काठमाडौं । नेपाली कांग्रेस भित्रको अंक गणीत संस्थापन पक्षतर्फ नैं ढल्कीएको छ ।
शेखर कोइरालाले गगन थापालाई संसदीय चुनावमा समर्थन गरेसँगै कांग्रेको आन्तरिक राजनीतिमा नयाँ तरंग आएको छ । के यो तरंगले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दौडबाट बाहिर हुत्याउला भनेर ठोकुवा गर्न सकिने अवस्था चाहीँ छैन ।
पार्टी संसदीय दलको चुनावका लागि देउवा र थापाले मात्र मनोनयन दर्ता गरेकाले प्रतिस्पर्धा रोचक बनेको छ । इतर समूहमा कुरा नमिल्दासम्म देउवा सहज जितको आशामा थिए । तर, शेखरले फराकिलो छाती बनाउँदै गगनलाई अघि सार्न तयार भएपछि पासा पल्टिन सक्ने ठानेर सामाजिक सञ्जालमा समेत उत्साह देखिएको छ ।
अंकगणित हेर्ने हो भने अझै पनि देउवा नै बलिया छन् । तर, गोप्य चुनाव भएकाले अंकगणितले मात्रै काम नगर्न सक्छ । ‘बिजगणित’ मिलाउन सकेको खण्डमा थापाले देउवालाई स्तब्ध पार्न असम्भव छैन । हालैको कतार विश्वकपमा साउदी अरबले उपाधि दाबेदार अर्जेन्टिनालाई हराएजस्तै, भर्खर भएको आम निर्वाचनमा डा. तोसिमा कार्कीले पम्फा भुसाललाई पाखा लगाएजस्तै गगनले देउवालाई चक्मा देलान् त ?
कांग्रेसले चुनावमा प्रत्यक्षमा ५७ सीट जितेको छ । समानुपातिकमा ३२ गरी कुल सांसद ८९ छन् । हामीले यसअघि हिसाब निकाल्दा प्रत्यक्षतर्फ संस्थापनबाट २९ जना र शेखर(गगन समूहबाट १८ जना जितेर आएका छन् । यस्तै, रामचन्द्र-शशांक समूहबाट ६ जना र प्रकाशमान समूहबाट ४ जना विजयी भए । अहिले रामचन्द्र-शशांक समूहले देउवालाई समर्थन गरेको छ । प्रकाशमान कता ढल्किन्छन् भन्ने खुलेको छैन । यद्यपि, उनले पनि देउवालाई समर्थन गर्ने सम्भावना प्रबल छ । यसका आधारमा हेर्दा देउवासँग प्रत्यक्षमै ३९ जना छन् ।
समानुपातिकतर्फ पनि देउवाको वर्चश्व छ । शेखर-गगन गुटबाट १० जना समानुपातिक सांसद बनेका छन् ।
महाधिवशेनको पक्षधरताका आधारमा सांसदहरुको पक्षधरता छुट्याइए पनि संसदीय दलको गोप्य मतदानमा देउवा पक्ष भनेर चिनिएका करिब आधा दर्जन सांसदले गगन थापालाई मत दिने निश्चित देखिएको सोतले जनाएको छ । त्यसो त प्रकाशमान पक्षका विश्वप्रकाश गगनतिर लागिसकेका छन् भने राजेन्द्र केसी र सन्तोष चालिसे खुलेका छैनन् । शशांक पक्षका दिपक गिरी गगनको पक्षमा खुलेका छन् भने विष्णु कार्की मौन छन् ।
सांसदहरुको मोलतोल र मन्त्रीको आश्वासनले गणितलाई तलमाथि पार्न सक्ने अनुमान छ । यद्यपी संस्थापन इतर पक्षबाट जसरी सर्वसम्मत उम्मेदवार बनेर गगन खडा भए र प्रदिप पौडेलसमेत उनको पक्षमा उभिन बाध्य बने त्यसले बुधवार अन्तिम नतिजा आउँदासम्म संसदीय दलको समिकरणमा फेरबदल भने देखाउनेछ ।
कांग्रेस संसदीय दलको अंकगणित