सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले बिहीबार मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
बुधबार प्रदेश प्रमुख परियारले नेकपा माओवादी केन्द्रका नेता शर्मालाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शर्माले माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका १र१ गरी जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
एमाले र माओवादी केन्द्रले एकरएक जना सांसदलाई सरकारमा पठाएका छन् । माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र एमालेबाट दैलेखका विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका छन् । उनीहरुलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथग्रहण गराए ।
माओवादी केन्द्रका शाही मुगु प्रदेशसभा (२) बाट र एमालेका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेश भा (२) बाट निर्वाचित हुन् । शाह र शाहीलाई मुख्यमन्त्री शर्माले मन्त्रीमा नियुक्त गरेका हुन् ।
पहिलो निर्णय बर्सेनि १० हजारलाई रोजगारी
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शर्माले प्रतिवर्ष १० हजारलाई रोजगारी दिने कार्यविधि बनाउने पहिलो निर्णय गरेका छन् ।
यसले गरिबी र विकटता रहेको कर्णालीका २ वटा उत्तरदायित्व पूरा हुने पदभार ग्रहणपछि उनले सञ्चारकर्मीहरुलाई बताए । यी २ वटा उत्तरदायित्व पूरा गर्न गरिबी पहिलो बाधा देखेको उनको भनाइ छ ।
‘समृद्ध कर्णालीको अभियानअन्तर्गत प्रतिवर्ष कम्तिमा दश हजार बेरोजगारलाई रोजगारी प्रदान गर्न कार्यविधि, नीति र बजेट तर्जुमा गरेर अगाडि बढ्ने निर्णय गरेका छौं’, मुख्यमन्त्री शर्माले भने ।