चैत १९, सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट आसपासका नागरीक चार देखि सञ्चार बिहिन भएका छन् ।
सदरमुकाम सिमकोटको किर्ने खर्केमा रहेको रेडियो लिङ्गको टावरमा हिमपातका कारण सोलार भासिएपछि जिल्ला सदरमुकाम सिमकोट आसपासका सेवाग्राही मर्कामा परेका छन । शनिबार बिहान साढे सात बजेदेखि सदरमुकाम सिमकोटमा टेलिफोन, इन्टरनेट सेवाबाट सेवाग्राही बञ्चित भएकाछन् ।
नेपाल टेलिकम हुम्लाको टावर गुणस्तरीय नभएपछि जिल्ला सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैहसरकारी संस्था, सञ्चारकर्मीलाई समेत समस्या भएको छ ।
सदरमुकाम सिमकोटको किर्ने खर्केमा रहेको रेडियो लिङ्गको टावरमा समस्या आएको नेपाल टे्लिकम शाखा कार्यालय श्रोतले जानकारी दिएको छ । हिमपातले सोलार भासिएर टावरमा समस्या भएको नेपाल टेलिकम हुम्लाका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहराले जनाकारी दिनुभयो । प्राविधिक आउने बित्तिकै ४ देखि ५ दिन भित्र टावरको मर्मत गरिने निमित्त प्रमुख बोहोराले बताए । रेडियो लिङ्गको टावरमा पावर पुगेको छैन, लिङ्ग कार्डमा समस्या भएकोले प्राविधिक मात्रै आएपछि मर्मत हुने बोहोराको भनाई छ ।
सञ्चार सेवामा जिल्लाकै प्रमुख माध्यमको रुपमा रहेको नेपाल टेलिकमको सम्पुर्ण सेवाहरु शनिवार विहानबाट अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । नेपाल टेलिकम द्धारा प्रवाह गरिने लेनलाईन, प्रिपेड,पोष्बेट,डिएसएल,एडिएसएल,वाईम्याक्स लगातका सेवा सञ्चालन गर्दै आएको नेपाल टेलिकम शाखा हुम्लाले रिपिटर टावरमा खराबि आएको हुन सक्ने आशंका गरेको छ । नेपाल टेलिकमबाट प्रवाह हुने एडिएसएल सेवा अबरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयमा बढेको कामको चटारोमा समेत थप प्रभाव पारेको छ ।