सिमकोट । कोरोना महामारीका कारण तीन वर्ष अघि बन्द भएको नेपाली चीनको हुम्लाको हिल्सा–पुराङ (ताक्लाकोट) नाका’ दुईतर्फी खुलेको छ ।
२०७६ मंसिरबाट बन्द भएको नेपाल–चीनको उत्तरीको व्यापारिक सीमा नाका नेपाल र चीन सरकारका अधिकारीहरुले गरेको पुर्ववत सहमती अनुसार नैं आज (सोमबार) खोलेको हो ।
नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २०२३ मार्च २९ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठकमा चिनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएका नाका पूर्णरुपमा खोल्ने सहमति अनुसार आज दुईतर्फी नाका खोलिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । उनका अनुशार दुई देशका अधिकारी बीचको सहमती अनुसार गएको चैत १८ गते शनिबारबाट सुवागढी–केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आएको थियो ।
‘कोरानाका कारण बन्द भएको हिल्सा नाका लामो समय पछि आज दुईतर्फी सञ्चालनमा आएको छ’, अधिकारी पौडेलले अन्नपूर्णसँग भने, ‘यसबाट हुम्लाका नागरिकको दैनिकी सुलभ हुनेदेखि निर्माण सामाग्री अभावले रोकिएका जिल्लाको उत्तरी क्षेत्रका विकास निर्माणका कामहरुले समेत तिब्रता पाउने छन् ।’
उनका अनुसार लामो समयदेखि बन्द भएको हिल्सा नाका गएको पुस १३ गते बुधबार एकतर्फी सञ्चालनमा ल्याइए पनि दुई तर्फी रुपमा सञ्चालनमा आएपनि दुईतर्फी सचालनमा आएको यो पहिलो पटक हो । यसले चीनबाट आयात हुने खाद्यन्न, दैनिक उपभोग्य वस्तु, जिल्लाको विकासका लागि आवश्यक पर्ने इन्धन, निर्माण सामाग्री आयात गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।
नाका सञ्चालनमा आएको पहिलो दिन नेपालका १८ जना नागरिक रोजगारका लागि चीनको ताक्लाकोट गएका छन् । प्रतिकुल मौशम र नाकामा भन्सार कार्यलय व्यवस्थित नभएकाले सामाग्री आयात गर्ने काम केही दिन लाग्ने बताएका प्रमुख जिल्ला अधिकारी पौडेलले अहिले नाम्खाका नागरिक होटेल व्यवसाय र अन्य रोजगारीका लागि चीनको ताक्लाकोट जान थालेका छन् । नाकामा नाम्खा गाउँपालिकाले हेल्थ डेक्सको स्थापना गरेको छ । चीन प्रवेश गर्ने र चीनबाट नेपाल आउने कुनैपनि व्यक्तिको स्वास्थ्य परिक्षण गरेपछि मात्रै प्रवेश गर्न दिइएको छ ।
नेपाल सरकार र चीनसरकारसँग नाका खोल्न लामो समयदेखि पहल गरेकै प्रतिफल सोमबार दुईतर्फी नाका खुलेको प्रतिक्रिया दिएका चीनसँगको सिमा जोडिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले अब जिल्लाको दैनिकी सहज हुने बताए ।
‘नाम्खा गाउँपालिकाका पुरै वस्ती, सिमकोट र खार्पूनाथ गाउँपालिकाका लागि खाद्यन्न (मैदा, तेल, नुन), दैनिक उपभोग्य सामाग्री, लुगा कपडा देखि निर्माण सामाग्री (इन्धन, सिमेष्ट, फलामे छड आदी) को ढुवानी गर्न चीनबाट सहज र सुलभ हुने भएकाले यहाँको दैनिकी हसज हुन्छ’, अध्यक्ष लामाले थपे, ‘नाका खुलेपछि दुई देशले अघि सारेको हिल्सा देखि जमुनाहासम्मको सुख्खा बन्दरगाहा निर्माणको कामले समेत तिब्रता पाउने छ ।’
नाका सञ्चालनमा आउँदा सबै क्षेत्र खुशी
दुवै देशका नागरिक दैनिक उपभोग्य सामाग्री सहित आवतजावत गर्ने गरी हिल्सा नाका सञ्चालनमा आएपछि हुम्लाका स्थानीय नागरिक, निर्माण व्यावसायी, होटेल व्यवसायी, देवताका धामी÷डाँगर (धामी झाँक्री) समेत खुशी व्यक्त गरेका छन् ।
जिल्लाका सबै क्षेत्रले खुशी व्यक्त गरेका हुन् । नाका सञ्चालनले अब हुम्लाका नागरिककले चीनको ताक्लाकोटमा रोजगारी गर्ने बाटो समेत खुलेको चीनमा काम गर्दै आएका नेपालीहरुको छाता संस्था कैलास मनसरोवर व्यपार संघ ताक्लाकोटकी पुर्व उपाध्यक्ष ल्हामु लामाले बताइन् । नाका बन्द भएपछि आफू तीन वषएसम्म घरमा समेत आउन नपाएको बताएकी उनले नाका खुलेसँगै हुम्लाका नागरिकका लागि ताक्लाकोट रोजगार र व्यापारको ठूलो संभावना खुलेको प्रतिक्रिया दिइन् ।
धार्मिक र सभ्यताको महत्वपूर्ण तिर्थ स्थलका रुपमा मानिने कैलास मानसरोवरको जाने गेट वेका रुपमा रहेको यो नाका दुईतर्फी खुलेपछि नेपाली र अन्य विदेशी पर्यटकहरुका लागि समेत सहज हुने भएको छ । २०७६ मंसिरबाट बन्द भएको हिल्सा नाका सञ्चालनमा आएपछि हुम्लाका व्यावसायिलाई पनि आशातित बनाएको हुम्ला उद्योग बाणीज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए । ‘हुम्लाका लागि चीनको ताक्लाकोट सामाग्री ल्याउने हाट बजार मात्र होइन, रोजागारी गर्ने राम्रो क्षेत्र र व्यवसाय गर्ने मार्केट पनि हो’ उनले भने ‘तीन वर्ष बन्द भएपछि हुम्ला भएर कैलास मानसरोवरको दर्शन गर्न जाने हजारौको संख्याका आन्तरिक र बाह्य पर्यटक समेत आउन छोडेपछि हुम्लाले करोडौंको नोक्सानी व्यहोर्नु परेको थियो । अब यो वर्षदेखि सबै क्षेत्रले सञ्चालन हुने आशाले निजि क्षेत्रलाई थप सलबलाउने अवस्था सृजना भएको छ ।’
ढिलै भएपनि यसरी दुई तर्फी नाका खोल्नु चीन र नेपाल दुवै देशका लागि राम्रो हो । यसले हुम्लाको व्यापार व्यवसाय मात्र होइन हुम्लाका लागि आवश्यक निर्माण सामाग्रीको आयात गर्न हिल्सा नाकाबाट सस्तो र छिटो हुने भएकाले वर्षौदेखि रोकिएका जिल्लाका विकास निर्माणका कामले पनि तिब्रता पाउने, कोरोना कहर पछि सिथिल बनेको जिल्लाको पर्यटन क्षेत्र, होटेल व्यवसायले पनि अब तङग्रीने अवसर प्राप्त गर्ने भनाई सिमकोट स्थित मानसरोवर होटेलका प्रोप्राइटर समेत रहेका सिमकोट–५ का वडा अध्यक्ष चिन रावतले बताए । कैलास मानसरोवर दर्शनका लागि हुम्ला सदरमुकाम सिमकोट भएर आउने पर्यटकको संख्या वर्षेनी १८ हजार भन्दा बढ्न थालेपछि सिमकोटसहित हिल्सासम्म सञ्चालनमा आएको २ सय ५० भन्दा बढि होटेल र ४ सय बढी व्यापारी नाकाबन्द भएपछि आप्mनो पेशाबाट पलायन हुनु परेको भनाई उनको छ ।
कैलास जान पाइने आशले धामी डाँगर पनि खुशी
हिल्सा नाका दुई तर्फी खोले सँगै हुम्लाका धामी, डाँगरहरुले समेत खुशी व्यक्त गरेका छन् । हरेक जनै पूर्णी (साउन पुनी) को अवसरमा मानसरोवर कैलास तिर्थ यात्रामा जाने प्रचलन भएपनि २०७६ यता हुम्लाका कुनैपनि धामी डाँगरलेकैलास मानसरोवर तिर्थ जान पाएका छैनन् ।
हामीमा (धामी) देवताको उत्पत्ति समेत कविलाश (कैलास मानसरोवर) बाट भएकाले हरेक साउन पुनि (जनै पूर्णीमा) मा तिर्थ जानु पर्ने उहिले देखि चलिआएको रिती हो सिमकोट माथिल्लो गाउँका कालसिल्ता देवताका धामी सोबन्या रोकायाले भने कोरोनाको कारण देखाउँदै चीनले नाका ठप्प पारेपछि हामीले तीन वर्षयता कविलास ननुहाएरै साउन पुनि मान्नु पर्ने अवस्था आयो ।’
उनका अनुसार नाका खुलेको खबरले जिल्लाभरका देवताका धामी र डाँगर मात्रै नभइ सबैलाई खुशी बनाएको छ । तर पवित्र काममा जाने देवताका धामी, डाँगरलाई आवतजावतमा केहि सहजता ल्याउनेतर्फ दुवै देशले ध्यान दिनुपर्ने माग उनले गरे । हरेक वर्षको जनै पुर्णीमाको अवसरमा हुम्ला लगायत, मुगु, बाजुरा र अन्य जिल्लाका देवताका धामी, डाँगर कैलास मानवर जाने गर्दछन् ।
सिमा सुरक्षाको जिम्मा सशस्त्रको विओपीलाई
दुईतर्फी सञ्चालनमा आएको हिल्सा नाकाको सुरक्षा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) हिल्साले गर्ने भएको छ ।
सिमा सुरक्षाका लागि २०७७ असार ६ गते शनिबार हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी बलको बिओपीले सबै सिमा सुरक्षाको जिम्मा लिने जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । उनका अनुसार समुद्री सतहबाट तीन हजार ४४० मिटर उचाईमा रहेको नाम्खा गाउँपालिका ५ हिल्सामा स्थापना भएको विओपीले निरन्तर सिमा सुरक्षाका गरिरहेको छ ।
बाह्रै महिना हिल्सामा बस्ने गरेर स्थापना गरेको सशस्त्रको बिओपीमा अहिले पनि इनेस्पेक्टरको कमाउण्डमा २३ जना सशस्त्र प्रहरी बल रहेको बताएका अधिकारी पौडेलले जाडोका कारण सिमकोट सरेको जनपथ प्रहरीको चौकीलाई पनि केहि दिनमै पुनःस्थापना गर्ने उल्लेख गरे ।
‘जिल्ला सुरक्षा समितिको बैठकले जाडोका कारण सिमकोट सारिएका नेपाल प्रहरीको हिल्सा, यारी र लिमी प्रहरी चौकीलाई केहि दिनमै पुनःस्थापना गर्ने निर्णय भैसकेको छ । अब सिमा नाका खुलेपछि उक्त निर्णय कार्यान्वयन चाँडै गर्ने तयारीमा छौं’ अधिकारी पौडेलले भने ।