अदानचुली (हुम्ला) । नेकपा (एमाले) केन्द्रीय सदस्य निरज आचार्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई उपभोक्ता समिति जस्तो कमजोर बनाएको आरोप लगाएका छन् ।
नेकपा (एमाले)ले सञ्चलन गरेको पार्टी सुदृढिकरण तथा बिस्तारको ‘मिसन ग्रासरुट अभियान’ अन्तरगत सञ्चालन गरिएको अदानचुली गाउँकमिटीको बैठकलाई संवोधन गर्दै केन्द्रीय सदस्य आचार्यले यस्तो आरोप लगाएका हुन् ।
‘सत्तालिप्सामा डुबेका माओवादी अध्यक्ष दाहालले गाउँमा आउने विकासे योजनाको उपभोक्ता समितिछनोट गरेजस्तो लुछाचुडी गर्ने काम भैरहेको छ,’ बैठकमा नेता आचार्यले भने ‘सत्तामा जानकै लागि अनेक चोल्ना फेर्ने माओवादी प्रवृतीले देश ठूलो अस्थितरतातर्फ अघि बढेको हो ।’
‘२०७९ सालको वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र मंसिर ४ गतेको निर्वाचनमा एमाले विरुद्ध चुनावी मोर्चाबन्दी गरेका प्रचण्डले सरकारको नेतृत्व नपाउने भएपछि गएको पुस १० गते वालुवाटारबाट हानिदैं वालकोट पुगेर सरकारको नेतृत्वका लागि आफूलाई सहयोग गर्न र सभामुख, राष्ट्रपति देखि ४ प्रदेशका सरकारको नेतृत्व लिन एमालेलाई प्रस्ताव गरे उनले थपे सहमती कार्यान्वयन भएको दुई महिना नपुग्दै आठदलीय मोर्चा कसेर राष्ट्रपति निर्वाचनमा जानुले प्रचण्डको छेपारे प्रवृती उदाङ्गो भएको छ ।
एमालेले गरेको राष्ट्रियता र विकासका लागि एमालेले अिंगिकार गरेको नीतिकै कारण कुनैपनि दलले एकल रुपमा चुनावी प्रतिष्पर्धा गर्न नसक्ने दावी गरेका एमाले केन्द्रीय निर्वाचन विभागका उप–प्रमुखसमेत रहेका आचार्यले पार्टीका सबै कमिटी र सदस्यलाई तिखार्न ग्रासरुट अभियान शुरु गरेको बताए ।
‘अभियानले पार्टीका वास्तविक सदस्यहरुको एकिन गरेर सदस्यता नविकरण गर्ने, सदस्यता वितरण गर्ने, पार्टी र जनवर्गिय संगठनका वडा र सेल कमिटीको गठन र पुर्नःगठन गर्ने छ । पार्टीले लिएका विकास र राष्ट्रियताका विषयमा लिएका नीतिका बारेमा समेत सबै वडा र सेल तहका नेता कार्यकर्ता, शुभेक्षुक देखि मतदातालाई जानकारी गराइने छ’ केन्द्रीय सदस्य आचार्यले भने ।
अदानचुली गाउँकमिटीका अध्यक्ष बुधे भण्डारीको अध्यक्षतामा बसेको बैठकलाई संवोधन गर्दै एमाले कर्णाली प्रदेश कमिटी सदस्य पूर्णप्रसाद ढकालले पार्टी सदस्यता बढि हुने र निर्वाचनमा मत कम आउने अवस्था हुम्लामा सृजना भएकाले अभियान अन्तरगत वास्तविकताका आधारमा पार्टीका सदस्यको व्यापक छाँटकाँट गर्नु पर्ने बताए ।
बैठकमा प्रदेश कमिटी सदस्य सौमती रावल ऐडी, विष्णु बुढा, टिकाबहादुर शाही, एमाले कर्णाली प्रदेश प्रचार विभागका उपप्रमुख तथा प्रेस चौतारी नेपालका केन्दीय अनुशासन आयोगका अध्यक्ष नवराज महतारालागयताका नेताहरुले अभियानको महत्वका बारेमा प्रकाश पारेका थिए । अदानचुलीमा भएका प्रदेश कमिटी, जिल्ला कमिटीका सदस्य, गाउँ कमिटीका पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारीहरुको सहभागितामा बसेको बैठकले अभियानको कार्य योजना निर्माण गरेको गाउँकमिटीका अध्यक्ष बुधे भण्डारीले जानकारी दिए । उनका अनुसार बुधबार अभियानको अभिमूखिकरण कार्यक्रमको आयोजना गरिने भएको छ ।