फागुन ११, नेपालगन्ज । नेपालगन्जमा विगत सात वर्षको अवधिमा शुक्रबार सर्वाधिक तापक्रम मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी कार्यालयका अनुसार फेब्रुअरी २२ मा सन् २०१३ मा सर्वाधिक तापक्रम २९ दशमलव चार मापन गरिएको थियो। शुक्रबारको अधिकतम् तापक्रम ३० दशमलव पाँच डिग्री पुगेको छ।
न्यूनतम् तापक्रम भने १६ दशमलव तीन रहेको छ। शुक्रबार बिहान छिटपुट वर्षा भएको थियो। कार्यालयको रेकर्डमा शून्य दशमलव एक मिलिमिटर वर्षा भएको छ।
हावापानी कार्यालयका प्रमुख अखिलेशप्रसाद चौरसिया भन्छन्, ‘सात वर्षको अवधिमा आजको मितिमा कहिल्यै पनि अधिकतम् तापक्रम ३० डिग्री नाघेको छैन। औसत २८ देखि २९ को हाराहारीमा देखिन्छ।’
हावापानी कार्यालयका अनुसार राँझा र नेपालगन्ज सहरको तापक्रममा शून्य दशमलव दुईदेखि तीन डिग्री सेल्सिेयसको अन्तर हुन्छ। जल तथा मौसम विज्ञान विभागले मापन गरेको तापक्रम भन्दा नेपालगन्जमा बढी तापक्रम हुन्छ।
शुक्रबार नेपालगन्जमा देशमै सबैभन्दा बढी गर्मी भयो। धनगढीमा पनि अधिकतम् तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस तापक्रम छ। तर त्यहाँ न्यूनतम् तापक्रम भने १४ दशमलव चार रहेको छ। न्यूनतम् तापक्रम धनगढीभन्दा नेपालगन्जमा झन्डै दुई डिग्रीले बढी छ।
शुक्रबार नेपालगन्ज बजारमा बाक्ला ज्याकेट लगाउनेभन्दा पातलो लुगा लगाउनेहरु बढी भेटिएका थिए। सडकमा हिड्ने सर्वासाधारण असिन पसिन देखिन्थे।
फ्रेबुअरी महिनामा भने सर्वाधिक तापक्रम सन् २०१६ को फेबु्रअरी १९ मा ३३ दशमलव आठ डिग्री सेल्सियस थियो। यो महिनाममा सन् २०१४ मा २७ दशमलव सात, २०१५ मा २९ दशमलव सात, २०१७ मा ३० दशमलव पाँच, २०१८ मा ३० दशमलव ७ रहेको थियो।