फागुन २७ सुर्खेत । कर्णालीलाई प्रविधिमा सक्षम बनाउने कार्यमा सरकारको नीति तथा कार्यक्रम सहित सरकारी क्षेत्र समेत लाग्न जरुरी भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जोड दिएका छन् ।
सूचना तथा सञ्चारको समेत जिम्मेवारी बोकेका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले इन्फोटेकको अवलोकन गर्दै भने, ‘कर्णाली प्रदेश सरकार सुचना र प्रविधिको विकासमा जोड दिदैं कर्णालीलाई स्माट प्रदेश बनाउन प्रविधिको विकास गर्न कटिवद्ध भएर लागेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी क्यान इन्फोटेकको कर्णाली प्रदेश मन्त्री तथा कर्मचारीले आज अवलोकन गरेका छन् ।
तेस्रो दिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अवलोकन गरेको क्यानको चौथो दिन आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया र सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव लगायतले अवलोकन गरेका छन् ।
इन्फोटेक अवलोकनको क्रममा प्रमुख सचिव थपलियाले कर्णालीलाई डिजिटल प्रदेशको रुपमा विकास गर्नका लागि प्रदर्शनी स्थलको खाँचो भएको बताए । यस्ता इन्फोटेकहरु पटक–पटक सञ्चालन गर्न जरुरी रहेको बताउँदै प्रमुख सचिव थपलियाले यस्ता इन्फोटेकहरुको अवलोकनका लागि धेरै जनाको सहभागीता गराउन आवश्यक रहेको बताए ।
सरकारले आफ्नो तर्फ गर्न सक्ने सहयोग गर्छ सचिव थपलियाले नेपालबोटसँग भने, यो प्रदेशमा खासै जमिनको अभाव छैन त्यसैले स्थायी रुपमै प्रदर्शनी गृहको संरचना तयार गर्न सके कर्णाली प्रदेशले लिएको डिजिटल प्रदेश निर्माणमा टेवा पुग्नेछ ।’ प्रविधिको क्षेत्रमा इन्फोटेक आकर्षक भएको बताउँदै प्रमुख सचिव थपलियाले विद्यालयदेखि वडा तथा स्थानीय तहले पनि प्रविधिको विकासका लागि योगदान गर्न आवश्यक भएको बताउनु भयो । समयमा नै यस्ता कार्यको उजागर गर्दै दक्षता र क्षमतामा बृद्धि गर्न जरुरी भएको बताए ।
क्यानको चौथो दिन कर्णाली प्रदेशका विभिन्न विद्यालयका विद्यार्थी सहित ९ हजार ३ सय बढि दर्शकहरुले अवलोकन गरेका छन् । क्यानमा एडभान्स बेटर इङ्गिस मिडियम स्कुल वीरेन्द्रनगर ३ सुर्खेतमा कक्षा ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेको रोबर्ट, क्वीज मेसिनलगायतका सामग्रीहरु निर्माण गरेका छन् ।