सुर्खेत । सत्तरुढ दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माओवादीलाई प्रधानमन्त्री, एमालेलाई राष्ट्रपति र सभामुखको प्रस्ताव माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नै प्रस्ताव गरेको खुलासा गरेका छन् ।
शनिबार प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले गत पुस १० मा आफू प्रधानमन्त्री बन्ने क्रममा प्रचण्डले प्रधानमन्त्री र सभामुख आधाआधा गर्ने प्रस्ताव गरेको बताए।
‘उहाँ (प्रचण्ड) ले नै प्रस्ताव के गर्नुभयो भने, पाँच वर्षमा आधा–आधा गरौं। पहिलो चरणमा म प्रधानमन्त्री हुन्छु, किनभने ‘पहिलो चरणमा म प्रधानमन्त्री हुन्छ भन्ने कुरा कांग्रेसले मानेन, त्यसैले म छोडेर आएँ नि त’ भन्नुभयो। त्यसो भए ठीक छ, कांग्रेसले मानेन भने हामी मान्छौं भनेर मानेको हो’, उनले थपे, ‘त्यसो भए उहाँले नै यो गठबन्धनको ठूलो पार्टी एमाले हुन्छ। एमालेले राष्ट्रपति र सभामुख लिनुस्। उहाँले भनेको हो। सभामुख पनि आधा–आधा गरौं भन्ने उहाँको कुरा हो।’
भट्टराईले पुस १० मा प्रचण्ड एमालेलाई खोज्दै आएको बताए। उनले भने, ‘जब उहाँ बालुवाटारबाट निस्किनुभयो। उहाँले हामीलाई खोज्नुभयो। हामी बसिरहेकै थियौं। कोही आउनुभयो भने हमी साथ दिन्छौं भनेर बसिरहेका थियौं। प्रचण्ड कमरेडलाई हामीले नत्थी लगाएर तानेको होइन। उहाँ हामीलाई खोज्दै आउनुभएको हो।’
प्रचण्डकै त्यतिबेलाको प्रस्तावलाई एमालेले मानेको र आफूहरुलाई त्यसमा आपत्ति नभएको भट्टराईको भनाइ छ। ‘एमालेले आपत्ति जनाएको छैन। राष्ट्रपति एमालेको हुन्छ भनेर हामीले भनेको होइन। उहाँसँग हामीले मागेको होइन। त्यो उहाँले भनेको हो’, उनले भने।
अहिले माओवादीले एमालेलाई राष्ट्रपतिले दिन्छरु भन्ने गरिएको भन्दै उनले आफूहरु माग्नै नगएको बताए। ‘उहाँ आफैं दिन आउनुभएको हो। एमालेले माग्न गएको भए पो दिन्छ कि दिँदैन भन्नु। एमाले त माग्न गएको होइन नि। एमालेलाई त दिन आउनुभएको हो। मलाई प्रधानमन्त्री दिनुस्। राष्ट्रपति तपाईं हुनुस् भन्न आउनुभएको हो। ठीक छ भनेर हामी गला मिलाएर हिँडेका हौं’, उनले भने।
भट्टराईले पुस १० को समझदारीको वस्तुगत अवस्था नबदलिएको बताए। सरकार र गठबन्धनमा सामेल भएका दलहरु सहमतिबाट विमुख नरहेको उनको भनाइ छ। गठबन्धनमा रहेका सबै दलले तत्कालीन समझदारी ठीक छ भनेको उनले तर्क गरे।
‘आज त्यो (पुस १० को समझदारीको) भौतिक परिस्थिति कायम छ। अब हामी राष्ट्रपति निर्वाचनको नजिकनजिक पनि पुगेका छौं। हिजो पनि हाम्रो अध्यक्ष र प्रधानमन्त्रीबीच छलफल भएको छ। आज पनि हुन्छ। भोलि पनि हुन्छ। राष्ट्रपति एमालेले प्रस्तावित गरेको व्यक्ति गठबन्धनको साझा उम्मेदवार हुन्छ’, उनले भने।
भट्टराईले अहिलेको गठबन्धन बनाउन कुनै विदेशीहरुको भूमिका नरहेको पनि बताए। ‘हामीले बनाएका हौं। नेपाली माटोबाट उत्पादन भएको हो। यसमा कुनै रसायनिक मल लागेको छैन। विदेशी मल यसमा छैन। अब सुन्दैछौं, भत्काउनचाहिँ विदेशी मलहरु सक्रिय छन्। जो भत्काउन लागेका छन्, उनीहरुले बन्दैछ भन्ने थाहा नै पाएका थिएनन्। तिनीहरु सुतिरहेका थिए’, उनले भने।