कर्णाली । कर्णाली प्रदेश सरकारको तेस्रो मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा शर्माले आज बेलुका ५ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।
शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेसँगै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम आजै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु मध्ये नेपाली कांग्रेसबाहेक अन्य सबै राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले २५ जना सांसदको समर्थनमा प्रदेश प्रमुख तिलक परियारले तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका छन् । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीका २५ जना सांसदले समर्थन गरेका छन् । जसमा माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपा र नेकपा एसका एकएकजना सांसद छन् ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य विन्दमान विष्टका अनुसार मुख्यमन्त्रीमा माओवादी केन्द्रका १३, नेकपाका १०, राप्रपा र एकीकृत समाजवादीका एकरएक गरी २५ प्रदेशसभा सदस्यको समर्थन रहेको छ। मुख्यमन्त्रीको शपथ ग्रहण भने बिहीबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री शर्माको इतिहाँस ‘जनयुद्ध’ कमाण्डरदेखि कर्णाली कमाण्डरसम्म
सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) भित्रको चर्को असन्तुष्टीका बीच पहिलो कार्यकालका लागि समर्थन पाएका नवनियुत्त मुख्यमन्त्री शर्मा जनयुद्ध देखि कर्णाली प्रदेश सरकारको कमाण्डरको रुपमा स्थापीत भएका छन् ।
कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि चार दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
२०२८ सालमा रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउँमा जन्मिएका शर्मा माओवादी पोलिटव्युरो सदस्य हुन् । उनले गएको मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा रुकुम पश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए ।
सानैदेखि राजनीतिप्रति उत्सुक थिए शर्मा २०४१ सालमा स्कुल पढ्दै शर्मा अनेरास्ववियूको राजनीतिमा संलग्न भए । २०४१ सालमै आफ्नै घरमा आयोजित अनेरास्ववियूको क्षेत्रीय सम्मेलनमा शर्मा सहभागी भए । त्यसपछि राजतन्त्रविरोधी कम्युनिष्ट राजनीतिमा होमिएको उनी बताउँछन् ।
२०४३ सालमा सदरमुकाम मुसिकोट पुगेर उनी विद्यार्थीको इकाई कमिटी सदस्य भएका थिए । उनले २०४६ सालमा मोटो मशालको पार्टी सदस्यता लिए । त्यसलगत्तै २०४७ सालदेखि शर्मा मशालको पूर्णकालीन रुपमा राजनीतिमा होमिए ।
२०४८ सालमा सर्वहारावादी श्रमिक संगठन, पातलो मसालको केही हिस्सा, मोटो मशाल र मसालबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र गठन भयो । एकता केन्द्रको खुला मोर्चाका रूपमा जनमोर्चा स्थापना गरिएको थियो । सोही जनमोर्चाको वैधानिक राजनीतिक गतिविधिमा शर्मा सक्रियतापूर्वक लागिपरे ।
त्यो वेलामा आफ्नो अगुवाइमा जनसेवा तथा जनपरिचालनमार्फत विकास निर्माण, जनयुद्धको तयारी, जनयुद्धको आवश्यकताका बारेमा जनजागरण, स्थानीय जालीफटाहाविरोधी जनसंघर्षका थुप्रै गतिविधि भएको शर्मा बताउँछन् ।
२०५० सालमा महतको फूलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम व्यवस्थापन गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपूर्ण भूमिका रहेको थियो । त्यसवेला महतको फूलबारी जंगल निकै चर्चित थियो । २०५०र५१ सालमा जनयुद्धको आधार तयार गर्न रूकुममा सञ्चालित ग्रामीण वर्गसंघर्ष तथा थुप्रै जनसंघर्षका कामको शर्माले नेतृत्व लिएका थिए । जनयुद्धपूर्व नै उनी माओवादीको पूर्णकालीन राजनीतिमा होमिएका थिए ।
शर्माले २०५२ साल फागुन १ गते रुकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । २०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी शर्माले आफ्नो लागि उक्त लडाइँ विशेष स्मरणीय रहेको बताए । एउटा एसल्ट टीम (आक्रमणमा सहभागी मुख्य लडाकू टीम) को कमाण्ड गरी शर्मा उक्त लडाइँमा सहभागी भएको शर्माको भनाइ छ ।
उनका अनुसार उक्त लडाइँमा मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) लाई गुमाउनुपरेकाले आफूलाई विशेष स्मरणीय रहेको उनले बताए ।
जनयुद्धको विस्तारका लागि २०५४ सालदेखि साविक कर्णालीमा सरूवा भएर उनले विभिन्न कमाण्डको नेतृत्व गरे । सो क्रममा उनले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायतका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इन्चार्ज भए । कर्णालीमा जनयुद्धको विस्तार तथा माओवादी आधार इलाका निर्माणमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।
जहाँ अप्ठ्यारो परिस्थिति सृजना हुन्छ, त्यही क्षेत्रमा शर्मालाई खटाइन्थ्यो । जसअनुसार उनी २०६१ सालमा दैलेखमा खटाइए । त्यसवेला दैलेखमा माओवादीविरूद्ध प्रतिकार अभियान चलाइएको थियो । शान्ति प्रक्रियासम्म दैलेखको नेतृत्व गरेका शर्माले शान्ति प्रक्रियापछि थारुवान राज्य समिति (दाङ, कञ्चनपुर) को प्रमुख भएर काम गरे ।
‘जहाँ टेक्यो त्यही उम्रिनुपर्छ’ भन्ने मान्यता राख्ने शर्माले २०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरे । त्यही कालमा उनले माओवादीको केन्द्रीय प्रचार विभागमा रहेर काम गरेका थिए ।
गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्ष भैसकेका शर्मा २०७४ सालमा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएका थिए । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको इञ्चार्ज रहेका उनी २०७८ मा भएको पार्टी महाधिवेशनपछि पोलिटव्युरो सदस्य चयन भएका छन् । त्यस्तै २०७८ मै पार्टीको कर्णाली प्रदेश अध्यक्ष भए ।
उनका समकालीन एवं सहकर्मीहरू थुप्रैले राज्य सञ्चालनका थुप्रै अवसर पाए पनि हालसम्म विशेष अवसर र सुविधाको पद धारण नगरेका शर्माले २०७९ मंसिर ४ मा भएको निर्वाचनबाट प्रदेशसभा यात्राको पहिलो प्रयासमै कर्णालीको मुख्यमन्त्री हुने मौका पाएका छन् ।
राज्यसत्ता परिवर्तन गर्न जनयुद्धका क्रममा सिंगो कर्णालीलाई पैदलै चहारेका शर्माले कर्णालीको तेस्रो मुख्यमन्त्री नियुक्त भएपछि आफ्नो प्रदेशका दूरदराजका जनताको मुहारमा खुशी र सम्पन्नता ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।