काठमाडौं । अनेरास्ववियुको २३औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चार घण्टादेखि जारी मतदानमा साँझ साढे सात बजेसम्म आठ सय मत खसेको छ।
१७ सदस्यीय पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि भइरहेको विद्युतीय मतदानमा साँझसम्म आधा मत खसेको हो।
१५ सय ८८ प्रतिनिधि मतदाता रहेको अनेरास्ववियुको महाधिवेशनमा मतदान सकिएलगत्तै मध्यरातसम्म परिणाम सार्वजनिक गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको एमाले पोलिटब्युरो सदस्य तथा अध्यक्षमण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए।
'प्रज्ञा भवन कमलादीमा जारी महाधिवेशनस्थलमा ४० भन्दा बढी विद्युतीय मेसिनबाट प्रतिनिधिहरूले मतदान गरिरहेका छन्' भट्टराईले भने, ‘अबको ४ देखि ५ घण्टाभित्र मतदान सकिन्छ, त्यसपछि मध्यरातबाटै मतगणना सुरु गरेर रातभरमा परिणाम सार्वजनिक गरिनेछ,’ ।
अध्यक्षका लागि निवतर्मान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, निवर्तमान महासचिव समिक बडाल र निवर्तमान उपाध्यक्षद्वय लोकेश निरौला तथा मोती विक प्रतिस्पर्धामा छन्। बडाल र लामिछानेबीच कडा प्रतिस्पर्धा रहेको प्रतिनिधिहरूको अनुमान छ।
त्यस्तै, चार खुला उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन्। महासचिवका लागि भाष्कर खनाल, सुदर्शन सिवाकोटी, नरेश रोकाय, उमेश आचार्य र कल्पना बाइबा प्रतिस्पर्धामा छन्।
१० सचिवका लागि ६१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुँयाल, प्रदीप जिसी र संगम अर्यालबीच प्रतिस्पर्धा छ।