सिमकोट । शिक्षा, स्वास्थ्य र खेलकुदलाई पहिलो प्राथमिकता दिदैं चंखेली गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको छ ।
आज बहिबिार बसेको गाउँसभामा पालिका अध्यक्ष प्यारिलाल शाहीले पालिकाका विद्यालयमा विषयगत शिक्षकको व्यवस्था, वाल विकास केन्द्रका सहजकर्तालाई मासिक ५ हजार पारिश्रमिक थप गर्ने जस्ता नीति अघि सारेका छन् ।
पालिका भत्रिका प्राथमिक तहका विद्यालयका वालवालिकाहरुको बसाई व्यवस्थापन र भौतिक पूर्वाधारलाई वालमैत्री बनाउने, सम्पूर्ण विद्यालयका भवन आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने नीति चंखेलीले लिएको पालिका अध्यक्ष शाहीले बताए ।
‘पालिका स्तरका विद्यालयको आन्तरिक प्रतिष्पर्धा गर्ने, विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै, पालिका स्तरिय खेलकुदलाई प्राथमिकता दिइने छ,’ पालिका अध्यक्ष शाहीले प्रस्तुत गरेको आगामी वर्षको नीतिमा भनिएको छ, ‘पालिकाको स्वास्थ्य क्षेत्रलाई थप गुणस्तर बनाउनका लागि स्वास्थ्यसंस्थाको पूर्वाधार औषधी खरिद प्रक्रियालाई थप प्रभावकारी बनाउने नीति चंखेलीले लिएको छ ।’
वार्षिक बजेट पौने ३४ करोड
चंखेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ३३ करोड ८७ लाख ५१ हजार ४ सय ९ को बजेट ल्याएको छ ।
पूर्वाधार विकास, सामाजिक विकास, शुसाशन र अन्तरसम्बन्धित विकासलाई प्राथमिकता दिदैं चंखेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको केन्द्र पिप्लाङमा आयोजिक गाउँसभालाई संवोधन गर्दै गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले गाउँपालिकाको शिक्षाको गणस्तर गर्न हरेक विद्यालयमा विषयगत शिक्षक नियुक्त गर्ने, वालमैत्री पूर्वाधार निर्माण गर्ने, स्वास्थ्य संस्थामा प्रयाप्त औषधी उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरिएको छ ।