काठमाडौं । कोभिडमा भारतीय तीर्थयात्रीलाई रोक लगाएको चीनले कैलाश मानसरोवर यात्रा पुनः सुचारु गरेको छ ।
लामो समय बन्द भएको हिल्सा नाका २०८१ वैशाख १८ गते खुलेपनि कैलास मानसरोवर तिर्थ जाने भारतीय पर्यटकहरुका लागि भने खुलाइएको थिएन ।
नाका नखुलेपछि भारतीय तीर्थयात्रीलाई उत्तराखण्डको बाटो भएर कैलास मानसरोवर जाने गरेका थिए । उत्तराखण्डको सट्टामा नेपालको हिमाली नाकाबाट तिब्बत पस्ने बिन्दुहरू छोटो र सहज हुने भएकाले नेपाली व्यवसायी उत्साहि भएका छन् ।
नेपालमा पर्यटन प्रवर्द्धनमा ६ दशकदेखि सक्रिय नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले कैलाश यात्रा खुलेकोमा स्वागत गरेको छ । नाट्टा अध्यक्ष कुमारमणि थपलियाले भने, ‘५ वर्षपछिको यो निर्णयले उत्साह सिर्जना गरेको छ । नेपाली अर्थतन्त्रका लागि पनि यो राम्रो संकेत हो ।’

‘जेठको तेस्रो सातादेखि नेपाली पर्यटन व्यवसायीले भारतीय तीर्थयात्रीलाई कैलाश पर्वत र मानसरोवरको यात्रा गराउन पाउँदै छन्’, नेपालमा रहेका झन्डै ४० टुर अपरेटरको संगठन ‘एसोसिएसन अफ कैलाश टुर अपरेटर्स’ का अध्यक्ष विमल नहर्कीले भने, ‘हामीलाई मौखिक अनि इमेलबाट २०२५ जुन पहिलो सातादेखि नेपाली नाकाबाट भारतीय पर्यटकलाई यात्रा खुला गर्ने जानकारी आएको छ ।’
चीनले भारतीय यात्रुका लागि जुन ३० (असार १६) पछि कैलाश र मानसरोवर खुला गर्ने भनेको छ । ‘भारतको भन्दा एक महिनाअघि नेपालको नाकाबाट भारतीयलाई कैलाश यात्रा खुला हुँदै छ’, अध्यक्ष नहर्कीले भने, ‘हामी केही दिनमै तिब्बत जाँदै छौं । त्यहाँको सरकारले यस पटक भारतीय तीर्थयात्रीको व्यवस्थापनका लागि दुइटा एजेन्सीलाई तोकेको छ । उनीहरूसँग सम्झौता गरेर फर्किएलगत्तै भारतीय पर्यटक नेपाल हुँदै तिब्बत यात्रामा जान सक्नेछन् ।’

कोभिडअघि नेपाली पर्यटन व्यवसायीले १४ दिनको टुर–प्याकेज प्रतिव्यक्ति कम्तीमा १ लाख २५ हजार रुपैयाँमा भारतीय पर्यटकलाई बिक्री गर्थे । कोभिडअघिको अन्तिम वर्ष सन् २०१९ मा २० हजार भारतीय पर्यटक नेपाल हुँदै तिब्बत पसेका थिए । जसमा ८० प्रतिशत रसुवाबाट केरुङ हुँदै कैलाश मानसरोवर गएका थिए । केही हुम्लाको हिल्साबाट हवाई र सडकमार्ग प्रयोग गर्दै पसेका थिए ।
भारत सरकारले कैलाश मानसरोवर जाने आफ्ना नागरिकलाई २५ हजारदेखि १ लाख भारतीय रुपैयाँ अनुदान दिँदै आएको छ । भारतीय तीर्थयात्रीहरू भारतबाट जहाज चढेर तिब्बत जाँदा महँगो पर्ने भएकाले नेपालबाट तिब्बत जान रुचाउँछन् ।
नेपाली व्यवसायीले सन् १९९५ देखि भारतीय पर्यटकलाई कैलाश यात्रा गराउँदै आएका हुन् । तर कोभिडअघिका ४–५ वर्ष भारत सरकारको भ्रमण अनुदानले तीर्थयात्रीको संख्या वृद्धि भएपछि नेपालको पर्यटन बजारले पनि यसको लाभ उठाउन थालेको थियो । ‘मुस्लिम समुदायलाई मक्का जाँदा अनुदान दिएजस्तै कैलाश यात्राका लागि त्यहाँका राज्यले भ्रमण अनुदान दिन थालेपछि जैन, हिन्दु र बौद्धमार्गीका लागि तिब्बत आकर्षण भएको हो,’ अध्यक्ष नहर्कीले भने ।
श्री एयरलाइन्सले एक वर्षअघि नेपालगन्जबाट चार्टर उडान गरेर कैलाशको दूरदर्शन प्याकेज सुरु गरेको थियो । कैलाश मानसरोवर देखाउने पर्वतीय उडान टुर अपरेटरले लखनउदेखि नेपालगन्ज ल्याई पर्वतीय उडान गराएर लखनउसम्मै फर्काउने प्याकेज थालेका थिए । दुई रात, तीन दिनको यो प्याकेज ५० हजार भारतीय रुपैयाँको थियो ।
कोभिडअघि केही भारतीय पर्यटक जहाज चढेर नेपालगन्जबाट सिमकोट पुग्थे । त्यहाँबाट हेलिकोप्टरमा सिमानामा रहेको हिल्सासम्म पुगेर १ सय ५० किलोमिटरको सडक यात्रा गरी कैलाश पुग्थे । खराब मौसमका कारण उडान निश्चित नहुने भएकाले धेरैजसो भने भारतबाट सिधै काठमाडौं आई यहाँबाट रसुवा, तातोपानी हुँदै कैलाश जान्थे । सन् २०२० देखि २०२४ सम्म पाँच वर्ष रोकिएको उक्त यात्रा यस पटक खुलाउन दुवै देश सहमत भएका हुन् ।

गत चैत १३ मा भारत र चीनका सहसचिवस्तरीय वार्तामा कोभिड महामारीका बेलादेखि रोकिएको कैलाश मानसरोवर यात्रा खुला गर्ने सहमतिसँगै त्यसको मोडालिटीबारे छलफल भएको थियो । बेइजिङमा भएको उक्त बैठकमा भारतीय विदेश मन्त्रालयका संयुक्त सचिव ९पूर्व एसिया० गौरांगलाल दास र चिनियाँ विदेश मन्त्रालयका एसियाई मामिला विभागका महानिर्देशक लियु जिनसोंग सहभागी थिए ।
दुई अधिकारीले नेतृत्व गरेको टोलीबीच भएको वार्तापछि जारी वक्तव्यमा दुवै पक्षबीच सन् २०२५ मा कैलाश मानसरोवर यात्रा पुनः सञ्चालनका मोडालिटीबारे छलफल भएको उल्लेख छ । बेइजिङमा भएको उक्त वार्तापछि वैशाख ४ मा विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले कैलाश मानसरोवर यात्राको तयारी भइरहेको र छिट्टै प्रारम्भ हुने बताएका थिए ।
नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सुरु गर्दै भारत
भारतले नेपालको भूमि लिपुलेक पासबाट समेत तीर्थयात्रीलाई कैलाश मानसरोवर यात्रा गराउने तयारी थालेको छ । नेपालको भूमि लिपुलेक हुँदै गरिने उक्त यात्राका लागि भारत र चीनले नेपाल सरकारसँग भने कुनै समन्वय गरेका छैनन् ।
भारतको विदेश मन्त्रालयले यस वर्ष लिपुलेक पास हुँदै २ सय ५० जना भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवरको यात्रा गराउने जनाएको छ । यसका लागि आवेदन आह्वान गरिएको छ । त्यसमा लिपुलेक हुँदै ५ वटा समूह र सिक्किमको नाथुला हुँदै १० वटा समूहलाई कैलाश मानसरोवर यात्रामा लगिने भनिएको छ । प्रत्येक समूहमा ५०–५० जना हुनेछन् । यात्रा जुनदेखि अगस्ट महिनाभित्र हुने भनिएको छ । विदेश मन्त्रालयले वैशाख १३ मा ‘कैलाश मानसरोवर यात्रा–२०२५’ सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
नेपाललाई जानकारीसमेत नदिई मे २०१५ मा भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेक पासबाट व्यापार गर्ने सहमति भएको थियो । यस पटक पनि भारत र चीनले नेपाललाई जानकारीसमेत नदिई लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुलाएका छन् ।

नयाँदिल्लीबाट प्रारम्भ हुने यात्रा टनकपुर–गुन्जी–कालापानी–लिपुलेक पास–ताक्लाकोट हुँदै मानसरोवर पुग्नेछ । लिपुलेक मार्गबाट गरिने यात्रामा यात्रुले २ सय किलोमिटर ‘ट्रेकिङ’ गर्नुपर्ने भनिएको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र पर्छ । भारतले पिथौरागढबाट नेपालको भूमि हुँदै लिपुलेक पुग्ने सडक बनाइसकेको छ । त्यही मार्गबाट तीर्थयात्रुलाई कैलाश मानसरोवर दर्शन गराउने योजना भारतले सार्वजनिक गरेको हो ।

यता काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले भने नेपालको भूमि हुँदै भारत र चीनले यात्रा खुलाउने सहमति गरेको बारे कुनै जानकारी नरहेको जनाएको छ । परराष्ट्र स्रोतका अनुसार भारत वा चीन कतैबाट यो विषयमा जानकारी गराइएको छैन । कोभिड महामारीका कारण सन् २०२० बाट कैलाश मानसरोवर यात्रा रोकिएको थियो ।