क लगाएको क्षेत्रमा केही होटल रहेका छन्। शैलुङ डाँडामा महादेवको मन्दिर र बौद्ध धर्मावलम्बीको छ्र्योतेन निर्माण गरिएको छ।
शैलुङ डाँडाबाट दोलखा जिल्लाको अधिकांश तथा सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न भागहरुको देख्न सकिन्छ। शैलुङ डाँडामा साना ठूला गरी एक सय जती थुम्काहरु रहेका छन् ।
हिन्दु, बौद्ध, क्रिश्चियन धर्मावलम्बीको आस्थाका केन्द्रको रुपमा शैलुङ डाँडा परिचित छ। शैलुङसम्बन्धी विभिन्न किंवदन्ती रहेका छन्। प्रथम बुद्ध साङ्गे माहमोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो। पछि साङ्गेलुङबाट शैलुङ भएको भनाइ पनि छ।