सिमकोट । मदन भण्डारी फाउण्डेसन हुम्लाको अध्यक्षमा नवराज महतारा निर्विरोध निर्वाचित भएका छन् ।
सिमकोटमा आयोजित फाउण्डेशनको दोस्रो जिल्ला अधिवेशनले पत्रकारिता क्षेत्रमा आवद्ध महताराको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटि निर्विरोध निर्वाचित गरेको हो ।
जनताको बहुदलीय जनवादका प्रणेता जननेता स्वर्गिय मदन कुमार भण्डारीको बीचारलाई जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडासम्म फैलाउने गरी नयाँ कमिटि निर्वाचित भएको दोस्रो जिल्ला अधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष गोकुल बुढाले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा जनक बुढा, सचिवमा जानबहादुर जेठारा, कोषाध्यक्षमा मञ्जु रावल निर्विचित भएका छन् । यसैगरी सदस्यमा लक्ष्य कामी, नन्द सिंह, कमल सिंह, छविचन्द्र लामा, तोपछिरिङ लामा, चिन रावत, बुध भण्डारी, प्रकाशबहादुर शाही, टेकबहादुर शाही, भीमबहादुर सिंह र नरदीप थापा निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि महताराले फाउण्डेसनलाई क्रियाशील बनाउने बताए । ‘कम्युनिस्ट बिचरालाई यूग, भूगोल र परिस्थिती सुहाउँदो सिद्धान्तका प्रणेता स्वर्गिय भण्डारीको राजनैतिक योगदान, सोंच, विचारहरूको संरक्षण, तिनको व्याख्या विश्लेषण र विकास गर्ने प्रमुख कार्यभार मदन भण्डारी फाउण्डेशन हुम्लाको काँधमा आएको छ’ अध्यक्ष महताराले भने ‘जिल्लाका सातवटैं स्थानीय तहमा फाउण्डेशनका स्थानीय तह कमिटि गठन गरेर यसलाई चलाएमान गराउने काम तत्कालै गरिने छ ।’
२०६१ साल भाद्र १७ गते राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत दर्ता भएको फाउण्डेशन हुम्लामा २०७२ सालमा गठन भएको थियो । एमालेका केन्द्रीय सदस्य दल फडेरोको अध्यक्षतामा गठन भएको फाउण्डेशनको दोस्रो कार्यकालका लागि महताराको अध्यक्षतामा नयाँ कमिटि गठन भएको हो ।
फाउण्डेशनको नयाँ निर्वाचित कमिटिलाई सथप खुवाउँदै एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दल रावलले जनताको बहुदलीय जनवादका १४ विशेषतालाई आम कम्युनिस्ट पार्टीका कार्यकर्ता माझ पुर्याउने काम नयाँ निर्वाचित कमिटिले गर्नेमा आफू विस्वस्त रहेको बताए ।