काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट बुद्धिजिवीलाई बौद्धिक जगतमा हाबी हुन आग्रह गरेका छन्। शनिवार एमालेनिकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोधीहरुलाई खतरा बढाउनसमेत आग्रह गरेका छन्।
ओलीले धेरै नकारात्मक टिप्पणी आए तर्सनु नहुने सुझावसमेत दिए। 'सयजना विरोधीले एकैपटक आक्रमण गरे भने नआत्तिनुस्, तपाईको विचारबाट उनीहरु तर्सिए,आत्तिए र एकैपटक आक्रमण गर्न संगठित ढंगले सक्रिय भएका हुन्,' ओलीले भने, 'नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरु खनिएका हुन्। उनीहरुले तपाईंको विचारलाई इग्नोर गर्न सक्थे तर तपाईको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरुले इग्नोर गर्न सक्दैनन् र संगठित ढंगले हमला गर्छन्।'
जसलाई खतरा महसुस हुन्छन् तिनीहरु संगठित हुनेसमेत ओलीको भनाई थियो। 'थोरै सकारात्मक कमेन्ट आए त्यो ठीक छ। तपाईका विरोधी संगठित रहेछन्। तपाईका साथीहरु असंगठित रहेछन्,' उनले भने, 'जसलाई खतरा महसुस हुन्छ उनीहरु संगठित हुन्छ।'
ओलीले विपक्षीलाई खतरा बढाउन बुद्धिजिवीलाई निर्देशनसमेत दिए। भने, 'उल्टो बुद्धि भएका उल्टो मति भएका विपक्षीहरुलाई खतरा हुनु स्वभाविक हो। त्यस खतरालाई हामीले सक्रियतापूर्वक वृद्धि गरिदिनुपर्छ। गलत विचारहरुलाई पराजित गर्नैपर्छ।'
लक्ष्मीप्रसाद देवकोटाको साँढे कविता उद्धृत गर्दै ओलीले जित्न लड्नैपर्नेसमेत बताए। 'त्यसैले यो संघर्ष हो। उहिले देवकोटाले लेख्नुभएको थियो साँढे भन्ने कवितामा नलडी कोही हुन्न विजेता। साँढे किन लड्छ भने नलडी कोही हुन्न विजेता साँढेको सोझोको हिसाब छ। नलडी कोही हुन्न विजेता त्यसकारण साढे लड्छ कसैले पनि विजेता हुन चाहन्छ भने लड्नुपर्दछ नलडी कोही हुन्न विजेता। अहिलेसम्म कसैले विना प्रयास स्वर्ण पदक पाएको छैन,' ओलीले भने।
ओलीले आफूनिकट बुद्धिजिवीलाई आफ्नो प्रचार बढाउन र हाबी हुन निर्देशनसमेत दिए। 'बौद्धिक सर्कलको आफ्नो बुद्धिको प्रयोग बढाउँदै जाने खर्च गर्दै जाँदा बढ्दै जाने। जतन गर्दै जाँदा खिइँदै जान्छ। यसलाई प्रकट गर्नुपर्दछ। प्रचारप्रचार, आजको प्रेस, आजको मिडिया आजको सोसल मिडिया, आजको इन्फर्मेसन टेक्नोलोजी, आजको आर्टिफिसियल इन्टेलिजेन्स यी सबै प्रयोग गरेर राम्रो विचार फैलाउन सक्छौ,' ओलीले भने, 'मेरो आग्रह छ – तपाईहरुले बौद्धिक जगतमा हाबी हुनुपर्छ। तपाईहरुका विचार त्यतिबेला व्यवस्थित हुन्छन जब तपाईहरु लेख्नुहुन्छ। ध्यान वा चिन्तन वा लेखेरमात्र विचार व्यवस्थित हुन्छ।'